शनिबार, असोज ५ गते २०८१    
images
images

घरको छतमा व्यावसायिक पक्षीपालन गरेर मनग्य आम्दानी गर्छिन् उमाकुमारी, तरकारी खेतीमा पनि उत्तिकै सक्रिय

images
मंगलबार, असार २६ २०८०
images
images
घरको छतमा व्यावसायिक पक्षीपालन गरेर मनग्य आम्दानी गर्छिन् उमाकुमारी, तरकारी खेतीमा पनि उत्तिकै सक्रिय

छतमा गरिएको यस व्यवसायबाट वार्षिकरूपमा पाँच लाख रूपैयाँ बराबरको आम्दानी हुँदै आएको उनले बताइन्।

images
images

रामपुर- मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ। मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेकी छिन्।

images
images
images

पाल्पा रामपुर नगरपालिका- ५ स्थित बेझाड बजार निवासी उनले तीनतला घरमाथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन गरेकी हुन्। उमाकुमारीले छतमा स्थानीय जातका कुखुरा, कालिज, लौकाट, बट्टाईजस्ता पक्षीपालन गरिरहेकी छिन्। 'ठूलो संख्यामा यो व्यावसाय छतमा सुरु गरेको दुईवर्ष भयो। व्यवसाय गर्ने हो भने जग्गा जमिन नै चाहिदैन, जाँगर र मेहनत भयो भने घरका छत, करेसाबारी सदुपयोग गरेर पनि कमाइ गर्न सकिन्छ', उनले भनिन्, 'मैले बेझाड बजारको तीन तलामाथिको छतमा पक्षी व्यवसाय र तरकारी खेती गरिरहेको छु, उत्पादन पनि राम्रै भइरहेको छ।'

हाल उमाकुमारीको घरमा स्थानीय जातको कुखुरा एक किलोदेखि डेढ किलोसम्म चार सयवटा, ठूला एक सयवटा (चल्ला उत्पादनका लागि, अण्डा दिने), कोइलर कुखुरा चल्ला उत्पादनका लागि ५० वटा, कालिज ठूलो माउ पाँच र साना बच्चा ३०, लौकाट पाँचवटा माउ र चल्ला १५ वटा, बट्टाई तीनवटा माउसहित एक सय ५० रहेको छ।

स्थानीय जातको कुखुरा प्रतिकिलो आठसय, ब्रोइलर कुखुरा प्रतिकिलो पाँच सय, कालिज भाले दुई हजार पाँच सय र पोथी दुई हजार, लौकाट एक हजार, बट्टाई दुई सय रूपैयाँमा बिक्री भइरहेको उनले बताइन्। बजारमै व्यवसाय भएकाले बिक्रीका लागि समस्या नभएको हुँदा पक्षीपालनलाई जोड दिइएको हो। चल्ला उत्पादन गर्ने र बिक्री गर्ने मुख्य उद्देश्य लिएर व्यवसाय थालनी गरिएको उमाकुमारीको भनाइ थियो।

images

आफ्नै घरमा ह्याचरी मेसिनबाट चल्ला उत्पादन गरी उनले बिक्री गर्दै आएकी छिन्। एक महिनामा चार सय चल्ला बिक्री हुने गरेको छ। स्थानीयस्तरमा नै चल्ला खपत भइरहेको छ। छतमा गरिएको यस व्यवसायबाट वार्षिकरूपमा पाँच लाख रूपैयाँ बराबरको आम्दानी हुँदै आएको छ।

'घरमै ह्याचरी मेसिन राखेर चल्ला उत्पादन गर्न थालिएपछि धेरै फाइदा हुँदोरहेछ, घरको छतभरी कुखुरा, कालिज, लौकाट, बट्टाईमध्ये कोही बिक्री गर्न लायकका छन् भने केही चल्ला हुर्कँदैछन्, केही जन्मने बेला भएका छन्, यो देख्दा धेरै रमाइलो लागिरहेको छ', उमाकुमारीले भनिन्।

ह्याचरी मेसिनबाट चल्ला उत्पादन गर्नुअघि उनले काठमाडौंबाट चल्ला खरिद गरेर व्यवसाय चलाउँथिन्। बाहिरबाट चल्ला खरिद गरेर व्यवसाय चलाउँदा खासै फाइदा नभएपछि घरमै ह्याचरी मेसिन ल्याएर चल्ला उत्पादन गरी बिक्री गर्दा धेरै फाइदा हुने गरेको उमाकुमारीको भनाइ थियो। उनले खाली समय सदुपयोग गर्न इन्टरनेटको सहायताबाट अध्ययन गरेर व्यवसाय सुरु गरेको बताइन्।

यस व्यवसायबाट धेरै सन्तुष्ट रहेकी उमाकुमारीले पक्षीको मल सदुपयोग गर्न घरको आडैमा रहेको रामतुलसी नमुना माविको पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी, धान, मकैलगायत बाली लगाउँदै आएकी छिन्। छतका छेउमा कुरिलो, खुर्सानी खेती पनि छ। चारवर्ष अघिदेखि  रामपुरमा उनले पहिलो व्यवसायीका रुपमा एक सयवटा बट्टाईपालन सुरु गरेकी थिइन्। बट्टाईबाट आम्दानी राम्रो हुने सम्भावना देखेपछि छतमा खोर विस्तार गरी कुखुरा, लौकाट, कालिज पनि  व्यावसायिकरूपले पाल्न थालिएको उमाकुमारीले बताइन्।

विसं २०५५ मा रम्भा गाउँपालिका-५ वीरकोटबाट रामपुरको मुख्य बजार बेझाड बजारमा किराना व्यापार गर्न साथमा १५ हजार रूपैयाँ रकम लिएर आएकी उनले अहिले आएर धेरै सफलता हात पारेकी छिन्। आफ्नो मेहनत, जाँगर र सीपले उमाकुमारीले बेझाड बजारमा तीन तलाको घर खरिद गरेकी छिन् भने तीन छोराछोरीलाई काठमाडौंमा राखेर उचित शिक्षा दिँदै आएकी छिन्।

'श्रीमान् परदेशमा, साना बालबच्चा काखमा लिएर आयआर्जन गर्ने अभिलाषा बोकेर रामपुर बजार आएँ, रामपुर आउन परिवार र आफन्तले साथ दिएका थिएनन्। मेरो जोडबलले केही गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ आएको र अहिले राम्रै गरेजस्तो लाग्छ', उनले सुनाइन्।

एसएलसी उत्तीर्ण भएकी उमाकुमारीको अहिले रामपुरका विभिन्न सामाजिक संघ संस्थामा सक्रियता पनि उत्तिकै छ। रामपुर झरेपछि लामो समयसम्म किराना पसल गरेकी उनले अहिले परदेशमा रहेका श्रीमान् घर फर्केपछि आफ्नै घरमा होटल व्यवसायसमेत चलाएकी छिन्। आफ्नै कमाइमा रमाउन पाउँदा ज्यादै गर्व लागेको उमाकुमारीले बताइन्।

उनले पक्षीपालन व्यावसायमा रामपुर नगरपालिकाबाट दुईवर्ष अघि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत दश लाख रूपैयाँ बराबरको ब्याज अनुदान पाएकी थिइन्। नगरपालिकाको ब्याज अनुदान कार्यक्रममा छनोट भएपछि उमाकुमारीले रामपुर- ८ मा कुखुरापालन गरेकी हुन्। सो व्यवसाय घरबाट रेखदेख गर्न जान टाढा भएपछि इन्टरनेटमा पनि घरको छतमा पक्षीपालन गरेको देखेपछि छतमा नै व्यवसाय चलाएको उमाकुमारीले बताइन्। रासस


प्रकाशित : मंगलबार, असार २६ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend