शुक्रबार, असोज ४ गते २०८१    
images
images

हाटबजार : जीविकोपार्जनको आधार

images
सोमबार, असार ४ २०८०
images
images
हाटबजार : जीविकोपार्जनको आधार
images
images

बुटवल- बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ।

images
images
images

बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनको घरमा अन्य सहारा कोही पनि छैनन्। १६ वर्षको कलिलो उमेरमा उनको आफूभन्दा दुई वर्ष जेठा गोपाल ठकुरीसँग विवाह भयो। भारतीय सेनामा कार्यरत पति निवृत्त भएर स्वदेश फर्केपछि बुटवलमा मजदुरी गर्दा गर्दै क्षयरोगले थलिएर निधन भयो।

हाटबजारमा आफ्नै प्रदर्शनी कक्ष अगाडि रहेको तत्कालीन बुटवल नगरपालिकाको भवन देखाउँदै पतिको मृत्युपछि त्यही भवन बनाउने काममा मजदुरी गरेर जीवन निर्वाह गरेको उनले बताइन्। उमेर ढल्किँदै गएपछि श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि एकमात्र छोरी निरुको आग्रहमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको उनले बताइन्। हरेक हप्ता लाग्ने हाटबजारमा चार दशकअघि आमा छोरीले सुरु गरेको व्यवसायमा हरियो तरकारी, टिम्मुर, सिद्रा माछा, सिन्कीजस्ता मौसमअनुसारको व्यापार गर्दै आएको उनी बताउँछिन्।

आफू २३ वर्षको हुँदा छोरी जन्मिएकी छोरी मात्र एक सन्तानका रुपमा नाति रहेको उनले बताइन्। 'नाबालक टुहुरो नाति म सँगै बस्थ्यो अहिले रोजगारीका लागि विदेश गएको दुई महिना भयो', उनले भनिन्, 'नातिनीहरु भने विवाह भएर आ-आफ्नो घरमा छन्, म भने हरेक दिन बिहान हाटबजार आउँछु बिहानको खाना होटेलमै खान्छु, साँझको खाना भने माइली नातिनीले ल्याइ दिन्छन्।' अहिले आफ्नो सहारा भनेकै नातिनीहरु रहेको उनी बताउँछिन्।

images

हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने यो हाटबजारमा जीवन गुजार्न केही व्यापार पनि हुने र समय कटाउन पनि सहज हुने भएकाले नियमितजसो आउने गरेको उनी बताउँछिन्। 'घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, यहाँ आएपछि दिदी बहिनीसंँग कुराकानी गरेर दिन कट्छु', उनले भनिन्, 'व्यापार गर्ने दिदीबहिनीले पनि बजारको दिन एक दिन नआउँदा बजै किन आउनुभएन भनेर सोधीखोजी गरेर बोलाउने गर्दछन्।'

बुटवल उपमहानगरपालिका-११ मजुवा घर भएकी मन्दिरा गौचन उमेरले सात दशक पार गरिन्। उनको जीवन निर्वाहको मुख्य आधार पनि यही हाटबजार बनेको छ। उनले विगत २५ वर्षदेखि हाटबजारमा हरियो तरकारी र सालको पातजस्ता दैनिक उपभोग्य वस्तुको व्यापार गर्दै त्यसैको आम्दानीबाट घर व्यवहार चलाउँदै आएको बताइन्।

उनको एक छोरी र एक छोरा छन् दम र मुटुको बिरामी वृद्धा गौचनका श्रीमानको पनि चार वर्षअघि दम र मुटुको बिरामीले थलिएर मृत्यु भएको उनले बताइन्। वृद्धा गौचनको कमाइको मुख्य आधार नै हाटबजार हो।

बुटवलको उपमहानगरपालिका-११ मजुवामा बस्दै आएकी ५२ वर्षीया कल्पना क्षेत्रीका पति १२ वर्ष पहिले भारतमा कमाउन भएका अहिलेसम्म फर्केका छैनन्। चार सन्तानकी आमा क्षेत्रीको पढ्दै गरेको छोरो पनि बीचमै पढाइ छाडेर दुई वर्षअघि कमाउन भारत पसेको छोरोक पनि अहिलेसम्म कुनै पत्तो छैन।

दैनिक जीवन चलाउने विकल्प नभएपछि हाटबजारमा कहिले सालको पात, कहिले हरियो मकै, कहिले हरियो साग र तरकारी बेचेर गुजारा चलाइराखेको उनी बताउँछिन्। 'पहिला अलि व्यापार हुन्थ्यो, दिनमा दुई हजार रूपैयाँसम्म बचत हुन्थ्यो। अहिले दिनमा चारदेखि पाँचसय रूपैयाँ मात्र बचत हुन्छ', उनले भनिन्।

बुटवलको मुख्य बजार क्षेत्र बुटवल उपमहानगरपालिका-४ मा साताको दुई दिन लाग्ने हाटबजारमा व्यवसायीले बजार लगाउने गर्छन्। यहाँको बजारमा झन्डै तीन हजार बढीले प्रत्येक बजारमा व्यवसाय गर्दै आएका छन्।

रुपन्देही जिल्लामा लाग्ने यस्ता हाट बजारमा प्रत्यक्ष अप्रत्यक्ष ५० हजार मानिसले रोजगारी पाएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसी बताउँछन्। यी हाट बजारमा आमसर्वसाधारणलाई दैनिकरुपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ। तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाटबजारमा खरिद गर्न आउनेको भीड लाग्ने गरेको अध्यक्ष जिसीले बताए। यी बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफै बजारसम्म ल्याएर बिक्री गर्ने गरेको उनले जानकारी दिए।

हाटबजारमा मंसिरदेखि बैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन्। स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाटबजार सञ्चालन गर्दै आएका छन्। यसबापत स्थानीय पालिकाले व्यवसायीबाट बैठकी करस्वरुप प्रतिस्टल ५० देखि दुई सय रूपैयाँसम्म लिने गरेको अध्यक्ष जिसी बताउँछन्। तर व्यापार नहुँदाको अवस्थामा राज्यका निकायलाई बुझाउनुपर्ने विभिन्न कारणले व्यवसायीलाई मर्का परेको उनको गुनासो छ।

वर्षौंदेखि हाटबजारमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका वृद्धवृद्धा, असक्त र विभिन्न समुदायका व्यवसायीका लागि हाटबजार व्यवसायी संघले लिने सेवा शुल्कमा केही छुटको व्यवस्था गरेको छ तर व्यवसाय गरेबापत राज्यका निकायलाई तिर्ने करमा कुनै सुविधा नभएको अध्यक्ष जिसीले बताए। 'हामीले यस्ता समूहका व्यवसायीलाई कुनै न कुनै हिसाबले सुविधा उपलब्ध गराउन स्थानीय पालिकालाई पटक पटक भन्यौँ', उनले भने, 'हाम्रो मागको सुनुवाइ कही कसैले पनि गरेन।'

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल बुटवल क्षेत्रभित्रका सम्पूर्ण हाटबजारलाई योजनाका साथ व्यवस्थित गर्न थालिएको बताउँछिन्। उनले अहिले बुटवलको हाटबजारलाई केही व्यवस्थित गर्ने कार्यको सुरुवात भएको अन्य बजारलाई पनि व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्ने योजनामा रहेको बताइन्।

लामो समयदेखि हाटबजारमा व्यवसाय गर्दै आएका महिला तथा वृद्धवृद्धालाई तत्काल कुनै सुविधाको केही व्यवस्था नभए पनि अबको बजेटमा केही गर्न सकिन्छ कि भन्ने सोचमा रहेको उनले जानकारी दिइन्। रासस


प्रकाशित : सोमबार, असार ४ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend