ललितपुर- पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र साँस्कृतिक सम्पदा टेकोको भरमा अड्डिएका छन्। ऐतिहासिक सम्पदा र पुराना कलात्मक शैलीका संरचनालाई आधुनिक संरचनाले विस्थापित गर्न थालेपछि त्यस्ता संरचना लोप हुँदै जान थालेका छन्।
यहाँ अधिकांशले समयानुसार पुराना घरलाई भत्काएर नयाँ र आधुनिक शैलीका घर निर्माण गरेकाले परम्परागत पुराना घर निकै कम मात्रै देखिन्छन्। पाटन क्षेत्र आसपासका साँगुरा गल्लीमा टेकोले अडिएका पुराना र कलात्मक शैलीका घरको अवलोकन गर्दै विदेशी पर्यटकले तस्बिर खिचिरहेका देखिन्छन्।
पारिवारिक भागबण्डाका साथै साँगुरो गल्लीका कारण भत्काउन नमिलेका घरहरु बाँकी छन्। दिनप्रतिदिन जीर्ण अवस्थामा रहेका कतिपय घरमा घाँस उम्रेका, पानी चुहिने र बस्नै नमिल्नेगरी भत्केका छन्।
पुरानो भएकाले घरधनीले पनि संरक्षणमा खासै चासो गरेको देखिँदैन। मङ्गलबजार, गाबललगायत क्षेत्र आसपमासका ऐतिहासिक घरलाई विसं २०७२ को भूकम्पपछि टेको लगाएर अड्डयाइएका छन्। कलात्मक रुपमा निर्माण गरिएका ती घरमा परेवा र भङ्गेराले गुँड बनाएका देखिन्छन्।
राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो। विसं २०७२ को गोर्खा भूकम्पले क्षति पुर्याएको आठ वर्ष बितिसक्दा पनि ती संरचनालाई टेकोको भरमा जबरर्जस्ती अड्याइएका छन्।
ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीय ८३ वर्षीय जुलमला चित्रकारले भनिन्, 'बाजेको पालामा निर्माण भएका घर निकै बलिया हुँदा रहेछन्। २०७२ सालको भूकम्पको कारण धेरै घर ढलेपनि केही परम्परागत घर ढलेका छैनन्।' उनले अहिले आफ्नो घर पनि टेकोको भरमा अड्डाइएको बताइन्।
'दिनप्रतिदिन जीर्ण बन्दै गएको घर कतिखेर ढल्छ पत्तो नहुने भएकाले, म अहिले अर्को घरमा बस्छु। यो पुरानो घरमा कोही बस्दैन रित्तो छ', चित्रकारले भनिन्। उनका अनुसार यस क्षेत्रमा दिनप्रतिदिन परम्परागत संरचना भत्काएर नयाँ संरचना निर्माण हुँदैछन्।
'यही क्रममा नयाँ र आधुनिक संमचना निर्माण हुँदै जाने हो भने हामी नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरलाई कुनै दिन म्युजियममा खोज्नुपर्छ होला?', चित्रकारले दुखेसो गरिन्। सरकारले परम्परागत घरको संरक्षण गरी उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन्।
सरकारले भूकम्पपीडितको लागि केही रकम अनुदान दिने निर्णय गरे पनि अनुदानमा दिने थोरै रकमले घर भत्काउन मात्रै पुग्ने स्थानीय अरुण बर्जाचार्यले बताए। 'घर भत्काउन मात्र पुग्ने रकम अनुदानमा दिइन्छ। घर भत्काउनु मात्र समस्याको समाधान नभएकाले भूकम्पको अनुदानसमेत लिएको छैन', उनले भने।
बर्जाचार्यका अनुसार पाटन क्षेत्र आसपासका विभिन्न गल्लीमा रहेका कलात्मक शैलीका अधिकांश घर टेकोको घरमा छन्। 'नयाँ घर निर्माणका लागि आर्थिक अभाव हुने तथा अंशबण्डाका लागि लागि झनझटिलो प्रक्रिया भएकाले पनि अधिकांश घर टेकोको भरमा अडिएका छन्', उनले भने।
इतिहास बोकेका सांस्कृतिक सम्पदा र परम्परागत घरलाई कसरी जगेर्ना गर्ने र लोप हुनबाट कसरी जोगाउने भन्नेमा यहाँका नेवार समुदाय चिन्तित छन्। रासस