शुक्रबार, असोज ४ गते २०८१    
images
images

सडक निर्माण अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन, ठेक्का रद्द गर्न स्थानीयवासीको माग

images
बिहीबार , असार ७ २०८०
images
images
सडक निर्माण अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन,  ठेक्का रद्द गर्न स्थानीयवासीको माग

संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न नौ करोड रूपैयाँ लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का ६ करोड ७१ लाख रूपैयाँ मा सम्झौता भएको थियो।

images
images

गलकोट- सम्झौता मिति सकिँदासम्म सकड कालोपत्र नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्न स्थानीयवासीले माग गरेका छन्। बागलुङ जिल्लाको काठेखोला गाउँपालिका- ७ रेश जाने एक्लेखेतदेखि काफलबोट जाने सडक निर्माणको जिम्मा पाएको निर्माण केम्पनी पटक-पटक सडक अलपत्र छोडेर सम्पर्कविहीन भएको छ।

images
images
images

स्थानीयवासीले ठेक्का रद्दको मागसहित काठेखोला - ७  वडा अध्यक्ष प्रेम लामिछाने, वडा सदस्य तथा स्थानीयवासीले काठेखोला गाउँपालिकामा ज्ञापन पत्रसमेत बुझाइसकेका छन्। रेश जाने चार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीले सडक अलपत्र छोडेपछि स्थानीय तथा जनप्रतिनिधिले नै गाउँपालिका समक्ष ठेक्का रद्दको माग गरेका हुन्। विसं २०७७ मा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दासमेत कालोपत्रका लागि कुनैपनि काम गर्न नसकेको स्थानीय गोविन्दबहादुर कार्कीले बताए।

उनले निर्माण व्यवसायी तुरुन्तै सम्पर्कमा नआए चरणबद्ध आन्दोलनको तयारी गर्ने बताए। 'गाउँपालिकालाई ठेक्का रद्द गर्न माग गरेका छौँ, गाउँपालिकाले सुनुवाइ गरेको छैन, यस्तो बेतिथि गर्ने ठेकेदारको सम्झौता रद्द गरेर नयाँ सम्झौता गर्न आवश्यक छ', उनले भने, 'म्याद सकिएर पुनःथप भएको म्याद सकिँदासम्म सडक कालोपत्र नगर्ने ठेकेदारलाई गाउँपालिकाले कारबाही नगरे स्थानीयवासीले आन्दोलन गर्न बाध्य हुनेछौँ।'

यसअघि निर्माण व्यवसायी हराएको सूचना टाँस गरेर रेशका स्थानीयवासीले आन्दोलन गरेका थिए। निर्माण कम्पनीले म्याद थप गर्नुअघि काममा फर्किए पनि एक सय मिटर सडक ढलान गरेर सम्पर्कविहीन भएको काठेखोला गाउँपालिका-७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए। 'गाउँपालिकाले निर्माण व्यवसायीलाई म्याद थप्दासमेत काम भएको छैन, थपिएको म्यादसमेत असार मसान्त मात्रै हो, निर्माण व्यवसायीको चरम लापरर्बाहीका कारण रेशका जनताले सास्ती खेप्नु परेको छ' वडाध्यक्ष प्रेम लामिछानेले भने, 'मसहित स्थानीयवासीले गाउँपालिकामा ठेक्का रद्दको माग गरेका छौँ, गाउँपालिकाले सुनुवाइ गरेको छैन, काठेखोला गाउँपालिकाको मुख्य योजनाको रुपमा रहेको उक्त सडक कालोपत्र भएमा गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने पहिलो कालापत्र सडक हुनेछ।'

images

उक्त सडकमा निर्माण व्यवसायीले काम नगर्दा यात्रुलाई सास्ती भएको मात्रै छैन ढलान गर्न ढुंगामा बिच्छाइएको रडले दुर्घटनाको जोखिम समेत निम्ताएको छ।

संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न नौ करोड रूपैयाँ लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का ६ करोड ७१ लाख रूपैयाँ मा सम्झौता भएको थियो। दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी/निशान/आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो।

ठेक्का सम्झौता पश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम मात्रै सकेर निर्माण व्यवसायी पटक-पटक सम्पर्कविहीन भएको हो। निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष राजु थापाले असार मसान्तसम्म सम्झौता रहेको र सम्झौता अगावै ठेक्का रद्द गर्न नसक्ने बताए।

उनले निर्माण व्यवसायीले तत्कालै काम गर्छु भनेको बताउदै म्याद सकिदासम्म काम नभए ठेक्का रद्दको प्रक्रियामा जाने बताए। सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ।

काम नगर्ने निर्माण व्यवसायीलाई गाउँपालिकाले म्याद थपेको भन्दै गाउँपालिका निर्माण कम्पनीको पक्षमा उभिएको स्थानीयवासीको आरोप छ। रासस


प्रकाशित : बिहीबार , असार ७ २०८००८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend