शुक्रबार, असोज ४ गते २०८१    
images
images

मेलम्ची पुगेर प्रधानमन्त्रीले भने - यांग्री र लार्के खोलाबाट थप पानी ल्याउन पहल गर्छु

images
शनिबार, असार २ २०८०
images
images
मेलम्ची पुगेर प्रधानमन्त्रीले भने - यांग्री र लार्के खोलाबाट थप पानी ल्याउन पहल गर्छु

खानेपानी आयोजनाको निरीक्षण गर्न मेलम्ची पुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउन आवश्यक बजेटको व्यवस्था मिलाउने समेत बताएका छन्।

images
images

हेलम्बु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधान तथा आयोजनालाई व्यवस्थित बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
images
images

प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने पनि बताए। 'यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ', उनले भने, 'थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ।'

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु-१ अम्बाथान आइपुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाइ थियो।

सो क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिए। आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उनलाई जानकारी गराए।

images

प्रधानमन्त्री दाहालसँगको भेटमा हेलम्बु-१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले यस क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताएका थिए। उनले हेलम्बु-१ मा करिब नौ किलोमिटर सडक तत्काल कालोपत्र गर्नुपर्ने अवस्था रहेकाले सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री दाहाल आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची आइपुगेका हुन्। उनलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए।

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन्। उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि छन्। विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो। 

काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीनरुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो। सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ। सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ। 

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो। विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो। मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो। रासस


प्रकाशित : शनिबार, असार २ २०८००७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend