शनिबार, असोज ५ गते २०८१    
images
images

दाङको माटोमा उर्वराशक्ति कमजोर बन्दै

images
बुधबार, असार २७ २०८०
images
images
दाङको माटोमा उर्वराशक्ति कमजोर बन्दै

दाङमा अरू अन्नबालीभन्दा धान बाली सबैभन्दा बढी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। जिल्लाको ६९ हजार नौ सय ५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार नौ सय ८० हेक्टर जमिनमा खेती हुने गरेको छ। जसमध्ये ३९ हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ।

images
images

देउखुरी- दाङमा चालु आर्थिक वर्षको हालसम्म एक सय ५२ वटा माटोको परीक्षण गर्दा अम्लीयपन भएको ३३, क्षारीयपन भएको ४३ र तटस्थ अवस्थामा ७६ वटा माटो भेटिएको छ। परीष्ण गरिएका उक्त माटोमा नाइट्रोजनको मात्रा कम भएका ४२, मध्यम अवस्थामा रहेका ५९ र अधिक भएका ५१ वटा भेटिएका घोराहीस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

images
images
images

'सामान्यता माटोमा पिएचको मात्रा छ दशमलव पाँच देखि सात दशमलव पाँचसम्मलाई उपयुक्त मानिन्छ। उल्लिखित मात्राभन्दा तल भए अम्लीयपन देखिन्छ भने बढी भए क्षारीयपन देखिन्छ', केन्द्रका कृषि अधिकृत देवा महराले भने, 'युरिया मलको सही उपयोग हुन नसक्दा माटोको उर्वराशक्ति कमजोर हुनाका साथै माटोमा क्षति हुँदै गएको छ।'

उनका अनुसार विभिन्न बालीका लागि चाहिने तत्वहरु नाइट्रोजन, फस्फोरस, पोटासलगायतको मात्रा पनि घट्दो छ। जिल्लाका अधिकांश ठाउँको माटो परीक्षण गर्दा जमिनमा अम्लीयपन बढ्दै गएको भेटिएको महराले जानकारी दिए। उनका अनुसार प्रांगारिक पदार्थको प्रयोग घट्दै जाँदा र रसायनिक मलको प्रयोग बढ्दै जाँदा अम्लीयपन बढ्दै गएको हो।

सोही माटोको नमूना परीक्षण गर्दा फस्फोरसको मात्रा ९८ वटामा कम, ४८ वटामा मध्यम र ६ वटामा अधिक भेटिएको थियो। माटोमा पोटासको मात्रा ९९ वटामा निकै कम, ५१ वटामा मध्यम र दुई वटामा अधिक भेटिएको कृषि अधिकृत महराले जानकारी दिए। नमूना लिइएको माटोको परीक्षणका क्रममा आएको नतिजाले माटोको उर्वराशक्ति कमजोर बन्दै गएको देखाउने उनले बताए।

images

घोराही उपमहानगरपालिका-१ का श्रीराम चौधरीको खेतको माटो परीक्षण गरियो। माटोको नमूना परीक्षण गर्दा पिएच सात दशमलव एक देखिँदा नाइट्रेजनको मात्रा मध्यम आयो भने फस्फोरस, पोटासको मात्रा निकै कम भएको पाइएको छ। माटोको परीक्षण गरेर मात्र खेती गर्नुपर्छ भन्ने थाहा नपाएको र आफूखुसी मलको प्रयोग गर्ने गरेकाले माटो बिग्रिएको चौधरीले बताए। वरपरका गाउँघरमा पनि माटो परीक्षण गरेर खेती गर्न सल्लाह दिने उनको भनाइ थियो।

घोराही उपमहानगरपालिका-४ सुनपुरका सुधन पोखरेलको खेतबारीको माटोको नमूना लिई परीक्षण गर्दा पीएच छ दशमलव दुई मात्रै देखियो। घोराहीस्थित कृषि ज्ञान केन्द्रको मिनी प्रयोगशालामा गरिएको माटो परीक्षणमा  नाइट्रेजनको मात्रा अधिक देखियो भने फस्फोरस, पोटासको मात्रा निकै कम देखियो। 'माटो परीक्षण गरेर खेती गर्नुपर्ने रहेछ बल्ल थाहा भयो,' उनले भने, 'सामान्यता माटोमा पिएचको मात्रा छ दशमलव पाँच देखि सात  दशमलव पाँचसम्मलाई उपयुक्त मान्ने रहेछ। मेरोमा कम आयो।'

दाङमा अरू अन्नबालीभन्दा धान बाली सबैभन्दा बढी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। जिल्लाको ६९ हजार नौ सय ५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार नौ सय ८० हेक्टर जमिनमा खेती हुने गरेको छ। जसमध्ये ३९ हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। अहिलेको माटोको परीक्षणबाट आएको नतिजा अनुरुप नै माटोमा अम्लीयपन बढ्दै जाने हो भने धान उत्पादनमा कमी आउने कृषि विज्ञ बताउँछन्।

आफ्नो खेतबारीको माटोको परीक्षण गरेर मात्र रसायनिक मल प्रयोग गर्नपर्ने कुषि सामग्री वितरक कम्पनीका शाखा प्रमुख टोपाराम गौतमले बताए। माटोको परीक्षण गरेर मल प्रयोग गरेमा माटोको उर्वर शक्ति रहने उनको धारणा छ। 

'जिल्लामा कृषकले धान, मकै, तोरी, मसुरो, गहुँलगायत तरकारी बालीको उत्पादन बढाउन भन्दै बिनामापदण्ड युरिया, डिएपी लगायतको मलसँगै कीटनाशक औषधि बढी प्रयोग गर्ने गरेको पाइएको छ', प्रमुख गौतमले भने, 'कृषि सामग्री कम्पनीमा मल लिन आउने किसानलाई माटो परीक्षण गरेर मात्र मलको प्रयोग गर्न सल्लाह दिने गरेका छौँ।' उनका अनुसार परीक्षणपछि मल प्रयोग गर्दा माटोलाई चाहिने आवश्यक तत्व परिपूर्ति हुनका साथै माटोको उर्वराशक्ति कमजोर हुनबाट बचाउँन सकिन्न।

केन्द्रका कृषि अधिकृत महराले माटो बिग्रिँदै जानुको प्रमुख कारण कृषकबाट अन्धाधुन्ध रासायनिक पदार्थको प्रयोग कारक रहेको बताए। 'गाई वस्तु पाल्ने चलन हराएसँगै घरेलु मलको प्रयोग कम हुने गरेको छ', उनले भने, 'रासायनिक मल तथा विषादीको प्रयोग बढी हुँदा माटो बिग्रिएको छ।' चक्रीय प्रणालीअनुरुप विभिन्न खाले बाली लगाउनुपर्ने उनको सुझाव छ। 

दाङमा रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास ल्याउनुका साथै नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम देखिएको महराले बताए। उनका अनुसार तत्कालीन जिल्ला कृषि विकास कार्यालय हुँदा विसं २०५७ सालमा दाङमा माटो परीक्षणका लागि मिनी ल्याब स्थापना भएयता जिल्लामा माटो परीक्षण हुने गरेको छ।

'ल्याब स्थापनासँगै कार्यालयमा माटो विज्ञको दरबन्दी रहेकामा संघीयता लागु भएसँगै कर्मचारी समायोजनका क्रममा माटो विज्ञको दरबन्दी कटौती गरिएको छ', महराले भने, 'अहिले कर्मचारी अभावका कारण आफैले माटो परीक्षण गरिरहेको छु।' केन्द्र माटो विज्ञ विहीन बनेसँगै बर्सेनि हुने माटो परीक्षणमा समेत कमी आएको अधिकृत महराले बताए। रासस


प्रकाशित : बुधबार, असार २७ २०८००९:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend