शनिबार, असोज ५ गते २०८१    
images
images

हुलाकी सडक निर्माणको गति सुस्त : पाँचौँ पटक थपेको म्याद असार मसान्तमा सकिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २२ २०८०
images
images
हुलाकी सडक निर्माणको गति सुस्त : पाँचौँ पटक थपेको म्याद असार मसान्तमा सकिँदै

३० महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव ५ किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ। कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो हुलाकी सडक निर्माणको २०७३ फागुनमा सम्झौता भएको थियो।

images
images

कञ्चनपुर- कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ। झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो। 

images
images
images

ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो। उक्त म्याद सकिन लागेको छ। ३० महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव ५ किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ। कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो हुलाकी सडक निर्माणको २०७३ फागुनमा सम्झौता भएको थियो।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारका अनुसार पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिँदै छ। तीन प्याकेजमा निर्माण गर्न सम्झौताको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक सम्पन्न भएको छ। उनले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए। 

'यसअघि एक वर्ष म्याद थपिएको हो', इन्जिनियर सुनारले भने, 'यस पटक कारबाहीको प्रक्रियामा जाने सम्भावना छ।' पहिलो प्याकेजको निर्माण ३६ करोड ४७ लाखमा शर्मा-राजेन्द्र जेभीले पाँचौँ पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको छ।

images

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। उक्त कामको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस-सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ। सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न दिएको छैन। 

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी-दैजी) २२ किलोमिटरमध्ये साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले जानकारी दिए। 'दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ', उनले भने, 'ठेक्का सम्झौता भएयता ३८ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ।'

निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक-पटक दबाब दिए पनि सुनुवाइ भएन। यहाँको बेलौरी नगरपालिका-८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताए।

'हरेक दिन स्थानीयले सडक निर्माणबारे वडामा आएर  ताकेता गर्दैआएका छन्', उनले भने, 'सडक बनाउन सामग्री थुपारेको छ, निर्माणमा चासो दिएको छैन।' उनले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक बनाउन रोकेको बताए। 'रोकिएको सडक निर्माण गर्न भारतीय पक्षसित छलफल चलाउनुपर्छ', वडाध्यक्ष रानाले भने। सो क्षेत्रमा भारतले बिजुलीका पोलसमेत गाड्न दिएको छैन। रासस


प्रकाशित : शुक्रबार, असार २२ २०८००५:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend