काठमाडौं- कोभिड महामारीले थला परेको पर्यटन क्षेत्र लयमा फर्कंदै छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको 'पर्यटन तथ्यांक २०२२' रिपोर्टले पर्यटनमा आशाको किरण देखाएको छ।
कोभिडका कारण पर्यटन तथा नागरिक उड्डयन क्षेत्र शून्यमा झरेको अवस्था थियो। कोभिड कम हुँदै गएपछि २०२२ मा ६ लाख १४ हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए। यो संख्या २०२३ को ६ महिनामा करिब पाँच लाख पुगिसकेको छ। यो वर्ष संख्या बढेर १० लाख पुग्ने आधार तय भइसकेको छ।
कोभिडकै समयमा मन्त्रालयले गरेको अध्ययनमा पर्यटन क्षेत्रको व्यापार आधा खर्बले घटेको थियो।आम्दानीसँगै पर्यटन क्षेत्रका फस्टाउँदो लगानीसमेत ब्रेक लागेको थियो। पुन: पर्यटन क्षेत्र चलायमान हुन थालेपछि रोकिएका नयाँ लगानीसमेत बढ्न थालेको छ।
कोभिडकै कारण आधा दर्जन पाँच तारे होटलको निर्माण रोकिएको थियो भने कतिपयले प्रोजेक्ट होल्ड गरेका थिए। अहिले विस्तारै नयाँ होटलमा समेत लगानी बढ्दो छ। चालु आर्थिक वर्षको ११ महिनामा नै होटल क्षेत्रमा २३ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।
यसैगरी २०२२/२३ को पहिलो ७ महिनामै २४ करोड ७८ लाख डलर (३२ अर्ब २३ करोड रुपैयाँ) पर्यटनबाट वैदेशिक मुद्रा आर्जन भएको रिपोर्टमा उल्लखे छ। जब कि २०२१/०२२ मा पूरै वर्षमा २६ करोड ८५ लाख डलर मात्रै भित्रिएको थियो।
पर्यटनबाट सबैभन्दा धेरै २०१८/२०१९ मा ६६ करोड ७७ लाख डलर विदेशी मुद्रा आर्जन भएको थियो।
मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा होटलको संख्या र बेडको संख्या बढेको छ। रिपोर्टअनुसार २०२१ सम्म नेपालभर तारे होटलको संख्या १६२ थियो। यो संख्या २०२२ मा बढेर १७३ पुगेको छ। जुन ६.८ प्रतिशतले बढी हो। पर्यटकीय स्तरीय होटलको संख्या ११ सय ८३ बाट बढेर १२ सय २८ पुगेको छ। तारे र पर्यटक स्तरीय होटलको बेड संख्या ४३ हजार ४ सय १२ बाट बढेर ५३ हजार ३ सय ६५ पुगेको मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।
बढी पर्यटक बोक्ने एयरलाइन्समा कतार अगाडि
२०२२ मा नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी पर्यटक कतार एयरवेजबाट आएका छन्। दोस्रोमा नेपाल एयरलाइन्स र तेस्रोमा हिमालय एयरलाइन्स रहेका छन्। साथै चौथोमा फ्लाइ दुबई र पाँचमा इन्डिगो रहेका छन्।
२०२२ मा नेपाल भ्रमणमा आएका पर्यटकमध्ये विदा मनाउने आउने सबैभन्दा बढी छन्। ३ लाख ९७ हजार ८ सय २ पर्यटक विदामा मनाउने आएका थिए भने ६१ हजार ७ सय ३ ट्रेकिङ तथा आरोहण, ७९ हजार १ सय ४६ पर्यटक धार्मिक प्रयोजन र बाँकी ७६ हजार २ सय २ विभिन्न प्रयोजनका लागि नेपाल आएका थिए।
२०२२ मा ३१२ टिमबाट २४ सय ५१ जनाले विभिन्न हिमाल आरोहण गरेका थिए। जसमा पुरुष १९ सय ४ र महिला ५ सय ४७ थिए। जसमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेमा ७५ महिलासहित ३३० जना रहेका थिए। सो वर्ष सबैभन्दा धेरै ५ सय ७७ जनाले आमादब्लम हिमाल आरोण गरेका थिए।
कुन क्षेत्र भ्रमण गर्ने कति पर्यटक?
सन् २०२२ मा सबैभन्दा बढी पर्यटकको आकर्षण राष्ट्रिय निकुञ्ज तथा जंगल पर्यटनमा देखिएको छ। नेपाल कुनै बेला जंगल पर्यटनको पायोनियर समेत हो। अहिले जंगल पर्यटनमा केही कमी आएको छ। २०२२ मा ७५ हजार ६ सय ८ पर्यटक राष्ट्रिय निकुञ्ज तथा जंगल पर्यटनमा लागि आएका छन्।
दोस्रो बढी पर्यटक पशुपति भ्रमणमा रहेको देखिन्छ। पशुपति भ्रमणमा आउनेको संख्या ५५ हजार २ सय ४ रहेको छ। यसैगरी लुम्बिनी भ्रमणमा आउनेको संख्या २३ हजार ९ सय ४२ जना रहेको छ। यो संख्या भारतीय पर्यटक जोडिएको छैन। यसैगरी मनास्लु ट्रेकिङमा ५ हजार ८ सय ९०, मुस्ताङ ३ हजार ३ सय ८७,हुम्लामा १४ सय ४२,तल्लो डोल्पा ७ सय ८६ जना ट्रेकिङमा गएका छन्।
सन् २०२२ मा नेपाल भ्रमणमा आएकामध्ये २३ हजार ९ सय ४२ जना लुम्बिनी भ्रमण गरेका छन्। जसमा सबैभन्दा धेरै भियतनामबाट ६ हजार ९ सय २३ जना रहेका थिए।