शुक्रबार, असोज ४ गते २०८१    
images
images

सडकले मासियो सम्पदा

images
आइतबार, असार १० २०८०
images
images
सडकले मासियो सम्पदा

ठूला वरपिपलका रुख र चौतारीसँगै रहेका पोखरी मासिँदा अहिले पानीका मूल सुक्दै जानुका साथै गर्मीसमेत बढ्दै गएको स्थानीय बताउँछन्।

images
images

गलकोट- बांगेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ। सडक निर्माण मापदण्डअनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन्। 

images
images
images

बागलुङ नगरपालिका-१ रामरेखाको बांगेचौर नजिकै रहेकोे एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा ढलाइएको छ। उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो। 

एक सय ५० वर्षअघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वरपिपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गरे। उनले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको गुनासो गरे। अहिले रामरेखामा मात्रै नभई नयाँ सडक खन्ने र विस्तार गर्ने नाममा पूर्खाको सम्पत्तिका रुपमा रहेका चौतारी र वरपिपल मासिने अवस्थामा पुगेको आचार्यको भनाइ थियो।

'राजमार्गमा परको चौतारी जोगाउन सकिएन, पुर्खाको सम्पत्ति मासियो, हाम्रो मात्रै होइन धेरै स्थानका चौतारी मासिएका छन्, वरपिपल ढलेका देखिन्छन्, वातावरणलाई समेत यसले नकारात्मक असर पारिरहेको छ', उनले भने।

images

आचार्यले स्थानीय सरकारले वरपिपल र चौतारी संरक्षण अभियान ल्याउनुपर्ने बताए। 'अहिले गाउँ-गाउँका सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरी मासेर यातयातका साधन पार्किङ गर्ने स्थान बनाइएको छ', आचार्यले भने, 'ग्रामीण क्षेत्रमा सडक पुर्‍याउने नाममा चौतारी र पोखरी मासिन थालेपछि वातावरणलाई समेत नकारात्मक असर परेको छ।' ठूला वरपिपलका रुख र चौतारीसँगै रहेका पोखरी मासिँदा अहिले पानीका मूल सुक्दै जानुका साथै गर्मीसमेत बढ्दै गएको उनको भनाइ थियो।

आचार्यले सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरीमा डोजर चलाइएको बताउँदै विसं २०५० सालको तुलनामा जिल्लामा सडक सञ्जाल विस्तार भए पनि पुराना सम्पदा बोकेका वरपिपल मासिने क्रम बढे्को बताए। 

गतवर्ष बागलुङ नगरपालिका-३ सिम्लेमा बागलुङ बजारदेखि सिगाना पुर्‍याउने सडक विस्तारका क्रममा ठूलो पिपलको रुख ढलाइएको थियो। अहिले चौतारी र ठूलाठूला वरपिपलका रुख देख्नै मुस्किल भएको स्थानीय बताउँछन्।

स्थानीय चुँडामणि पुन मगरले बागलुङ बजारभित्र रहेका कयौँ चौतारा र पोखरी मासिएको मात्र नभइ सार्वजनिक जग्गा मिचेर व्यक्तिका घर ठडिरहेको गुनासो गरे 'अहिले गाउँ-गाउँका वरपिपल त सडक विस्तारका क्रममा मासिएका छन्। वातावरणीय प्रभावलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका वर र पिपलका रुख क्रमश हराउँदै गएका छन्', उनले भने।

पुन मगरका अनुसार सडक विस्तारका नाममा वरपिपल भएका स्थानमा सवारी गुडेका छन्। उनले भने, 'सर्वजनिक स्थान रहेका रुख सडक विस्तारका क्रममा मासिएका छन्, कतिपयले सार्वजनिक जग्गालाई नीजिकरण समेत गरेका छन्।' यहाँका स्थानीय तह तथा वडा कार्यालयले आफ्नो क्षेत्रमा भएको सार्वजनिक जग्गा, चौतारी, पोखरी र वरपिपल जस्ता सम्पदाको तथ्यांक संकलन नगरेको मगरले गुनासो गरे।

पुर्खाको पौरख र पसिना जोडिएका विषयलाई संरक्षण नगरेर मास्ने कामलाई कदापी स्वीकार गर्न नसकिने वातावरण तथा फोटो पत्रकार आरके अदिप्त गिरीले बताए। 'शहर र गाउँलाई सुन्दर बनाउने भन्दै मौलिकता र संस्कृति मास्न हुँदैन। बिसौनीका रुपमा रहेका चौतारी र छाहरी मास्नु भनेको प्रकृतिमाथि अत्याचार हो', उनले भने, 'पुराना सम्पदा र सभ्यताका सूचक चौतारी र वरपिपलको संरक्षण गर्नु सबैको कर्तव्य हो।'

पूराना सम्पदा मासेर गन्तव्यमा पुग्न नसकिने भन्दै विकासका नाममा मौलिकता बिर्सिन नहुनेमा गिरीले जोड दिए। सडक निर्माण र विस्तारका क्रममा चौतारी र वरपिपल जोगाउन स्थानीयहरुले खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ थियो। गिरीले वातावरण खलबल्याउने विकासले मानवीय सभ्यतानै जोखिममा पारेको बताउँदै सभ्याता, सम्पदा र प्रकृतिलाई जोगाएर मात्रै विकास गर्न आवश्यक रहेको बताए। रासस  


प्रकाशित : आइतबार, असार १० २०८०१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend