शुक्रबार, असोज ४ गते २०८१    
images
images

रुपन्देहीका पालिकाको बजेट : कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनमा प्राथमिकता

images
सोमबार, असार ११ २०८०
images
images
रुपन्देहीका पालिकाको बजेट : कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनमा प्राथमिकता

बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइमा तीन करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा दुई अर्ब १५ करोड ९५ लाख रूपैयाँ विनियोजन प्रस्ताव गरिएको छ।

images
images

लुम्बिनी- आर्थिक वर्ष २०८०/०८१ का लागि रुपन्देहीका प्राय सबै पालिकाले आइतबार बजेट सार्वजनिक गरेका छन्। 

images
images
images

बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन्। भौगोलिकरुपले जिल्लामा सबैभन्दा ठूलो तिलोत्तमा नगरपालिकाले आइतबार आगामी आवको लागि दुई अर्ब ७३ करोड ८४ लाख ३९ हजार पाँच सय २९ रूपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपप्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत गरेको बजेटमा चालु खर्च एक अर्ब छ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पुँजीगत खर्च एक अर्ब ६७ करोड ५९ लाख ८९ हजार रूपैयाँ अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ।

बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार रूपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ। यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७७ करोड ९१ लाख ४४ हजार पाँच सय २९ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजिनक गर्दै उपप्रमुख चौधरीले जानकारी दिए।

images

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताए। बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइमा तीन करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा दुई अर्ब १५ करोड ९५ लाख रूपैयाँ विनियोजन प्रस्ताव गरिएको छ।

यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख रूपैयाँ, लैंगिक समानता तथा सामाजिक समवेशीकरणतर्फ तीन करोड ६५ लाख ५९ हजार रूपैयाँ बजेट प्रस्ताव गरिएको छ।

यस्तै सिद्धार्थनगर नगरपालिकाले आइतबार एक अर्ब १३ करोड ४१ लाख ४२ हजार रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख उमा अधिकारीले पालिकाको १३औँ नगरसभामा सार्वजनिक गरेको बजेट चालु आवभन्दा २१ करोड रूपैयाँले कम रहेको छ। चालु आवमा एक अर्ब ३४ करोड रूपैयाँ आम्दानी हुने लक्ष्य राखिए पनि ९४ करोड रूपैयाँ मात्र आम्दानी भएकाले बजेटको आकार घटाउनुपरेको उपप्रमुख अधिकारीले बताइन्।

बजेटमा संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, सशर्त अनुदानमा २८ करोड ५४ लाख, समपुरक अन्दान ८० लाख , विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँटमा १० करोड ४३ लाख ४६ हजार रूपैयाँ आम्दानी हुने नगरपालिकाको प्रक्षेपण रहेको छ। यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान ८६ लाख ५० हजार, राजस्व बाँडफाँटबाट ८६ लाख ८० हजार ४ सय १३, समपुरक अनुदान एक करोड ५० लाख रूपैयाँ रहने नगरपालिकाले जनाएको छ।

नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा सञ्चालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम पाँच करोड, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार पाँच सय ८७ गरी एक अर्ब १३ करोड ४१ लाख ४२ हजार रूपैयाँ हुने अनुमान गरिएको छ।

रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आव २०८०/०८१ का एक अर्ब १० करोड ५२ लाख ६८ हजार सात सय ७४ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १३औँ नगरसभामा उपप्रमुख विना राना मगरले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको प्रवर्द्धन, सामाजिक विकास, पर्यटन प्रवर्द्धन र शिक्षा क्षेत्रको विकासमा प्राथमिकता दिएको बताइन्।

बजेटमा स्वास्थ्य क्षेत्रमा संघीयय सरकारबाट शसर्तरुपमा स्वास्थ्यतर्फ विनियोजन गरेको जम्मा दुई करोड ५६ लाख ८८ हजार र प्रदेश सरकारबाट स्वास्थ्यतर्फ विनियोजन गरेको जम्मा २० लाख रूपैयाँमा नगरपालिकाबाट तीन करोड छ लाख ३९ हजार थप गरी जम्मा छ करोड ८३ लाख २७ हजार रूपैयाँ विनियोजन गरिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनी रहेको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि आइतबार एकै पटक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको ११औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको हो।

बजेटमा समानीकरण अनुदानतर्फ १७ करोड ३१ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ३२ लाख, राजस्व बाँडफाँटतर्फ १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदानतर्फ एक करोड ३० लाख रूपैयाँको अनुमान गरिएको छ।

यस्तै प्रदेश सरकार समानीकरण अनुदानतर्फ एक करोड ३१ लाख ६७ हजार, सशर्त अनुदान एक करोड ११ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत तीन करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान एक करोड ५० लाख रूपैयाँ रहेको छ। 

साथै, गत वर्षको बैंक मौज्दात तीन करोड, सडक बोर्डतर्फ ४० लाख गरी आगामी वर्ष २०८०/०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। आव २०७९/०८० को असार १० गतेसम्म आइपुग्दा कुल बजेटको ४५ दशमलव १३ प्रतिशत पुँजीगत खर्च र ७६ दशमलव ७८ प्रतिशत चालुतर्फ खर्च भएको जनाइएको छ।

नगरपालिकाको ११औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागि प्रस्तुत नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ।

यस्तै जिल्लाको ओमसतिया गाउँपालिकाको १३औँ गाउँसभाले आव २०८०/०८१ ४७ करोड ६६ लाख ९६ हजार एक सय सात रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले राजस्वबाट १४ करोड आठ लाख ७५ हजार एक सय सात, आन्तरिक स्रोतबाट तीन करोड ५० लाख, जिससबाट प्राप्त अनुदान एक करोड ४० लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १० करोड ४४ लाख ७५ हजार एक सय सात, संघीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबापत २८ करोड ९० लाख, प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत दुई करोड ६८ लाख २१ हजार तथा गत वर्षको नगद मौज्दात दुई करोड गरी ४७ करोड रूपैयाँ बढीको बजेट पेश गरिएको थियो।

रुपन्देहीको सियारी गाउँपालिकाले आगामी आव २०८०/८१ का लागि ६१ करोड ५० लाख ३१ हजार आठ सय ३० रूपैयाँ बराबरको बजेट पेश गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट चार करोड, राजस्व बाँडफाँटतर्फ स्थानीय राजस्व बाँडफाँटबाट छ करोड ७५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ४० लाख ५३ हजार छ सय ३० र संघीयय राजस्व बाँडफाँटबाट नौ करोड ४७ लाख ८३ हजार दुई सय, संघीय सरकार वित्तीय हस्तान्तरणबाट ३८ करोड तीन लाख र प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट दुई करोड ८३ लाख ९५ हजार रूपैयाँ आउने अनुमान गरिएको छ।

आर्थिक विकासको क्षेत्रमा सशर्त अनुदानबाट दुई करोड १५ लाख ९० हजार र गाउँपालिकाका तथा वडातर्फका विभिन्न योजना तथा कार्यक्रममा तीन करोड ४४ लाख ८० हजार गरी जम्मा ५ करोड ६० लाख १९ हजार रूपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष थारुले बताइन्। रासस


प्रकाशित : सोमबार, असार ११ २०८००६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend