आइतबार, जेठ ६ गते २०८१    
images
images

ढोरपाटन पुग्नै सकस

images
आइतबार, असार २४ २०८०
images
images
ढोरपाटन पुग्नै सकस

राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी-ढोरपाटन सडक ट्र्याक खुलेको एक दशक बितेको छ। अहिलेसम्म स्तरोन्नति हुन नसक्दा पर्यटकले सास्ती खेप्नु परेको छ।

images
images

ढोरपाटन- चारैतिर हरियाली पहाड, बीचमा समथर भू-भाग। राता, सेता, पहेँला र निला रंगका वनफूलले ढाकिएको ढोरपाटन उपत्यका यति बेला निकै मनमोहक देखिन्छ। कतिबेला पानी पर्ने, कति बेला घाम लाग्ने, यहाँको विशेषता हो। नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनले यतिबेला आगन्तुकलाई पर्खिरहेको छ।

images
images
images

सदाबहार सुन्दर देखिने ढोरपाटनले यो याममा आगन्तुकलाई बढी लोभ्याउने गर्छ। समथर मैदानमा कुद्ने घोडा, खच्चड र गाईभैँसीको बगालले झनै मोहित बनाउँछ। टाढैबाट पनि आकर्षक देखिने ढोरपाटन उपत्यकामा यति बेला घुम्न आउनेको संख्या ह्वात्तै बढेको छ। तर यहाँ पर्याप्त सडक सुविधा भने छैन। त्यसैले सबै ढोरपाटन पुग्न सक्दैनन्। सडकको दुरावस्थाका कारण आगन्तुक सहज रुपमा ढोरपाटन पुग्न सक्दैनन्।

images

राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी-ढोरपाटन सडक ट्र्याक खुलेको एक दशक बितेको छ। अहिलेसम्म स्तरोन्नति हुन नसक्दा पर्यटकले सास्ती खेप्नु परेको छ। सडक स्तरोन्नतिका लागि बजेट विनियोजन नभएर होइन, निर्माण कम्पनीले समयमा काम नगर्दा यात्रा गर्न कठिन हुने गरेको हो।

images
images

ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङदेखि बोबाङसम्म सडक राम्रै भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ। साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न सक्दैनन्। यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन्। पर्यटकले प्रयोग गर्ने सवारीसाधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेका छन्।

images
images

केही दिनदेखिको वर्षाले सडकमा लेदोसहितको हिलो र ढुंगा थुपारेको हुँदा यात्रा गर्न कठिन भएको गुल्मीको शान्तिपुरबाट यहाँ घुम्न आउनु भएका किशोर क्षेत्रीले बताए। निसेलढोरसम्म पुग्ने योजना बनाएर साथीसँग आएका क्षेत्रीले फल्लेघरको माथिल्लो घुम्तीबाटै बुर्तिबाङ फर्किनु परेको सुनाए।

'बसाइँ बुटवलतिर छ, बर्खे बिदामा गाउँ आएको बेला ढोरपाटन घुम्न आएका थियौँ, बुर्तिबाङभन्दा माथिसम्म त बाटो सजिलो रैछ, त्यसभन्दा माथि त निकै गाह्रो रहेछ, सडक अप्ठ्यारो हुँदा ढोरपाटन पुग्न सकिएन', क्षेत्रीले भने, 'ढोरपाटन घुम्ने चाहना पूरा भएन।'

सडकले तराई र पहाडलाई जोड्ने गरी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ। सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयलेसमेत सहज रुपमा यात्रा गर्न पाएका छैनन्। सडक साँघुरो र हिलाम्मे हुँदा बस्तुभाउसहित लेकबेँसी गर्न सकस भएको स्थानीय वीरबहादुर सुनारले बताए।

हिउँदमा साना गाडी जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उनको भनाइ छ। साँघुरो सडक हुँदा बेला बेलामा दुर्घटनासमेत हुने गरेकाले यसतर्फ सरोकारवालाको ध्यान पुग्न जरुरी रहेको उनले बताए। 'सडकका कारण ढोरपाटन घुम्न आउनेलाई सकस हुन्छ', सुनारले भने, 'गाडी बाटोमै बिग्रिँदा कति त बाटैबाट फर्किन्छन्।'

विसं २०७१ मा सो सडकको ट्र्याक खुलेको हो। गंगरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर लामो सडक छ। सालझण्डीदेखि ढोरपाटनसम्मको लम्बाइ एक सय ९७ किलोमिटर रहेको छ। विसं २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो। बडिगाड गाउँपालिका-१० गंगरे, निसीखोला गाउँपालिका-७ राजकुट, वडा नं १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि दुई वर्ष अगाडि सम्झौता भएको थियो।

हालसम्म २८ प्रतिशत मात्रै काम भएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सरोज आचार्यले जानकारी दिए। बुर्तिबाङदेखि फल्लेघरसम्मको सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द/ओमबुद्ध जेभीसँग ३० महिनामा काम सक्ने गरी २५ करोड रूपैयाँमा सम्झौता भएको आचार्यले बताए। स्तरोन्नतिको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिए पनि निर्माण कम्पनीले ढिला सुस्ती गरिरहेको उनी बताउँछन्।

गंगरेदेखि बुर्तिबाङसम्म पनि काम भइरहेको आचार्यले बताए। सो खण्डमा कच्ची नाली निर्माण गर्ने काम भइरहेको छ। 'कामले गति लिन सकेको छैन, अहिले पर्खाल लगाउने काम भइरहेको छ', उनले भने।

उनका अनुसार गंगरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक पर्छ। उक्त यस सडकका लागि यसवर्ष ४० करोड रूपैयाँ विनियोजन भएको थियो। ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले ढोरपाटन प्राकृतिक रुपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नु परेको बताए। रासस


प्रकाशित : आइतबार, असार २४ २०८००८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend