शुक्रबार, असोज ४ गते २०८१    
images
images

ग्लोबल फुड पोलिसी रिपोर्ट भन्छ - नेपालमा खाद्य असुरक्षा र कुपोषण बढ्यो

images
सोमबार, असार ४ २०८०
images
images
ग्लोबल फुड पोलिसी रिपोर्ट भन्छ - नेपालमा खाद्य असुरक्षा र कुपोषण बढ्यो

प्रतिवेदनमा दक्षिण एसियाको आर्थिक र सामाजिक अवस्थामा पछिल्लो दुई दशकयताकै खराब अवस्थामा पुग्दा सन् २०२२ मा यो क्षेत्रका चार करोड ८० लाखदेखि पाँच करोड ९० लाख मानिस गरिबीको रेखामुखी रहेको र गम्भीर खाद्य संकटबाट गुज्रिरहेको उल्लेख छ।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ।

images
images
images

आज सार्वजनिक गरिएको प्रतिष्ठानको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एसिया क्षेत्रमासमेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको हो।

एकीकृत विकास अध्ययन केन्द्र (आईआईडिएस), बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक), दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) को सहयोगमा अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठान (आईएफपीआरआई) ले तयार पारेको प्रतिवेदनको दक्षिण एसियाली संस्करणको आज काठमाडौंमा एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक गरे।

प्रतिवेदनअनुसार सन् २०१९ देखि २०२१ सम्ममा दक्षिण एसियामा कुपोषणबाट ग्रसित मानिसको तथ्यांक अफगानिस्तानमा ३० प्रतिशत, बंगलादेशमा १२ प्रतिशत, भारतमा १६ प्रतिशत, नेपालमा छ प्रतिशत, पाकिस्तानमा १७ प्रतिशत र श्रीलंकामा चार प्रतिशत रहेको उल्लेख गरेको छ। त्यस्तै, गम्भीर खाद्य असुरक्षा भोगिरहेका मानिसको तथ्यांक हेर्दा अफगानिस्तानमा करिब २३, बंगलादेशमा करिब ११, नेपालमा करिब १३, पाकिस्तानमा करिब आठ र श्रीलंकामा करिब दुई प्रतिशत रहेको देखिन्छ।

images

सन् २०१७ देखि १९ सम्ममा नेपालमा खाद्य असुरक्षा भोगिरहेको जनसङ्ख्या करिब १० प्रतिशत बराबर रहेको पनि प्रतिवेदनमा देखाइएको छ। प्रतिवेदनले दक्षिण एसियाको आर्थिक र सामाजिक अवस्थामा पछिल्लो दुई दशकयताकै खराब अवस्थामा पुग्दा सन् २०२२ मा यो क्षेत्रका चार करोड ८० लाखदेखि पाँच करोड ९० लाख मानिस गरिबीको रेखामुखी रहेको र गम्भीर खाद्य संकटबाट गुज्रिरहेको उल्लेख छ।

मुख्यगरी दक्षिण एसियाका अफगानिस्तान, पाकिस्तान र श्रीलंकामा चरम खाद्य संकट देखिएको छ। कोभिड-१९ महामारी, रुस-युक्रेन युद्ध, विभिन्न प्राकृतिक प्रकोपको असर, ऊर्जा संकट, पेट्रोलियम पदार्थ र रासायनिक मलको मूल्यवृद्धि, राजनीतिक अस्थिरतालगायत कारण दक्षिण एसियाली क्षेत्रमा खाद्य असुरक्षा बढेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। 

खाद्य सामग्रीको चर्को मूल्यवृद्धि र अभावको अवस्था देखिएपछि सन् २०२२ मा अफगानिस्तान, बंगलादेश, भारत र पाकिस्तानले विभिन्न खाद्य वस्तुको निर्यातमा रोक लगाउने निर्णय गरेका थिए। जसमा चामल, गहुँ, चिनीलगायत खाद्यवस्तु थिए। प्रतिवेदनअनुसार सन् २०२२ सेप्टेम्बरमा खाद्य वस्तुको मूल्यवृद्धि श्रीलंकामा ६६ प्रतिशत, पाकिस्तानमा ३६ प्रतिशत र नेपाल, भारत तथा बंगलादेशमा आठ प्रतिशत थियो।

जलवायु परिवर्तनको असरका कारण विश्वव्यापी रुपमा सन् १९६१ को तुलनामा अहिले कृषि क्षेत्रको उत्पादकत्वमा २१ प्रतिशतले कमी आएको पनि प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, आपूर्ति श्रृंखला बिग्रनु, अव्यवस्थित बसाइँसराइलगायतका कारणलाई पनि खाद्य असुरक्षा बढ्नुका कारकका रुपमा देखाइएको छ।

खाद्य असुरक्षा न्यूनीकरण र दिगो व्यवस्थापनका लागि गर्नुपर्ने पूर्वतयारी, यस्तो संकटका कारण पहिचान र समाधानका लागि पनि प्रतिवेदनले सुझाव दिएको छ। पूर्वी र दक्षिण एसियाली मुलुकले क्षेत्रीय रुपमा सहकार्यमार्फत् खाद्य संकटको सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, उत्तरदायी शासन व्यवस्था, प्रभावकारी सेवा प्रवाह र उपयुक्त नीतिमार्फत् खाद्य असुरक्षासँग लड्न सकिने सुझाव प्रतिवेदनले दिएको छ। रासस


प्रकाशित : सोमबार, असार ४ २०८००९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend