शुक्रबार, असोज ४ गते २०८१    
images
images

महोत्तरीका स्थानीय तहको जोड कृषि र पर्यटन

images
आइतबार, असार १० २०८०
images
images
महोत्तरीका स्थानीय तहको जोड कृषि र पर्यटन

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये सातले आ-आफ्नो नगर तथा गाउँसभामार्फत आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटन विकासमा जोड दिएका हुन्।

images
images

महोत्तरी- आर्थिक विकास र समृद्धिका लागि महोत्तरीका स्थानीय तहले कृषि तथा पर्यटन प्रवर्द्धनमा जोड दिएका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट मन्तव्यमार्फत यहाँका स्थानीय तहले कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका हुन्।

images
images
images

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये सातले आ-आफ्नो नगर तथा गाउँसभामार्फत आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटन विकासमा जोड दिएका हुन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम असार १० गते भित्रै सम्बन्धित गाउँ/नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने स्वीकृत तालिकाअनुसार जिल्लाका मटिहानी, जलेश्वर, औरही र रामगोपालपुर नगरपालिकाका साथै एकडारा, महोत्तरी र पिपरा गाउँपालिकाले बजेट मन्तव्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

गत बुधबार नगरसभा सम्पन्न गरेको मटिहानी नगरपालिकाले ४० करोड ३९ लाख आठ हजारको बजेट प्रस्तुत गरेको छ। जलेश्वर नगरपालिकाले ७१ करोड ५३ लाख ८० हजार, औरही नगरपालिकाले ४० करोड ३३ लाख ५९ हजार र रामगोपालपुर नगरपालिकाले ४२ करोड चार लाख रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन्।

images

त्यस्तै, एकडारा गाउँपालिकाले २६ करोड ५६ लाख ६५ हजार रूपैयाँ, महोत्तरी गाउँपालिकाले ४२ करोड ६४ हजार रूपैयाँ र पिपरा गाउँपालिकाले ४६ करोड ७९ लाख ६५ हजार रूपैयाँको अनुमानित आयव्ययसहितको बजेट मन्तव्य र नीति कार्यक्रम प्रस्तुत गरेका छन्।

गाउँ/नगरसभा आयोजना गरेका स्थानीय तहले कृषिलाई आर्थिक विकासको मुख्य आधार औल्याउँदै यसक्षेत्रको विकासका लागि किसानलाई बीउबीजन, मल, कृषि ज्यावल, सिँचाइ, बजार प्रवर्द्धनलगायत विषयमा जोड दिएका छन्। स्थानीय तहले पर्यटन प्रवद्र्धनको विषयलाई पनि उच्च प्राथमिकतामा राखेका छन्। जिल्लामा रहेका जलेश्वर नगरक्षेत्रका प्रसिद्ध धार्मिकस्थल श्री जलेश्वरनाथको मन्दिर र प्राचीन धार्मिक महत्वका वरुण, पुरन्दर र भार्गवसरसहितका मनोरम तलाउलाई संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन्।

जलेश्वर नगरपालिकाले धार्मिक एवं पर्यटकीय महत्व रहेका स्थलको सौन्दर्यवृद्धि र संरक्षण गरिँदै यिनलाई धार्मिक पर्यटनसँग जोड्ने प्रतिबद्धता जनाएको छ। 

मटिहानी नगरपालिकाले यहाँस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीसागर र यहाँका प्राचीन मठमन्दिरको जगेर्ना गर्दै यहाँस्थित तीन सय पाँच वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल), महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस, स्नातकोत्तरसम्मको पठनपाठन हुँदै) लाई शैक्षिक पर्यटनको केन्द्र बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

औरहीले प्रसिद्ध धार्मिकस्थल श्री सोनामाई पिठको संरक्षण गर्ने, रामगोपालपुर नगरपालिकाले यहाँका प्राचीन तलाउको संरक्षण गर्दै आर्थिक विकाससँग जोड्ने प्रतिबद्धता जनाएका छन्। 

यसैगरी महोत्तरी, एकडारा र पिपरा गाउँपालिकाले पनि आफ्नो ठाउँमा रहेका धार्मिक एवं पुरातात्विक महत्वका तलाउ र मठमन्दिरको संरक्षण एवं प्रवर्द्धनलाई जोड दिएका छन्। जिल्लामा गत बुधबारयता स्थानीय तहले स्वीकृत तालिका अनुसार गाउँ/नगरसभा आयोजन गर्दै आएका छन्। कतिपय स्थानीय तहले स्वीकृत तालिकाको अन्तिम दिन आज गाउँ/नगरसभा आयोजना गर्दैछन्। 

संघीय सरकार तथा राष्ट्रिय योजना आयोगको वार्षिक कार्यतालिकामा स्थानीय तहले आगामी वर्षको बजेट आयव्यसहितको नीति तथा कार्यक्रम असार १० भित्र सक्नुपर्ने उल्लेख गरेअनुरुप अहिले स्थानीय तहले गाउँ/नगरसभा आयोजना गरी बजेट प्रस्तुत गरिरहेका छन्। रासस


प्रकाशित : आइतबार, असार १० २०८००७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend