सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

हतुवागढी गाउँपालिकाले फेरिदियो विपन्न १०६ परिवारको छानो, फुस हटाएर जस्तापाता

images
शनिबार, असार ३० २०८०
images
images
हतुवागढी गाउँपालिकाले फेरिदियो विपन्न १०६ परिवारको छानो, फुस हटाएर जस्तापाता
फाइल तस्बिर

गाउँपालिकाले गत र यो आर्थिक वर्षमा ७० लाख रूपैयाँ बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ।

images
images

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्तापाताको छानो राख्न सहयोग गरेको छ।

images
images
images

आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो। गाउँपालिकाले गत र यो आर्थिक वर्षमा ७० लाख रूपैयाँ बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ।

images
images

गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागु गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। प्रतिपरिवार परिवारलाई ७५ हजार रूपैयाँ बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ। कतिपय परिवारको घरसमेत निर्माण गरिदिएको उनले जानकारी दिए।

images
images
images

'यहाँका विपन्न परिवारको फुसको छानो हटाएका छौँ', प्रशासकीय अधिकृत निरौलाले भने, 'आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिने लक्ष्यले उनीहरुलाई जस्ताको छानो दिएका हौँ। दुई आर्थिक वर्षमा यो कार्यक्रममा हामीले ७० लाख रूपैयाँ खर्च गरेका छौँ। छानो फेरिदिएपछि स्थानीयलाई सहजता भएको अवस्था छ।'

गाउँपालिकाले वडा नं १ र २ का आठ/आठ घर, वडा नं ३ मा पाँच घर, वडा नं ४ मा १२  घर, वडा नं ५ मा आठ घर, वडा नं ६ मा नौ घर, वडा नं ७ मा छ घरलाई जस्ताको छानो वितरण गरेको हो। त्यस्तै वडा नं ८ मा पाँच घर र वडा नं ९ मा आठ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो।

वर्षौंदेखि फुसको चुहिने छानोमा बस्दै आएका स्थानीय जस्ताको छानो पाएपछि खुसी भएका छन्। बर्सातको समयमा चुहिने छानोमा समस्या हुने भए पनि गाउँपालिकाले जस्ताको छानो दिएपछि सहज भएको हतुवागढी-१ की स्थानीय चिनिमाया खड्काले बताइन्। 'फुसको छानो हुँदा धेरै समस्या थियो', उनले भनिन्, 'म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन। पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ। छानो पाएपछि मलाई धेरै सहज भएको छ।'

आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसक्ने परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाएको हो। गाउँपालिकाले विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत नौवटै वडाका नागरिकलाई जस्ताको छानो दिएको छ। केन्द्र सरकारबाट फुसको छानो हटाउने कार्यक्रम निरन्तर नआएपछि गाउँपालिकाले आफै बजेट विनियोजन गरेर विपन्न परिवारको फुसको छानो हटाएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

यो आव र आगामी वर्षको लागिसमेत केन्द्र सरकारबाट यो शीर्षकमा बजेट नआएको अध्यक्ष राईको भनाइ छ। यो वर्ष वित्तीय समानीकरणमा आउने बजेट घटेको कारण फुसको छानो हटाउने कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए। आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष राईको भनाइ छ।

'हामीले यहाँका विपन्न परिवारको फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ',  अध्यक्ष राईले भने, 'फुसको छानो हटाउने केन्द्र सरकारको पनि कार्यक्रम छ तर हाम्रो गाउँपालिकामा यो बजेट निरन्तररुपमा आएको छैन। बजेटमा निरन्तरता नभएपछि गाउँपालिकाले नै फुसको छानो हटाएका छौँ।'

केन्द्र सरकारबाट आउने फुसको छानो हटाउने शीर्षकको बजेट यो आव र आगामी आवमा समेत शून्य रहेको अध्यक्ष राईले बताए। केन्द्रको बजेटले यो गाउँपालिकालाई प्राथमिकतामा नराखेपछि आफैले कार्यक्रम ल्याएर जनताको फुसको छानो हटाएको उनको भनाइ छ। 'हाम्रो गाउँपालिकामा फुसको छानो हटाउने केन्द्र सरकारको कार्यक्रमको बजेट नआएको अवस्था छ', उनले भने, 'मैले धेरै ठाउँमा यो विषय उठाएको पनि छु। तर पनि कार्यान्वयन भएको अवस्था छैन। आगामी वर्षलाई फुसको छानोको लागि हाम्रो गाउँपालिकामा बजेट आएको छैन। केन्द्रबाट बजेट नआए पनि यो कार्यक्रमलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ। वित्तीय समानीकरणको बजेट घटेको कारण यो वर्ष निरन्तरता दिन सकिएन।'

बर्सातको समयमा कष्टर जीवन बिताउँदै आएका स्थानीयलाई जस्ताको छानो फेरिदिएपछि सहजता थपिएको हतुवागढी-१ का वडाध्यक्ष कुमार विष्टले बताए। वडाका अतिविपन्न, एकल महिला, दलित आर्थिक रुपमा कमजोर रहेको परिवारलाई प्राथमिकतामा राखेर छानो वितरण गरिएको उनको भनाइ छ।

स्थानीय तह सञ्चालनमा आएपश्चात् विभिन्न आर्थिक वर्षमा सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय ८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत दश र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत एक सय छ गरी हालसम्म चार सय पाँच परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असार ३० २०८००७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend