काठमाडौं- व्यवसायिक घराना विशाल समूह सवारी बिक्रीमा थप आक्रामक देखिएको छ। दुई पांग्रेदेखि चारपांग्रे सवारीसम्मको आधिकारिक बिक्रेता रहेको विशाल समूहले नयाँ ब्रान्ड ल्याउने क्रम जारी राखेको छ। यसैबीच समूहले अर्को चिनियाँ ब्रान्ड म्याक्सस् ल्याउने भएको छ।
पछिल्लो समय व्यवसायिक घरानाहरु चिनियाँ सवारी ब्रान्ड ल्याउन लागि परेका छन्। विशाल समूहले गत वर्ष चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर भित्र्याउने गरि सम्झौता गरेको थियो। त्यहीअनुसार विशाल समूह अन्तर्गतको भीजी इम्पेक्सले ग्रेटवाल तथा हावाल ब्रान्डका कार बिक्री सुरु गरिसकेको छ।
समूहले अर्को चिनियाँ सवारी उत्पादक कम्पनी म्याक्सस् ब्रान्ड ल्याउन एसएआईसी म्याक्सस् अटोमोटिभ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिसकेको समूह स्रोतले बिजनेस न्युजलाई जानकारी दिएको हो। ‘म्याक्सस् ब्रान्डका सवारीसाधनको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा विशाल समूह छनोट भइ प्रारम्भिक सम्झौता भइसकेको छ,’ स्रोतले भन्यो, ‘अबको केही समयपछि दुई पक्षबीच औपचारिक सम्झौता हुने तयारी भइरहेको छ।’

म्याक्सस् ब्रान्ड २०११ मा स्थापना भएको हो। चीनको सांघाईमा मुख्यालय रहेको एसएआईसी म्याक्सस् कम्पनीका प्यासेन्जर कार तथा कमर्सियल सवारी समेत उत्पादन हुँदै आएको छ।
म्याक्सस् ब्रान्डका म्याक्सस् जी २०, जी ५०, डी ६०, डी ९० लगायत एसयूभी तथा म्याक्सस् टी ६०, टी ७० मोडलका पिकअप उत्पादन गर्दै आएको छ। कम्पनीले माइक्रोबस तथा भ्यान समेत उत्पादन गर्दै आएको छ।
विशाल समूहले सुजुकीका मोटरसाइकल तथा स्कुटर बिक्रीगर्दै आएको छ। त्यस्तै समूहले फक्सवागन, मोरिस ग्यारेज (एमजी), माज्दा, रेनो, ग्रेटवाल मोटर्स (जीडब्लूएम) ब्रान्डका कार उपलब्ध गराउँदै आएको छ।
समूहले कोबेल्को ब्रान्डका हेवी इक्युपमेन्ट समेत बिक्री गर्दै आएको छ। यो समूहले विभिन्न ब्रान्डका लुब्रिकेन्ट समेत आयात गर्दै आएको छ।