शुक्रबार, असोज ४ गते २०८१    
images
images

सिगानाको सडक स्तरोन्नति, ट्र्याक्टर नजाने बाटोमा गुड्न थाले बस

images
बिहीबार , असार ७ २०८०
images
images
सिगानाको सडक स्तरोन्नति, ट्र्याक्टर नजाने बाटोमा  गुड्न थाले बस

सिगानाको यात्रा सहज भए पनि भाडादर भने बढ्दै गएको स्थानीयले गुनासो गरेका छन्। अहिले वडा कार्यालयसम्म २० मिनेटमा पुगिने यात्रामा दुई सय ५० रूपैयाँ भाडादर छ।

images
images

गलकोट- सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन्। विसं २०७५ मा बागलुङ नगरपालिका-८ सिगानामा सडक पुग्यो। उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो। 

images
images
images

काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्न सक्दैनथे। बर्खामा खच्चडकै भरमा सामग्री ढुवानीको विकल्प थिएन। बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घण्टा बढी समय लाग्दथ्यो। वडा कार्यालयसम्म मुस्किलले एक घण्टामा पुग्ने बाटोमा सडक स्तरोन्नति भएर ग्राभेल भएसँगै अहिले २० मिनेटमै पुग्न सकिन्छ।

विसं २०५४ मा बागलुङ बजारदेखि तीन लाख रूपैयाँ बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुवात भएको तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले बताए। खड्काले सडक खुलेको चार वर्षसम्म ट्र्याक्टर गुड्न नसक्ने सिगानाको सडकमा अहिले ट्याक्सी, बस र टेम्पो गुड्न थालेको बताए।

'सिगानामा सडक ल्याउन सुरुवाती काम आफैबाट भएको थियो, अहिले त सडकका घुम्ती ढलान भइसकेका छन्, बाँकी भागमा कालोपत्र गर्ने सुरसार छ', खड्काले भने, 'वडा कार्यालयसम्म एक घण्टामा मुस्किलले पुग्न सकिने सडकमा अहिले २० मिनेटमै सररर आउन सकिन्छ, यस्तै सडक बौडेचौरसम्म पुर्‍याउन आवश्यक छ।'

images

सिगानाको यात्रा सहज भए पनि भाडादर भने बढ्दै गएको उनले गुनासो गरे। अहिले वडा कार्यालयसम्म २० मिनेटमा पुगिने यात्रामा दुई सय ५० रूपैयाँ भाडादर छ। सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान भएपछि सिगानाको यात्रा छोटिएको हो।

बागलुङ बजारदेखि बोक्सेसम्म गत वर्ष नै कालोपत्र सम्पन्न भइसकेको थियो। अहिले बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक चौडा पार्ने, पक्की नाली बनाउने र अन्य पूर्वाधार निर्माणसँगै एक दर्जन घुम्ती सडक ढलान भए पनि सिगानामा अहिले नियमित बस गुड्न थालेका छन्।

सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन् भने आन्तरिक पर्यटकले ट्याक्सी र अटोरिक्सा लैजान थालेका छन्। निर्माण व्यवसायीले ठेक्का सम्झौता गरेको आठ महिनामै झन्डै ५० प्रतिशत काम सम्पन्न भइसकेका कारण सिगानाको मुहारै फेरिएको हो। सिगानामा २९ करोड रूपैयाँ लागतमा आठ किमी सडक कालोपत्र र ढालान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भए पनि सम्झौताअगावै काम सक्नेगरी सडक निर्माण हुँदा सिगानाको यात्रा सहज भएको हो। 

सिगानामा नियमित यात्रा गर्ने हंस सार्कीले दुई वर्षअघिको सडक र अहिलेको सडकमा कुनै तुलना नहुने गरी सडक स्तरोन्नति भएको बताए। 'उकालो सडक हिउँदमा धुलाम्मे, बर्खामा हिलाम्मे हुन्थ्योे, सडक जीर्ण र नमिलेको थियो', उनले भने, 'अहिले सडकको ग्रेड मिलाउँदा सोझो भएको छ, अहिले सिगाना पुग्न मोटर साइकलमा २० मिनेट मात्रै लाग्छ, बर्खामा मोटरसाइकल फसेर समयमै पढाउन जानसमेत सक्दैनथे, अहिले यात्रा निकै सहज भएको छ।'

निर्माणको काम सुस्त भएपछि अधिकांश स्थानमा निर्माण कम्पनीको चर्को आलोचना भइरहेका सन्दर्भमा यहाँ निर्माण व्यवसायीको कामप्रति स्थानीयले प्रशंसा गरेका छन्। सम्झौताको आठ महिनामै आधा काम सकिनु सिगानावासीका लागि सुखद भएको बताउँदै सडक कालोपत्र सम्पन्नपश्चात् सिगानावासीको मुहारै फेरिने स्थानीय शिव खड्काले बताए।

विसं २०६४ मा काठेखोलामा मोटरेबल पुल निर्माण भएपछि बाह्रैमास सवारीसाधन चल्न थालेको सिगानाको सडकमा २०८० सालदेखि बस तथा ट्याक्सी चल्न थालेका हुन्। सिगानामा सडक स्तरोन्नति र ढलान भइसक्दासमेत भाडादर भने समायोजन हुन नसक्नु दुःखद् रहेको स्थानीय लाल थापाले  बताए। उनका अनुसार सिगानामा सडक स्तरोन्नति भएर ट्र्याक्टर जान समस्या भएकामा अहिले ग्राभेल भइसक्दा र घुम्ती सडक ढलान भइसक्दासमेत भाडादर समायोजन हुन सकेको छैन।

'अहिले सिगानामा विद्यालयको बस नियमित चल्छ, तर यात्रु बोक्नका लागि जीप मात्रै छन्, उनीहरुको एकाधिकार छ, सिगाना वडा कार्यालय पुग्ने भाडा एक सय कायम गर्दा हुन्छ, वडा कार्यालयसम्म १० किमी मात्रै छ', थापाले भने, 'सडक बन्दै जाने तर भाडादर नघट्नु दुःखद् हो सिगानामा रिजर्वमा ट्याक्सी, कार भ्यान र अटोरिक्सासमेत पुग्ने गरेका छन्।'

सडक डिभिजन कार्यालयअन्तर्गतको सडकको अहिलेसम्म ५० प्रतिशत प्रगति भएको सडक कालोपत्रको जिम्मा पाएको कर्ण विल्डर्सका साइट इञ्चार्ज सन्दिप श्रेष्ठले बताए। ३२ महिनाको ठेक्का सम्झौताको काम १५ महिनामै सक्ने निर्माण व्यवसायीको लक्ष्य छ। 

अहिले बागलुङ नगरपालिका-३ बोक्सेदेखि वडा कार्यालय हुँदै गोखोलासम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाल, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण गर्ने र सबबेस बिछ्याउने काम सम्पन्न भइसकेको छ भने एक दर्जन घुम्ती सडकमा एक किलोमिटर सडक ढलान भइसकेको छ। बर्खा सकिनासाथ कालोपत्र गर्ने निर्माण व्यवसायीको भनाइ छ । काम थालेको दुई महिनामै सडक कालोपत्र भइसक्नेछ। 

उकालो, घुम्ती र चिसो स्थानमा ढलान तथा अन्यत्र कालोपत्र गर्ने योजनाअनुसार निर्माण कम्पनीले द्रुत गतिमा काम गरेको र यही गतिमा काम गरेमा निर्धारित सम्झौताभन्दाअगावै काम सम्पन्न हुने देखिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण पोख्रेलले जानकारी दिए।

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक ३० किमी सकडमध्ये पहिलो चरणमा १० किमी सडकको काम भइरहेको र उक्त सडक सम्पन्नपश्चात् पुनः दश किमी सडक ठेक्कामा जानेछ। रासस


प्रकाशित : बिहीबार , असार ७ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend