उदयपुर- सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ इन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखालका २५ वर्षीय प्रविण भट्टसहित सात जना पक्राउ परेका हुन्।
उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलासँग म्यासेन्जर तथा ह्वाट्सएपमार्फत कुराकानी सुरु गरेका उनले तपाईँलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्सबापत १ लाख ३० हजार ६ सय २७ रूपैयाँ पठाउन लगाएपछि ठगी गरेको खुलेको हो।
उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रूपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।
उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरी मुलुकी अपराधसंहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।