शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

ललितपुर र भक्तपुरबाट काभ्रेपलाञ्चोक जोड्ने गरी दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ५ २०८०
images
ललितपुर र भक्तपुरबाट काभ्रेपलाञ्चोक जोड्ने गरी दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन

अध्ययनको मस्यौदा प्रतिवेदन तयार भएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्र ललितपुरले जनाएको छ। 

images
images

काभ्रे- काठमाडौं उपत्यकाको ललितपुर र भक्तपुरबाट काभ्रेपलाञ्चोक जोड्ने गरी दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ।सरकारको चालु आर्थिक वर्षको बजेटबाट ‘चार भञ्ज्याङ, चार सुरुङ मार्ग’ कार्यक्रमअन्तर्गत दुई सुरुङ मार्गको अध्ययन थालिएको हो।

images
images
images

ललितपुरको गोदावरी तथा काभ्रेपलाञ्चोकको पनौती (मानेदोभान) सडक खण्डमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ। यसका लागि अध्ययनको मस्यौदा प्रतिवेदन तयार भएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्र ललितपुरले जनाएको छ।

images
images

सरकारको चालु आवको योजनाअन्तर्गत गोदावरी-पनौती सुरुङमार्ग पनि एक हो। अध्ययनले उक्त सडक खण्डमा सुरुङमार्ग बनाउन उपयुक्त हुने देखिएको जनाएको छ। केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर दीप बाराहीका अनुसार गोदावरी-पनौती (मानेदोभान) सडक खण्डमा तीन दशमलव छ किलोमिटर दूरीको सुरुङ मार्ग बनाउन सकने प्रारिम्भक मस्यौदा कार्यालयमा पेस गरिएको छ। कार्यालयले थप अध्ययनको चरणमा रहेको जनाएको छ। चालु आवको १० लाखमा उक्त अध्ययन थालिएको थियो।

images
images

यस्तै अरनिको राजमार्गलाई छोटो दूरी बनाउन परिकल्पना गरिएको भक्तपुरको ताथली तथा काभ्रेपलाञ्चोकको रविओपी हुँदै पाँच खालसम्मको सुरुङमार्गको सम्भाव्यताको प्रारम्भिक अध्ययनको काम सुरु हुने जनाइएको छ। केन्द्रका इञ्जिनियर सोनी श्रेष्ठका अनुसार ताथली-रविओपी-पाँचखाल सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि कन्सलटेन्ट छनोट भएको छ भने थप प्रक्रिया अघि बढाइने भएको हो। ताथली-रविओपी सुरुङमार्ग भने करिब चार दशमलव नौ किलोमिटरको हुने अनुमान गरिएको छ।

ताथली-रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि चालु आवमा ५० लाख बजेट विनियोजन गरिएको थियो। उक्त सुरुङमार्ग निर्माण भएमा अरनिको राजमार्ग हुँदै छिमेकी चीनको सीमा जोड्न करिब ३५ किलोमिटर सडक छोटिने छ। सरकारले चालु आवका लागि २०७९ जेठ १५ गतेको बजेट भाषणमा काठमाडौँ उपत्यकाको भञ्ज्याङतर्फ छोखा-छहरे, गोदावरी-पनौती र साँगा-बनेपा खण्डको सुरुङमार्ग निर्माण सम्भाव्यता अध्ययन गर्ने तथा सुरुङमार्ग विकास कार्यक्रमका लागि एक अर्ब १९ करोड रकम विनियोजन गरिएको उल्लेख गरेको थियो।

अरनिको राजमार्गअन्तर्गत प्रस्ताव गरिएको साँगा-बनेपा सुरुङमार्गको विषय भने चालु आवको करिब अन्त्यसम्म उठान गरिएको छैन। जहाँ हाल छ लेनको सडक निर्माण सुरु गरिएको छ।

यसैबीच धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले जिल्लाको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन थालेको छ। गाउँपालिकाको ४ नं वडास्थित सेतीभीरको सुक्खा पहिरोलाई छलेर सुरुङमार्ग निर्माण गर्ने गरी डिजाइनको काम भइरहेको जनाइएको छ।

वडा नं २ को दुर्लुङखोला-बाइस सय ढुङ्गा हुँदै वडा नं १ को च्याम्राङबेँसी चौतारासम्म सुरुङमार्ग निर्माण गर्ने गरी अध्ययन गरिएको विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ विभाग प्रमुख डा श्यामसुन्दर खड्काले बताए। उनका अनुसार उक्त सुरुङ मार्गको प्रारिम्भक अध्ययन गर्ने क्रममा करिब एक हजार तीन सय मिटर र एक हजार २५० मिटर लम्बाइको दुई मार्गको डिजाइन तयार भइरहेको हो। उनले अध्ययनको अन्तिम प्रतिवेदन बनाउने क्रममा आठ मिटर चौडाइ वा राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार ११ मिटर चौडाइको बनाउने भन्नेबारे छलफल भइरहेको बताए।

यस्तै केयूले पछिल्लो समय विश्वविद्यालय परिसरमा सडक सुरुङ मार्ग निर्माणको काम गरिरहेको छ। विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि विश्वविद्यालय परिसरमा निर्माण सुरु गरेको सुरुङ मार्गका प्रवेशद्वारतर्फ र आउट लेट (बाहिर निस्कने) ठाउँतर्फ सुरुङ निर्माण भइरहेको विश्वविद्यालयका सिभिल इञ्जिनियरिङ विभाग प्रमुख डा खड्काले बताए। उनले विश्वविद्यालयको आफ्नै केही रकम र केही परियोजनाको सहायताबाट सुरुङ निर्माणको काम भइरहेको जानकारी दिए। 

खड्काले भने, 'केयू परिसरमा निर्माण भइरहेको सुरुङमार्ग विश्वविद्यालयका विद्यार्थी तथा अन्यलाई नेपालको मध्यपहाडी तथा विभिन्न स्थानमा त्यहाँको भू-बनोट अनुसार कसरी र कस्तो सुरुङ मार्ग बनाउन सकिन्छ भनेर अध्ययन गर्ने स्थलका रूपमा यो सुरुङमार्ग रहने अपेक्षा गरेका छौँ।' विश्वविद्यालयमा एक जनाले विद्यावारिधि तह र पाँच जनाले स्नातकोत्तर तहमा सुरुङ मार्गमा नै अध्ययन गरिरहेका छन्। रासस


प्रकाशित : मंगलबार, असार ५ २०८०१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend