शुक्रबार, असोज ४ गते २०८१    
images
images

नारायणगढ-बुटवल सडकखण्डमा सास्ती : घाम लाग्दा धुलो, पानी परे हिलो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ११ २०८०
images
images
नारायणगढ-बुटवल सडकखण्डमा सास्ती : घाम लाग्दा धुलो, पानी परे हिलो

म्यादभित्र आयोजनाको करिब ५० प्रतिशत काम मात्रै सम्पन्न हुने अवस्था छ। हालसम्म पूर्वी खण्डमा जम्मा ३८ दशमलव ५९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ।

images
images

बुटवल- चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ। यसले गर्दा  यात्रुले सास्ती भोग्दै आएका छन्।

images
images
images

योसँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ। यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका कारण पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था रहेको छ। कतिपय पुल निर्माणको क्रममा छन्। यसका कारण डाइभर्सनबाट सवारी पास गर्नुपर्ने अवस्था छ। डाइभर्सन निर्माण गरिएको स्थानमा रातोमाटो हुँदा पानी पर्न साथ बाटो चिप्लो भएर यातायात सञ्चालनमा कठिनाइ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए।

निर्माणको जिम्मा पाएको चाइना स्ट्रेट कर्पोरेसनले भने वर्षा सुरु हुनुपूर्व धेरै स्थानका पुल निर्माण सम्पन्न गरी ‘डाइभर्सन’बाट यात्रा गर्नुपर्ने अवस्था अत्य गरिने दाबी गरेको छ। आयोजनाका प्रमुख राकेश झाका अनुसार केही दिनभित्रमा निर्माण सम्पन्न भएका पुल सञ्चालन गर्ने गरी काम गरिएको छ। पानी पर्दा राजमार्ग बन्द नहोस् भनेर सम्भावित त्यस्ता स्थानमा कामलाई तीव्रता दिइएको उनले बताए।

उनका अनुसार नवलपुर खण्डमा हालसम्म दुवैतर्फ गरी जम्मा १४ किलोमिटर कालोपत्रेको काम सकिएको छ। हाल कावासोती-डण्डा क्षेत्रमा कालोपत्रे गर्ने योजनाअनुसार काम अघि बढिरहेको छ।

images

विद्युतका पोल तथा ट्रान्सफर्मर  हटाउन ढिला हुँदा बजार क्षेत्रको कामलाई छिटो गर्न समस्या भएको उनले बताए। 'राजमार्ग क्षेत्रमा ट्रान्सफर्मर हटाउन तालिका मिलिरहेको छैन, बिदाको दिनमा मात्रै लाइन काटी काम गर्नुपर्ने अवस्था छ, यसले कामलाई अल्झाएको छ', उनले भने। नारायणगढ-बुटवल सडक विस्तार आयोजना विसं २०७५ अघि बढेको थियो।

एक सय १४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ। दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनलाई जिम्मा दिइएको थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिएको छ। पछिल्लो पटक आउँदो भदौसम्मका लागि म्याद थप गरिएको छ।

यस अवधिमा आयोजनाको करिब ५० प्रतिशत काम मात्रै सम्पन्न हुने अवस्था छ। हालसम्म पूर्वी खण्डमा जम्मा ३८ दशमलव ५९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ। नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमवल ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ। दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई  खण्ड ‘ख’ अन्तर्गत राखिएको छ।

सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कुल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरि एसियाली विकास बैंकको ऋण सहयोगमा आयोजना अघि बढाइएको हो। रासस


प्रकाशित : सोमबार, असार ११ २०८००४:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend