मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

खानी छन्, तर उत्खननको योजना छैन

images
बुधबार, असार १३ २०८०
images
images
खानी छन्, तर उत्खननको योजना छैन
फाइल तस्बिर

गलकोटको पाण्डवखानी र दुदिलाभाटीमा तामाखानी र सुनखानी, ताराखोला गाउँपालिकामा ढुंगाखानी, ढोरपाटनको लुकुरवनमा फलामखानी, बागलुङ नगरपालिकाको तित्याङमा तमाखानी, जैमिनी नगरपालिकाको राङखानी, दमेकमा तामाखानी, बडिगाड गाउँपालिकाको सिसाखानीमा सिसाखानी र भीमगिठेमा फलामखानी रहेको बताइन्छ। ती सबै खानी अहिले गुमनाम छन्।

images
images

ढोरपाटन- बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन्। कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन्। खानीबाटै जिल्लाका धेरै ठाउँको नामकरणसमेत भएका छन्। प्रशस्त मात्रामा खानी हुँदा पनि अहिलेसम्म उत्खनन हुन सकेका छैनन्। धेरै ठाउँमा तामाखानी छन् भने केही ठाउँमा फलाम र सिसाखानी रहेको स्थानीयले दाबी गर्दै आएका छन्।

images
images
images

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी रहेका छन्। धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुंगाखानी पनि छन्। ढुंगाखानी केही स्थानमा उत्खनन हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन हुन सकेका छैनन्।

images
images

चार वर्ष अगाडि सरकारले सम्भावना रहेको स्थानमा खानी सञ्चालन गर्ने घोषणा गरेपछि बागलुङ नगरपालिका-९ तित्याङमास्थित तामाखानी पुनःसञ्चालन गर्नका लागि नगरपालिकाले अध्ययन थालेको थियो। खानी विज्ञको समूहले सम्भावना औँल्याएपछि २०७६ सालमा नगरपालिकाले शुभम् ग्रुपसँगको साझेदारीमा धातुको अनुसन्धानको काम सुरु गरेको थियो।

images
images
images

शुभम् ग्रुपले चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा मेसिन नै प्रयोग गरेर खानी परीक्षणको काम गरेको थियो। तर अहिलेसम्म त्यसको रिपोर्ट के-कस्तो आयो भन्ने यकिन भएको छैन। तमानखोला गाउँपालिका-६ नर्जाखानी गाउँभरि तामाखानी छ।

यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खनन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ। यहाँका छन्त्याल जातिले खानीबाट तामा निकालेबापतको कर राणा शासकलाई तिर्न नसकेपछि बन्द भएको स्थानीय ओमबहादुर छन्त्यालले बताए। बुवा र हजुरबुवाले गाउँमै तामा उत्खनन गरी बिक्री-वितरण गरी जीवन निर्वाह गर्दै आएको उनले सुनाए। बारी तथा पाखाभरि पहिले तामा निकालेका खाडल नर्जाखानी क्षेत्रमा रहेको र पहिरो जाँदा तामाका टुक्रा भेटिने गरेको छन्त्याल बताउँछन्। सरकारले तामाखानी उत्खनन गर्न सके स्थानीयसँगै राज्यको ठूलो आम्दानीको स्रोत बन्न सक्ने उनको भनाइ छ।

'यो ठाउँ पूरै तामैतामाले भरिएको छ, गाउँलेले निकाल्न सक्ने अवस्था छैन, हाम्रा अग्रजले तामा निकालेका ठाउँ जहाँतहीँ भेटिन्छन्, बारीमा, वनजंगलमा र खनजोत गर्दा पनि तामा भेटिन्छ', छन्त्यालले भने, 'उत्खनन गरे स्थानीयले गाउँमै रोजगार पाउन सक्थे, रोजगारीका लागि अरुको भूमिमा भौँतारिनुपर्ने थिएन, मुलुकका लागि पनि आर्थिक विकासमा टेवा पुग्ने थियो।'

तमानखोला गाउँपालिकाले खानी उत्खननका लागि बजेटको व्यवस्थापन गरेको छैन। खानी विभागबाटै यहाँका अध्ययन र परीक्षण गर्न थालेपछि पालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने अध्यक्ष जोकलाल बुढामगर बताउँछन्। तमानखोलामा मात्रै फलामखानी, तामाखानी र झल्कने ढुंगाखानी रहेको तथा खानीका बारेमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी सञ्चालन गर्ने नीति बनाएको उनको भनाइ छ।

बागलुङ नगरपालिका-९ तित्याङको तामाखानीमा चार वर्ष अगाडि आएको चिनियाँ प्राविधिक टोलीले दुई ठाउँमा सुरुङ खनेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए। प्राविधिक टोलीले तामाखानीमा के-के काम गर्यो, परीक्षणपछि कस्तो रिपोर्ट आयो भन्ने अहिलेसम्म खानी विभागले नगरपालिकालाई जानकारी नगराएको उनले बताए। खानी विभागलाई तत्काल रिपोर्ट बुझाउन माग गरिरहेको उपप्रमुख खड्का बताउँछन्।

उनी भन्छन्, 'आगामी वर्षका लागि नगरपालिकाले खानी उत्खनन भनेर बजेट त विनियोजन गरेको छैन, तर माथिल्लो निकायसँग सहकार्य गरेर काम गर्छौँ, केही बजेट व्यवस्थापन पनि गर्छौँ, उत्खननका लागि परीक्षण त सुरु भएको थियो, अहिले बन्द भएको छ, पहिले आएको प्राविधिक टोलीले के-के फेलापर्‍यो भन्ने सबै विवरण आएको छैन, खानी विभागलाई यहाँ भएको कामका बारेमा प्रतिवेदन माग गरेका छौँ, त्यो प्रतिवेदनमा कस्तो ‘रिजल्ट’ आउँछ, त्यसपछि अन्य काम गर्छौँ।'

काठेखोला गाउँपालिका-३ धम्जा ओखले र वडा नं ८ लेखानीमा तामाखानी, तमानखोला गाउँपालिकाको नर्जाखानी, खुङ्खानी, ढोरपाटन नगरपालिकाको घोषाखानीमा तामाखानी रहेका छन्।

गलकोटको पाण्डवखानी र दुदिलाभाटीमा तामाखानी र सुनखानी, ताराखोला गाउँपालिकामा ढुंगाखानी, ढोरपाटनको लुकुरवनमा फलामखानी, बागलुङ नगरपालिकाको तित्याङमा तमाखानी, जैमिनी नगरपालिकाको राङखानी, दमेकमा तामाखानी, बडिगाड गाउँपालिकाको सिसाखानीमा सिसाखानी र भीमगिठेमा फलामखानी रहेको बताइन्छ। ती सबै खानी अहिले गुमनाम छन्। खानी उत्खननतर्फ कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ। रासस


प्रकाशित : बुधबार, असार १३ २०८००४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend