शुक्रबार, असोज ४ गते २०८१    
images
images

ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउन सांसदको माग

images
बुधबार, असार १३ २०८०
images
images
ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउन सांसदको माग

सांसद राजेन्द्रकुमार केसीले ढिलै भए पनि सरकारले ललित निवास जग्गा प्रकणको फाइल खोलेकामा धन्यवाद दिँदै जग्गा प्रकरणका मुख्य दोषी नउम्किने गरी कानूनी प्रक्रिया अगाडि बढाउन माग गरे।

images
images

काठमाडौं- सांसदहरुले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरुले ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई पनि कारबाही गर्न सरकारसंग माग गरेका छन्।

images
images
images

सांसद राजेन्द्रकुमार केसीले ढिलै भए पनि सरकारले ललित निवास जग्गा प्रकणको फाइल खोलेकामा धन्यवाद दिँदै जग्गा प्रकरणका मुख्य दोषी नउम्किने गरी कानूनी प्रक्रिया अगाडि बढाउन माग गरे। उनले भने, 'ललिता निवास जग्गा प्रकरणमा साना माछा समातिँदैछन् त्यसमा संलग्न ठूला माछाहरु समातिन्छन् कि समातिँदैनन् चिन्ता थपिएको छ, त्यसप्रति गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु।'

सांसद रामहरि खतिवडाले ‘ललिता निवासमा साना माछा ढोक्सामा पर्ने कुरा आएको छ, ठूला माछा पनि ढोक्सामा परून्’ भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद भानुभक्त जोशीले संघीय शिक्षा ऐनमा रहेको व्यवस्थाबमोजिम आन्दोलनरत शिक्षकको समस्या सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद मनबहादुर गुरुङले केही दिनअघि परेको अविरल वर्षाका कारण पोखरा वडा २६ स्थित रिट्ठेपानी डाडाँको पश्चिम दक्षिणतर्फबाट पहिराले स्थानीयवासी नरबहादुर, अनिता र दिलबहादु भण्डारीको घर उच्च जोखिममा परेको, घरसँगै जोडिएको धनसार भत्किएको, दुई गाईको बाच्छीको मृत्यु भएको र सयौँ रोपनीमा सिँचाइको पक्की कुलोसमेत बगाएकाले पीडितहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिको माग गरे।

images

सांसद महेशकुमार बर्तौलाले देशभरका तीन सय १३ भन्दा बढी पालिकामा स्वास्थ्य मन्त्रालयमार्फत काज र समायोजनमा खटिएका कर्मचारीले १३ महिनादेखि तलब नपाएको जनाउँदै दुई हजारभन्दा बढी कर्मचारीको अविलम्ब तलब पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद रेखा यादवले माइतीघरमण्डलामा धर्नारत सामुदायिक विद्यालयका कर्मचारीको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसंग माग गरिन्। सांसद महेश बस्नेतले कानून विपरीत नक्सापास नगरी भवन बनाउने प्रवृत्ति बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न माग गरिन्। सांसद माधव सापकोटाले विनियोजन विधेयकको प्रक्रिया सम्पन्न भएलगत्तै सरकारले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप योगको विधेयक टेबुल गरिसकेको भन्दै अर्को अधिवेशन नकुरीकन यो संवेदनशील विषयलाई टुंगो लगाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

साथै, संघीय निजामती कर्मचारी सेवा ऐन, संघीय शिक्षक ऐन, संघीय प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण विधेयक चालु अधिवेशनबाट सम्पन्न गरी संघीयताको प्रभावकारी कार्यान्वयनको सन्देश दिनेगरी काम गर्न माग गरे।

सांसद मानवीर राईले सोलुखुम्बुको सल्लेरीमा किराँती समुदायले चन्दा उठाएर ११ रोपनी जग्गा खरिद गरी किरात सङ्ग्रहालयका लागि क्रमगत योजना र बजेट परेको तर, यो वर्ष बजेट कटौती गरिएको जनाउँदै बजेट व्यवस्था गर्न आग्रह गरे। साथै, सल्लेरीबाट खुम्बुसम्म जाने दमार्ग जाने पदमार्गका लागि बजेट विनियोजन गर्न पनि उनले माग गरे।

सांसद मेनुका कुमारी पोखरेलले बर्खा लागेसँगै किसान खेतीपातीको चटारोमा रहेको र मलखाद नपाएर उनीहरु भौँतारिरहेको जनाउँदै उनीहरुलाई पर्याप्त मलखादको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद मैना कार्कीले संविधानमा मौलिक हकका रुपमा व्यवस्था भएको नागरिकले आफ्नै जिल्लामा विशेषज्ञ चिकित्सकबाट कहिले स्वास्थ्य सेवा पाउँछन् भनी सरकारसँग प्रश्न गरिन्। सांसद मंगलप्रसाद गुप्ताले संघीय निजामती कर्मचारी ऐन नहुँदा संघीयताको कार्यान्वयनमा असर परेको, कर्मचारी व्यवस्थापन नहुँदा सुशासन खस्केको र भ्रष्टाचार र अनियमितता बढेको भन्दै तत्काल उक्त ऐन बनाएर लागु गर्न माग गरे।

सांसद रघुजी पन्तले अहिले दैनिकजसो पटक-पटक बिजुली जाने गरेको जनाउँदै उत्पादित विद्युत्को खपत र बिक्री वितरणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद रणकुमारी बलम्पाकी मगरले त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल नजिकै राहदानी विभाग परिसरमार सयौँले खैनी चुरोट खाएर पानीका बोतल जथाभावी फालेको र यसले विद्यालय शान्ति क्षेत्रको अवधारणाको खिल्ली उडाएको जनाउँदै  कि त विभागभित्रै लाइन लगाउने या त अनलाइनमार्फत घरघरमा राहदानी पुर्‍याउने व्यवस्था मिलाउनुपर्ने धारणा राखिन्।

सांसद रमा कोइराला पौडेलले विसं २०७० मा वैदेशिक रोजगारीका लागि मलेसिया गएका जुम्ला हिमा गाउँपालिकाका यामलाल परियारको मलेसियामा निधन भएको जनाउँदै उनको शवसँगै बीमालगायत सम्पूर्ण सुविधासहित स्वदेश ल्याउन पहल गरिदिन आग्रह गरिन्।

सांसद रञ्जुकुमारी झाले मनसुनको सुरुआतमै देशले पूर्वका जिल्लामा जनधनको क्षति भएको, मनसुनबाट हुनसक्ने क्षतिको पूर्वतयारीको अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्। सांसद राजेन्द्रकुमार राईले चार वर्षदेखि धनकुटाको पाख्रिबास मुगा-भोजपुर सडकखण्ड सुरु भएको र यो पटक बजेट कटौती भएको जनाउँदै तत्काल रुपमा बजेट विनियोजन गर्नुपर्ने बताए।

सांसद लीलानाथ श्रेष्ठले खेतीबालीको समयमा मलखादको व्यवस्था मिलाउन र सनसुन चलिरहेकाले सम्भावित विपद्जन्य जोखिम नियन्त्रणका लागि सबै संयन्त्रलाई तयारी राख्नुपर्ने बताए। सांसद लेखनाथ दाहालले जमिनको वैज्ञानिक वर्गीकरणका लागि भू-उपयोग नीति बनो कि बनेन, कित्ताकाट किनबेज प्रक्रियामा अनियमितता भएको भनी सञ्चारमाध्यममा आएको जनाउँदै सम्बन्धित मन्त्रालयले छानबिन गरी घटनामा दोषीलाई कारबाही गर्न माग गरे।

सांसद मञ्जु अन्सारीले नागरिकता पाउन वञ्चित नागरिकलाई सहज रुपमा नागरिकता पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्। सांसदहरु रामशंकर यादव, रामप्रकाश चौधरी, रुक्मणी राणा बराई लगायतले समसामयिक विषयमा धारणा राखेका थिए। रासस


प्रकाशित : बुधबार, असार १३ २०८००९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend