काठमाडौं- गत ११ गते ७ दिनको समय राखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधे। जसमा ९ वटा प्रश्नसहित ७ दिनभित्र जवाफ दिनु भन्दै पत्र पठाइएको थियो। महानिर्देशक अधिकारीले आजसम्म पनि स्पष्टीकरण दिएका छैनन्। उनले गोप्य विषय समाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भन्दै स्पष्टीकरण नदिने अडान राखेका छन्।
मन्त्री किरातीले दोस्रो स्पष्टीकरण सोध्ने नसोध्ने निर्णय भने लिइसकेका छैनन्। तर महानिर्देशक अधिकारीले सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन दिने मन्त्रीको निर्णय नै खारेज गरेर असम्भव भएको पत्र मन्त्रालयमा पठाइसकेका छन्। हेलीपोर्ट बनाउन नदिने जनाउ दिएपछि मन्त्रीले ९ विषय राखेर स्पष्टीकरण सोधेका थिए। जसमा अधिकांश अहिलेका महानिर्देशक अधिकारीभन्दा पनि तत्कालिन महानिर्देशकहरूकै प्रस्तावमा सञ्चालक समितिले पास गरेको थियो।
तत्कालिन महानिर्देशक सञ्जिव गौतमको समयमा भएको निर्णयलाई अहिले मन्त्रीले सोधेको स्पष्टीकरणको आधार बनाइएको छ। अहिले सोधिएको ७, ८ र ९ नम्बरको प्रश्नका विषय तत्कालिन महानिर्देशकहरूले नै सदर गराएका थिए। विमानस्थलको डिजाइनअनुसार सबै निर्णयहरू २०७५ सञ्चालक समितिले गरेको थियो।
‘उक्त समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइनको आधारमा नै फाइलहरू सदर भएका हुन्,’ तत्कालिन महानिर्देशक गौतमले भने। कस्ता विषय थिए भन्ने सबै जानकारी अहिले आफूलाई थाहा नभएको समेत गौतमले बताए।
मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधिएको ७ नम्बर बुदाँमा महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनासम्बन्धी उपशीर्षक (८९२) मा उल्लेख भएको विमानस्थलको रनवेको पूर्वतर्फ १५ कि.मी. मा रहेको छिनेडाँडाको उचाइ ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन-वे को उचाइ कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको, रन-वे को उचाइ घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुंगा माटो निर्माण व्यवसायीले वाह्य डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवेस (ढुंगा सहितको ग्राभेल उक्त रन वेमा नै प्रयोग गरेको अवस्था देखियो भन्ने उल्लेख छ। रन-वे को उचाइ घट्नुको कारण के हो? रन-वेको उचाइ घटाउँदा डाँडाको उचाइ बढी काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको देखिन्छ। हवाई सुरक्षामा समेत यसबाट प्रतिकुल असर पर्ने देखिएकोले यस्तो कार्य किन गरिएको हो? भन्ने विषय स्पष्ट पार्न पत्रमा उल्लेख गरेका छन्।
त्यस्तै स्पष्टीकरण सोधिएको ८ नम्बर बुदाँमा महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन, २०७९ को पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उपशीर्षकको बुँदा नं. ८९३ मा उल्लेख भएको विमानस्थल निर्माण कार्यका लागि प्राधिकरण र निर्माण व्यवसायीबीच भएको सम्झौतामा प्रोभिजनल सम वापत अमेरिकी डलर ९० लाख व्यवस्था गरेकोमा सो रकम घटाइ अमेरिकी डलर ३१ लाख ७० हजार कायम गरेको छ। निर्माण व्यवसायीले परामर्शदाताको व्यवस्था गर्न बिओक्यूमा समावेश भएको अमेरिकी डलर २८ लाखलाई घटाइ सो आइटममा व्ययभार बढ्ने गरी छुट्टै परामर्शदाता नियुक्ति गरेको पाइयो। सम्झौतामा नै परामर्श सेवा वापतको खर्चको व्यवस्था रहेको भएता पनि प्राधिकरणले त्यसैबाट खर्च नगरी छुट्टै सम्झौता गरी प्राधिकरणको बजेटबाट खर्च हुने गरी डिजायन रिभ्यूको लागि परामर्श सेवाका लागि अर्को परामर्शदातासँग ३७ करोड ९५ लाख ९० हजारमा सम्झौता भएको देखिन्छ। सम्झौता गर्दाका बखत प्रतिअमेरिकी डलर ८२००९ को दरले परामर्श खर्चको लागि ईपीसीमा २२ करोड ९८ लाख ५२ हजार बराबरको खर्चको व्यवस्था भएता पनि छुट्टै सम्झौताअनुसारको रकम पहिले गरेको अनुमानभन्दा ६५.१५ प्रतिशतले बढी हुनुले निर्माणमा मितव्ययिता कायम भएको देखिएन। सबै विषयहरू सोही समयमा निर्णय भएका थिए।
सुपरभिजन कन्सल्टेन्सी सेवाको ठेक्कामा प्रोभिजनल समवापत १९ करोड ५२ लाखको व्यवस्था गरेको देखिन्छ। परामर्श सेवाको ठेक्कामा ५३ प्रतिशत भार प्रोभिजनल सममा राखेको औचित्यपूर्ण देखिएन भन्ने विषयमा तपाईंको भनाइ के छ? यसरी छुट्टै सम्झौता गरी प्राधिकरणलाई गम्भीर हानी नोक्सानी किन पुर्याएको हो? भन्ने प्रश्न सोधिएको छ। उक्त निर्णय पनि तत्कालिन समयमा नै भएको थियो।
त्यस्तै स्पष्टीकरण सोधिएको ९ नम्बर बुदाँमा नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७२।०४।०२ को यस मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा पोखरा महानगरपालिका वडा नं. १५ कोलपाटनमा नेपाल खानेपानी संस्थानद्वारा जाइकाको सहयोगमा निर्माणाधीन खानेपानी ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थलको इी भित्र पर्ने भएकाले यथाशीघ्र सो ट्याङ्कीको उचाइ २० मिटरबाट घटाएर १५.५७ मिटर वा कम कायम गर्ने व्यवस्थाका लागि कारवाही अघि बढाइदिन भनि उल्लेख भएको। महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९२) मा उल्लेख भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिने डाडाको उचाइ ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन-वे को उचाइ कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भए जस्तै रन-वे को उचाइ घटाउँदा सो पानी ट्याङ्कीको समेत उचाइ घटाउनु पर्ने अवस्था सिर्जना भएको देखिन्छ। पानी ट्याङ्कीको उचाइ घटाउनु पर्ने भएबाट राज्यलाई परेको र पर्न सक्ने नोक्सानीको जिम्मेवारी तथा जवाफदेहिता तपाईंले लिनु किन नपर्ने? भन्ने प्रश्न सोधिएको छ। तर उक्त निर्णय पनि विगतकै सञ्चालक समितिले गरेको थियो।