सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

हेवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

images
बिहीबार , असार २८ २०८०
images
images
हेवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

विगतमा रहेकोभन्दा बाढी आएपछि खोलाले बहाव यत्रतत्र बदलेको छ। जसकारण पानीको मात्रा बढ्नासाथ बहाव बदलिएर बस्तीसम्म पस्ने खतरा कायमै रहेको स्थानीयको चिन्ता छ।

images
images

पाँचथर- यस वर्षको वर्षायामको सुरुवातमै हेवाखोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो। 

images
images
images

बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि जनजीवन असामान्य बनेको छ। चारवटा मोटरेवल पुल बगाएको हेवाखोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेवाखोलाले ठाउँ-ठाउँमा बहाव बदलेको छ। यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ।

images
images

हिलिहाङ गाउँपालिकाको हेवाखोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आएकी भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताउँछिन्। 'बाढी आउनुअघि ठूलो बगर थियो। फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था थिएन', योक्पाङ्देनले भनिन्, 'अहिले बाढीले सबै बगर पुरेको छ भने खोला गहिरिएर गएको छ।' गहिरिएको खोलाले सानो बाढी आउँदा पनि बगर छिचोल्ने डर तटीय क्षेत्रका बासिन्दाको छ।

images
images
images

विगतमा रहेकोभन्दा बाढी आएपछि खोलाले बहाव यत्रतत्र बदलेको छ। जसकारण पानीको मात्रा बढ्नासाथ बहाव बदलिएर बस्तीसम्म पस्ने खतरा कायमै रहेको योक्पाङ्देनको चिन्ता छ। 'बर्खा सुरु मात्रै हुँदैछ। अझै पानी पर्ने समय तीन/चार महिना बाँकी छ', योक्पाङ्देनले भनिन्, 'समग्रमा खोलाले तटीय क्षेत्रमा चिन्ता थपेको छ।' प्रायजसो साउन र भदौमा अधिक वर्षा हुने हुँदा बाढीको जोखिम उत्तिकै रहेको र अब बाढीले कता क्षति पुर्‍याउला भन्ने अनुमान गर्न नसकिने अवस्था आएको उनको भनाइ छ।

हेवाखोला र तमोर नदीको दोभान माझीटारमा खोलाले शताब्दीऔँदेखि बसोबास गरिरहेको बस्तीमा कटान थालेको छ। फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ माझीटारमा कहिल्यै खेती नटुटेको खेतबारीलाई यसपालिको बाढीले ढुंगामुढाको खण्डहरमा परिणत गरिदिएको छ। दोभान नजिकै हेवाखोलामा ढुंगा थुपारेको छ। नदीको कटान परिवर्तन हुनु र ढुंगा थुपारिनुले माझीटारको मुख्य बस्ती जोखिममा परेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ। 'अहिलेसम्म हामीले यस्तो जोखिम देखेका/भोगेका थिएनौँ', माझीले भने, 'यसपालि घर छोडेर भाग्नुपर्ला कि जस्तो बनायो।'

बाढीका कारण हेवाखोलाका कुलबहादुर लावतीको खेतीयोग्य जमिन बालुवा, ढुंगा र मुढाले भरिएको छ। जे रोप्यो त्यही फल्ने खेत बालुवाले पुरेपछि के आम्दानीले जीविका चलाउने भन्ने चिन्ता परेको लावती बताउँछिन्। बंगुर, हाँस र कुखुराको पालन तथा सागसब्जी उत्पादन गरी फिदिममा बिक्री गर्दै आएकी भवानी योक्पाङ्देनको लगानी बालुवामा परिणत भएपछि उस्तै चिन्तामा छिन्। माझीटारको धेरै धान उत्पादन हुने खेत बगाएको छ भने खानीपानी र सिँचाइका स-साना योजनालाई कामै नलाग्ने बनाइदिएको छ।

हेवाखोलाले शताब्दीऔँदेखि अन्नपात उत्पादन गरिँदै आएका खेतबारीमा क्षति पुर्‍याएको छ। खण्डहर र बगर बनेका खेतबारीमा तत्कालै उत्पादन हुने सम्भावना छैन। जसले हिँउद र बर्खामा दुई खेती गरी जीविका चलाउँदै आएका कृषकलाई मारमा पारेको छ। त्यससँगै बाढीको जोखिमले भविष्यबारे पनि स्थानीयवासीलाई चिन्तित पारेको छ।

आफूहरु जोखिममा परे पनि सरकारी निकायले वेवास्ता गरेको हिलिहाङ-७ की सुमिना लिम्बूको भनाइ छ। 'घर बगाएका, मृत्यु र बेपत्ता भएका परिवारबारे सरकारले चासो राखेको छ तर घरबार भएर पनि बस्न नसक्ने स्थितिमा पुगेका हामीलाई कसैले एक शब्द सोध्नुभएको छैन', लिम्बूले हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङदेनसमक्ष गुनासो पोखे, 'आज बल्ल तपाईं हाम्रो पीडा हेर्न आइदिनुभयो। अरुलाई त फोन गरेर आइदिनुहोस् न भन्दा पनि मान्नुभएन।'

तमोर कोरिडोर र मेची राजमार्गमा पेसा व्यवसाय चलेका तथा खेतीयोग्य जमिनमा प्रसस्तै उत्पादन भइरहेका क्षेत्रलाई एकै बाढीले धराशायी बनाएपछि स्थानीयवासी अत्तालिएका छन्। स्थानीय सरकारले केही ढाडस दिएर जोखिममुक्त गर्दै उत्पादन र व्यवसायलाई पुरानै लयमा फर्काउनु आवश्यक रहेको जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटा बताउँछन्। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend