शुक्रबार, असोज ४ गते २०८१    
images
images

भरतपुरलाई हरियाली सहर बनाइने, सडक पूर्वाधारलाई प्राथमिकता

images
आइतबार, असार १० २०८०
images
images
भरतपुरलाई हरियाली सहर बनाइने, सडक पूर्वाधारलाई प्राथमिकता

घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्यरुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने नीति महानगरले ल्याएको छ। ‘एक वडा एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

images
images

चितवन- भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ। महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताएकी हुन्।

images
images
images

नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन एक परियोजनाका रुपमा हरियाली प्रवर्द्धन कार्यक्रमको थालनी गरिने उल्लेख छ।

केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकका रुपमा विकास गरिने कार्यक्रममा उल्लेख छ। गोन्द्राङ-पुल्चोक सडकको दायाँबायाँ किनारमा हरियाली प्रवर्द्धन गर्न ठूला हुर्किएका रुख रोपण र संरक्षण गरिने जनाइएको छ। ‘एक घर दुई रुख’को नीति कडाइका साथ कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख गरिएको छ।

घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्यरुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने नीति महानगरले ल्याएको छ। ‘एक वडा एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सबै सँगसँगै’को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवर्द्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक संघ संस्थासँग समन्वय र सहकार्य गरिने कार्यक्रममा उल्लेख छ।

images

वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्‍याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्करूपमा बिरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ।

महानगरको समृद्धि र विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक विकासलाई पनि सँगसँगै अगाडि बढाउन कृषि, वातावरण तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, सिमान्तकृत, लोपोन्मुखलगायतका क्षेत्रको सन्तुलित र दिगो विकासको अवधारणालाई आत्मसात् गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ। फोहरमैला व्यवस्थापन निजी क्षेत्रको सहकार्यमा गर्न अन्तिम चरणमा पुगेको कार्यक्रममा उल्लेख छ।

महानगरलाई सुन्दर र व्यवस्थित बसोबासयुक्त बनाउन मापदण्डविपरीत निर्मित संरचना हटाउने कार्य अगाडि बढाइएको महानगर प्रमुख दाहालले बताइन्। कृषिमा यन्त्रीकीकरण, दूधमा प्रतिलिटर तीन रूपैयाँ अनुदान र छात्रासँग मेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ।

सन् २०२४ मा दुई लाख पर्यटक भित्र्याउने गरी भरतपुर भ्रमण वर्ष मनाउने योजनाअनुरुप सूचना प्रविधिसँग जोड्न महानगरपालिकाभित्रका ३० वटै पर्यटकीय गन्तव्यको सम्पूर्ण जानकारी अंग्रेजी र नेपाली भाषामा दिइने गरी मोबाइल एपको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘व्यवस्थित पूर्वाधार, समृद्धिको आधार’को अवधारणाबमोजिम महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको छ।

सहरी क्षेत्रमा सडक कालोपत्रसँगै प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी मेगा आयोजना सञ्चालनमा ल्याइने भएको छ। ‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ।

‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ गर्ने नीतिअनुरुप विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ। केरुंगा घोल, पुंगी खोलालगायतका खोलालाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने जनाइएको छ। यससँगै अतिक्रमित संरचना हटाइने उल्लेख छ।

नारायणी नदी किनारमा निर्माणाधीन ‘सी बीच मोडेल’सहितको मनोरञ्जन पार्कलाई व्यवस्थित गर्न र थप निर्माण कार्यलाई सम्पन्न गर्न गुरुयोजनाबमोजिम संघ एवं प्रदेश सरकारसँगको साझेदारीलाई निरन्तरता दिइने उनले बताइन्।

महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्धरुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ। विद्यार्थीसँग मेयर कार्यक्रम सञ्चालन गरिने भएको छ।

शिक्षालाई व्यावहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन ‘मौलिक र व्यावहारिक शुक्रबार’ अभियान कार्यान्वयनमा ल्याइने भएको छ। उक्त दिन पाठ्यपुस्तकरहित सिकाइका क्रियाकलाप गरिनेछ।

समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरुवात गरी लक्षित वर्ग, असहाय, अतिविपन्न, ज्येष्ठ नागरिक, सिमान्तकृत, अपांगता भएका व्यक्तिका लागि आवश्यकताअनुसार समुदायका घर तथा टोलमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

असहाय र विपन्न परिवारको पहिचान गरी महानगरपालिकाले नै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ। छोरीसँग मेयर कार्यक्रमअन्तर्गत महानगरभित्र स्थायी बसोबास गरी सरकारी स्वास्थ्य संस्थामा जन्म हुने छोरीका लागि छोरी बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी सहकारी मोडलमा नमुना होमस्टे सञ्चालनमार्फत पर्या-पर्यटन प्रवर्द्धन गरिनेछ। महानगरले अनलाइन सेवा प्रदान गरिरहेका राजस्व प्रणाली, भुक्तानी प्रणाली, नक्सा प्रणाली, गुनासो व्यवस्थापन, पञ्जीकरण, खरिद प्रणाली एवं डिजिटल योजना प्रणालीलगायत सार्वजनिक सेवा प्रवाहसम्बन्धी प्रणालीलाई सेवाग्राही मैत्री तथा प्रविधिमैत्री बनाउने नीति अंगीकार गर्दै थप स्तरोन्नति गरिने भएको छ।

रोजगारी सिर्जना गर्न उद्योगलाई प्रवर्द्धन गर्ने महानगरको नीति तथा कार्यक्रममा जनाइएको छ। रासस


प्रकाशित : आइतबार, असार १० २०८०१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend