काठमाडौं- घरजग्गा र सेयर बजारमा जाने ऋणलाई खुकुलो बनाउन राष्ट्र बैंकमाथि दबाब बढिरहेको छ। साउन पहिलाे साता आउने मौद्रिक नीतिमा निजी क्षेत्रले सेयर बजारको '१२ करोडको सीमा' हटाउन र ऋणको जोखिम भार कम गर्न गभर्नर महाप्रसाद अधिकारीसमक्ष माग गरिरहेका छन्।
यता घरजग्गामा जाने ऋणमा पनि १५० प्रतिशतको जोखिम भारलाई १०० प्रतिशत झार्न माग गरेका छन्। सेयर बजारमा रहेको १५० को जोखिम भारलाई पनि हटाउन निरन्तर लबिङमा निजी क्षेत्रदेखि सरकार र सांसदसमेत लागिरहेका छन्।
बैंकिङ प्रणालीमा अहिले ३ खर्ब ५० अर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ। सोही पैसा फेरि घरजग्गा र सेयरमा पठाउन निरन्तर लबिङ देखिन्छ। अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई निजी क्षेत्रका प्रभावशाली व्यक्तिहरूले घरजग्गा तथा सेयर बजारमा कर्जा संकुचित हुँदा अर्थतन्त्र शिथिल भएको भनेर विश्वास दिलाउने प्रयास गरिरहेका छन्। माथिल्लो राजनीतिक तहबाट राष्ट्र बैंकलाई दबाबमा राखेर घरजग्गालाई चलायमान बनाउने नीतिमा व्यवसायीहरू रहेका छन्।
तर राष्ट्र बैंक भने घरजग्गाको कर्जामा त्यति धेरै उदार हुने पक्षमा छैन। उत्पादनमूलक क्षेत्रमा भनेर गएकै कर्जाको पनि दुरुपयोग भइरहेको भन्दै त्यसलाई अनुगमन गर्ने नीति लिएको राष्ट्र बैंक घरजग्गाको कर्जालाई खुकुलो छाड्ने पक्षमा देखिएको छैन।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि राष्ट्र बैंकमाथि दबाब बढाइरहेका छन्। घरजग्गामा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै कित्ताकाट खोल्ने निर्णय गरेका थिए। यद्यपि कानूनी अड्चनले खुल्न भने सकेको छैन।
अधिक कर्जा प्रवाहलाई नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले घर जग्गा तथा सेयर बजारमा जाने ऋणको जोखिमभार बढाइदिएको थियो। जोखिमभारसँगै कारोबार निरुत्साहित गर्नका लागि अन्य नीतिगत व्यवस्था गरेको थियो।
कोरोना महामारीमा अन्य आर्थिक गतिविधि ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजार र घरजग्गा कर्जा अत्यधिक कर्जा प्रवाह गरेका थिए। तर राष्ट्र बैंकले एकातिर कर्जामा कडाइ गरिदियो भने अर्कातिर सरकारले जग्गाको कित्ताकाट रोकिदियो। यही कारणले पछिल्लो दुई वर्षदेखि मन्दीको अवस्था छ।
सेयर बजार र घरजग्गामा कारोबार ठप्प छ। ३ हजार बिन्दुमा पुगेको सेयर बजार अहिले घटेर १८ सय बिन्दुमा झरेको थियो। गत साता केही अंक बढेर २ हजारको बिन्दुमा घुमेको छ। सेयर बजार उच्च अंकमा पुग्दा केही ठूला लगानीकर्ताले किन्ने र बिक्री गर्ने गरेर विलासिताका समानमा ठूलो रकम खर्च गरे। उता घरजग्गाका कारोबारी पनि विलासिता अपनाउन थाले। जसका कारण डलर सञ्चितिमा दबाब पुग्यो।
राष्ट्र बैंकले आयात नै प्रतिबन्ध लगाउनु पर्नेसम्मको अवस्था आयो, जसको असर अहिले राजस्वमा परेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रमा भएको लगानीमा कडाइको नीति लियो। घरजग्गामा १५० प्रतिशतसम्म जोखिम भार पुर्याइएको थियो। राष्ट्र बैंकले घर खरिदमा एक करोड ५० लाख रूपैयाँसम्मको ऋणलाई रियलस्टेटमा गणना गर्ने नीतिमा पुनरावलोकन गराउन पनि दबाब दिएको छ।
ऋण सहजताका लागि भार १०० मा झार्न अहिले फेरि दबाब दिइएको छ। तर राष्ट्र बैंक दुवै क्षेत्रलाई तत्काल छाड्ने पक्षमा छैन। विगतमा पनि यही क्षेत्रबाट समस्या सुरु भएको राष्ट्र बैंकको बुझाइ छ। आवाुसीय घर निर्माणमा केही सहजता बनाउने राष्ट्र बैंकको तयारी छ। सेयर बजारको १२ करोडको सीमा यथावत् राख्ने तर घरजग्गामा भने केही खुलुको नीति लिएर बैंकहरुको ऋण उठाउन सहज गरिदिने नीति राष्ट्र बैंकले लिएको छ। ऋण घरजग्गामा जाँदा अहिले बैंकहरुको निष्कृय कर्जा निरन्तर बढिरहेको छ।
बैंकहरुसँग पुँजी कम हुँदै गएका कारण सेयर धितो ऋणको जोखिम भारित सम्पत्तिलाई कम गर्ने गरी अर्थ मन्त्रालय र राजनीतिक नेतृत्वले राष्ट्र बैंंकलाई दबाब दिँदै आएका छन्। अहिले १५० प्रतिशत रहेको जोखिम भारित सम्पत्तिलाई १०० प्रतिशतमा झार्नका लागि राष्ट्र बैंकमाथि दबाब बढाइएको हो।
राष्ट्र बैंक सुधार हुन लागेको अर्थतन्त्रमा खुकुलो नीति बनाउने पक्षमा छ। राष्ट्र बैंकले गतवर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जामा ४/१२ को सीमा सामान्य हेरफेर गरिसकेको छ। यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रूपैयाँ सेयर कर्जा पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो। यसलाई हटाउने पक्षमा राष्ट्र बैंक छैन।
खुकुलो नीति नहुँदै घरजग्गा कारोबारमा वृद्धि
बैशाखमा घटेको घरजग्गा कारोबार जेठमा बढेको छ। कित्ताकाट खुकुलो हुनुका साथै आगामी मौद्रिक नीतिमार्फत कारोबारमा केही सहज हुने अनुमानसहित घरजग्गा कारोबारमा उत्साह देखिएको छ। बैंकको निक्षेप बढेसँगै ऋण प्रवाह पनि बढेको छ। सोही कारण पनि घरजग्गा कारोबार बढेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको थियो। बैशाखमा ४२ हजार ४ सय ६१ लिखत पास भएको थियो। बैशाखमा जेठमा भन्दा १२ हजार ६०८ लिखितम बढी पास भएको छ। देशभरका मालपोत कार्यालयहरुबाट जेठमा ५५ हजार ६९ लिखत पारित भएको छ।
विभागका अनुसार जेठमा ४ हजार ७१९ वटा घरजग्गा नामसारी, ७ हजार ५१८ वटा संशोधन, ४० हजार ५४९ वटा रोक्का र ३० हजार ८०९ वटा फुकुवा गरेका छन्।
३ अर्ब ७५ करोड रूपैयाँ राजस्व संकलन जेठमा कारोबार बढेपनि राजस्व संकलन भने कम भएको छ। गत बैशाखमा ४२ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ६८ करोड ६१ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो।
असोजमा सरकारले २ अर्ब ५६ करोड, कात्तिकमा ३ अर्ब, मंसिरमा २ अर्ब ६४ करोड, पुसमा ३ अर्ब ७१ करोड, माघमा ४ अर्ब ६९ करोड रूपैयाँ भएको थियो। फागुनमा भने केही घटेर ३ अर्ब ५६ करोड उठेको राजस्व चैतमा एकैपटक साढे ४ अर्ब रूपैयाँ नाघेको थियो।
कस्तो छ सेयर बजारको अवस्था?
लगातार घटिरहेको सेयर बजार अहिले लयमा ल्याउन अर्थमन्त्री महत प्रयासमा छन्। तर नेपाली कांग्रेस नेतृत्वलाई पछिल्लो समय खासै नपत्याएको सेयर बजारले यसपटक पनि पत्याउने छाँट छैन।
सेयर बजारले पछिल्लो समय एमाले अर्थमन्त्री हुँदा मात्रै बुल समातेको छ। सोही कारण पनि कांग्रेससँग त्रस्त बजार के हुन्छ भन्ने चासो लगानीकर्तामा छ।
उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्।
बिहीबार बजार स्थिर अवस्थामा देखिएको छ। ०.०६ अंकले घटेर बजार २०४९.३८ बिन्दुमा झरेको छ। ९० कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७ करोड रूपैयाँको कारोबार भएको थियो। बिहीबार १२७ कम्पनीको सेयर मूल्य घटेको थियो।
यो साता पहिलो कारोबारमा आइतबार नै बजारमा ठूलो गिरावट देखिएको थियो। आइतबार नै बजार ५३.७० अंकले घटेको बजार सोमबार पनि २१.३२ अंकले घटेको थियो। मंगलबार १२.७३ अंकले बढेको बजार बुधबार ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा ओर्लिएको थियो।