शुक्रबार, असोज ४ गते २०८१    
images
images

जिपलाइन निर्माणले पहिरोको जोखिम

images
बुधबार, असार ६ २०८०
images
images
जिपलाइन निर्माणले पहिरोको जोखिम

जिपलाइनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचना बनाएको, सडक जिपलाइनकै लापरबाहीका कारण त्यहाँको सडक पहिरोको जोखिममा परेको स्थानीयको गुनासो छ।

images
images

भक्तपुर- पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका-८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जिपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ।

images
images
images

जिपलाइनले घ्याम्पेडाँडा हुँदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न माग गरेका छन्।

भक्तपुरकै पर्यटकीयस्थलमात्रै नभई काभ्रेपलाञ्चोकको र्‍यालेबाट पनौतीसम्म जाने मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो सडक जिपलाइनकै लापरबाहीका कारण पहिरोको जोखिममा परेको स्थानीय सन्तमान वाइबाले बताए।

नाफा कमाउने उद्देश्यले विगत एक वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आएको व्यावसायिक संस्था योयो जिपलाइनले यहाँको सामुदायिक वनको जग्गासमेत मिचेर संरचना बनाउँदा त्यसलाई रोक्नुको सट्टा त्यस्ता संरचना संरक्षण गर्न वडा कार्यालयले ६० प्रतिशत र जिपलाइनले ४० प्रतिशत बजेट व्यहोर्ने गरी ६०-४० शीर्षकको बजेट हालेर व्यवसायीको निजी सम्पत्ति संरक्षण गरेको रानीकोटका व्यवसायी हर्कमान लामाले गुनासो गरे।

images

'जिपलाइनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचना बनाएको छ, वर्षाको समयमा पहिरो जान सुरु भइसक्यो, योयो जिपलाइनको संरचना जोगाउन वडा कार्यालयले जालीसहितको पर्खाल लगाइदिएको छ,' उनले भने, 'अहिले फेरि जिपलाइनले त्यहीँ पर्खाल मुनिबाट करिब ४० फिट गहिरो पहरा खनेको छ, यसले सडकमा पहिरो जाने जोखिम बढाएको छ।'

जिपलाइनमा आउनेले सडकमै पार्किङ गरिदिँदा रानीकोट र र्‍यालेका बासिन्दालाई आवतजावतमा समेत कठिनाइ पर्ने गरेको रानीकोटका होटल व्यवसायी बताउँछन्। यसबारेमा पटक-पटक सडकमा पार्किङ नगराइदिन जिपलाइनलाई आग्रह गर्दा अटेर गरेको व्यवसायीको गुनासो छ।

सडकमा पहिरो गएर रोकिए घ्याम्पेडाँडा रानीकोट जाने पर्यटकको आगमन बन्द हुनुका साथै यहाँबाट काभ्रेको र्‍याले, पनौती, लाकुरीभञ्याङ जाने सडक नै अवरुद्ध हुने भएकाले क्षति हुनु अगाडि नै स्थानीय तहले यसबारेमा चासो दिनुपर्ने होटल व्यवसायी सुनिल श्रेष्ठले बताए।

सयौँ वर्ष अगाडिदेखि नै यो सडक काभ्रे-१ र्‍यालेका बासिन्दाले भक्तपुर, काठमाडौँ बजार आउने मुख्य सडकको रूपमा प्रयोग गर्दै आएको र्‍यालेका तरकारी व्यवसायी अमित लामाले बताए। उनले भने, 'र्‍याले, पनौतीको ग्रामीण क्षेत्रबाट भक्तपुरको बजारमा दैनिक कृषि उत्पादन, तरकारी, दूध, कुखुरालगायतका उत्पादनलाई बजार लैजान प्रयोग गर्ने मुख्य सडक यही हो, पहिराले यो रोकिए हाम्रो रोजीरोटी गुम्छ, त्यसैले अरुलाई अवरोध नपुग्ने गरी र सार्वजनिक सम्पत्तिको क्षति नहुने गरी जिपलाइनले व्यवस्थापन गर्नुपर्छ, स्थानीय तहले पनि यसतर्फ चासो दिनुपर्यो।'

रानीकोट हाम्रो थुम्को सामुदायिक वनको जग्गा अतिक्रमण नहुने गरी संरचना निर्माण गर्दा स्पष्ट नापी गर्न वनका अध्यक्ष सविन तामाङले आग्रह गरे। उनले भने, 'जिपलाइन आएर पर्यटनको विकास र रोजगारीमा टेवा पुगेको छ, तर व्यवसाय सञ्चालन गर्दा वनको जग्गा नापेर स्पष्ट पारिदिनुपर्छ, सडक अतिक्रमण भएको छ, त्यसलाई रोक्नुपर्छ, व्यवसायप्रति हाम्रो आपत्ति होइन, गलत प्रवृत्तिप्रति हाम्रो आपत्ति हो।'

स्थानीयले सडक किनारामा सामान्य चिया पसल राख्न नदिएर संरचना भत्काइदिएको स्थानीय तहले अहिले जिपलाइनले त्यही ठाउँमा जग्गा र सडक अतिक्रमण गर्दा किन मौन बसिरहेको छ रु भन्दै स्थानीयले प्रश्न तेर्साएका छन्। यसबारेमा सूर्यविनायक-८ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा नगरपालिको ६०-४० को बजटले निजी सम्पत्ति संरक्षण गरेको नभई सडक संरक्षण गरेको दाबी गर्छन्।

'घ्याम्पेडाँडा-रानीकोट हाम्रो नयाँ पर्यटकीय गन्तव्य हो, यहाँको सडक संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि हो, त्यसैले सडकमा पहिरो जान थालेपछि तारजाली हालेर ढुंगाको पर्खाल लगाएका हौँ,' उनले भने, 'सडकको मापदण्ड जिपलाइनलाई मिच्न दिएका छैनौँ, सार्वजनिक जग्गा र वनको विषयको विवाद मिलाउन छिट्टै जग्गा नापी गरेर सीमांकन गर्न निर्देशन दिएका छौँ।'

जिपलाइनका कर्मचारीले भने वनको जग्गा नापी गरेर छुट्याएको दाबी गर्दै जग्गा अतिक्रमण नगरेको र सुरक्षितरूपमा थप संरचना बनाउन थालेको जानकारी दिएका छन्। रासस


प्रकाशित : बुधबार, असार ६ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend