आइतबार, वैशाख ३० गते २०८१    
images
images

को हुन् इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की?

'खेलकुदले सिकाएका सुत्रले ऊर्जा उद्यममा पनि सफलता'

images
images
images
को हुन् इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की?

अध्यक्षमा निर्वाचित गणेश कार्की २०७० सालपछि सक्रिय भएर ऊर्जा क्षेत्रमा लागेका हुन्।

images
images

काठमाडौं- बिहीबार काठमाडौंमा सम्पन्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१औँ साधारणसभाबाट गणेश कार्की सर्वसम्मत अध्यक्ष निर्वाचित भए। नेपालका लागि मौरिससका तर्फबाट वाणिज्य दूतसमेत रहेका कार्की सामाजिक कार्य गर्ने दर्जनौँ संघसंस्थाको पनि नेतृत्वमा छन्।

images
images
images

२०२४ सालमा झापाको तोपकाक्षी (कमल गाउँपालिका) मा जन्मिएका कार्कीले २०५७ सालदेखि ऊर्जा क्षेत्रमा चासो राख्न थालेका थिए। २०६४ देखि विद्युत् आयोजनामा काम गर्न थालेका कार्की त्यसको १६ वर्षपछि देशभरका ऊर्जा उद्यमीहरूको साझा संस्था इप्पानको अध्यक्षमा निर्वाचित भए।

images

धरानमा विद्यालय शिक्षा पूरा गरेपछि २०४३ मा उनी उच्च शिक्षाका लागि काठमाडौं आएका थिए। त्यसपछि उनी फर्केर गाउँ जानु परेन। पछिल्लो २५ वर्षदेखि कार्की ललितपुर सानेपामा बस्दै आएका छन्।

images

सानै उमेरदेखि खेलकुदमा रुचि भएका कार्कीले काठमाडौं आएपछि बौद्धमा कराँते सिक्न गएको बताए। २०४८ सालताकै कराँतेमा ‘बल्याक बेल्ट’ जितेका कार्की त्यसपछि कराँतेको राष्ट्रिय रेफ्री पनि बनेका थिए। ‘खेलुकमा लाग्दा अनुशासित र आत्मविश्वासी भइँदोरहेछ’, कार्कीले भने, ‘हारे पनि अर्कोपटक जितिन्छ भन्ने सकारात्मक सोच राख्न पनि खेलकुदले नै सिकायो। खेलकुदका यी नै सुत्रले हरेक क्षेत्रमा सफल हुन प्रेरणा दिएको हो।’

images
images

२०४५/४६ तिर कार्कीले गलैँचामा काम गर्न सुरु गरेका थिए। पछि २०५१/५२ मा गलैँचाको आफ्नै व्यवसाय पनि सुरु गरेका थिए। तर, त्यो व्यवसाय त्यति सफल हुन सकेन। उनले त्यसमा समय खेर फालेनन्। २०५२/५३ सालमा पस्मिनाको व्यवसाय सुरु गरे। पस्मिनाको लागि चाहिने धागो आयात गरेर बेच्ने काम गरेका कार्कीले पछि पस्मिना बनाउन पनि सुरु गरेका थिए। त्यो व्यवसाय पनि लामो समयसम्म जान सकेन।

२०५४/५५ तिर कार्की अध्ययनको लागि चीन गए। व्यवस्थापन पढ्न चीन गएका कार्कीको भेट नेपालमा जलविद्युत् आयोजना बनाउन सुरु गरेका व्यवसायीसँग भयो। त्यसपछि उनले नेपालमा कहाँ-कसले जलविद्युत् आयोजना बनाइरहेका छन् भनेर अध्ययन गरे। उनीहरूलाई के-के सामान चाहिन्छ भन्ने यकिन गरेर त्यस्ता सामान चीनबाट नेपाल आपूर्ति गर्न थाले।

निजी क्षेत्रबाट बनेका आयोजनामध्ये खिम्ति २०५७ असार र भोटेकोशी २०५७ माघमा सञ्चालनमा आएको थियो। १८३ किलोवाट (०.१८ मेगावाट० क्षमताको निजी क्षेत्रले बनाएको स्यांगे खोला २०५८ माघमा मात्रै सञ्चालनमा आएको थियो। २०५९ असोजमा ७.५ मेगावाटको इन्द्रावती-३ आयोजना सञ्चालनमा आयो। त्यसपछि जलविद्युतमा निजी क्षेत्रको प्रवेश ह्वात्तै बढ्दा कार्की पनि यही क्षेत्रमा होमिएका थिए।

यसको केही समयपछि उनी लमजुङ स्थित ५ मेगावाटको सिउरी खोला जलविद्युत् आयोजनामा प्रबन्ध निर्देशक भएर निर्माणमा खटिए। न्यादी ग्रुप प्राली प्रवर्द्धक रहेको उक्त आयोजना २०६४ मा सुरु भएर २०६९ मा सकियो। आयोजनामा ५ वर्ष बिताएका कार्कीले भने जलविद्युतमा निकै ठूलो सम्भावना देखे। उनी निकै सक्रिय भएर जलविद्युतमा लागेको २०७० पछि मात्रै हो। 

सिउरी खोलामा काम गरेको अनुभवले कार्कीले ललितपुरमा दुईवटा आयोजना बनाए। खानीखोला हाइड्रोपावर कम्पनीमार्फत ४.३ मेगावाटको टुङ्गुन ठोस्ने र २ मेगावाटको खानीखोलाबाट ४ वर्षभित्रै विद्युत् उत्पादन गर्न सफल भए। लमजुङमा ३ मेगावाटको मिदिम खोलाबाट पनि २०७४ मै विद्युत् उत्पादन सुरु भयो।

लमजुङमा ५ मेगावाटको आयोजना बनाउँदा कार्कीले जलविद्युत् आयोजना कसरी बन्दो रहेछ भन्ने ज्ञान पाए। सबैसँग सहजै घुलमिल हुन सक्ने स्वभावका कार्कीले बैंक-वित्तीय संस्थादेखि सरकारी क्षेत्र र निजी क्षेत्रका व्यवसायीसम्ममा सम्बन्ध विस्तार गरे।त्यसपछि कार्की एकैपटक २२/२५ मेगावाटका आयोजना बनाउन कस्सिए। २०७८ मा २२ मेगावाटको अपर चाकु-ए र २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजनाबाट पनि विद्युत उत्पादन सुरु भयो।

केही दिन अघिमात्रै उनले व्यवस्थापन हेरेको १९.८ मेगावाटको अपर सोलु जलविद्युत् आयोजना र लगानीकर्ताका रुपमा बोर्ड सदस्य रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट पनि विद्युत् उत्पादन सुरु भइसकेको छ। सबै गरेर कार्की संग्लग्न भएका आयोजनाबाट १३५ मेगावाट विद्युत् उत्पादन भइसकेको छ। त्यस्तै २६ मेगावाटको सुपर खुदी, २१ मेगावाटको सवा खोला, ६.२ मेगावाटको सवा खोला क्यासकेड, ५ मेगावाटको हेवा खोला र ४० मेगावाटको खानी खोला जलविद्युत आयोजना निर्माणाधीन छन्। यी सबै आयोजनाको क्षमता करीब १०० मेगावाट रहेको छ।

६० मेगावाटको नार खोला र ४० मेगावाटको बलेफी जलविद्युत् आयोजनाको अध्ययन सकिएर विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) को पर्खाइमा छन्। सबै गरेर कार्की संग्लग्न जलविद्युतको क्षमता करिब साढे तीन सय मेगावाट पुगिसकेको छ। 

images

प्रकाशित : शनिबार, असार २ २०८०१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend