शुक्रबार, असोज ४ गते २०८१    
images
images

अब माइक्रोबस र जिप चढ्न नयाँ बसपार्क जानुपर्ने

images
बिहीबार , जेठ ३२ २०८०
images
images
अब माइक्रोबस र जिप चढ्न नयाँ बसपार्क जानुपर्ने

अब काठमाडौंभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा ‘काउण्टर’ राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुनेछन्।

images
images

काठमाडौं- के तपाई काठमाडौंभित्रबाट सार्वजनिक माइक्रोबस र जिप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ? जाँदै हुनुहुन्छ भने अब तपाईँ गोँगबुस्थित नयाँ बसपार्क पुग्नुपर्ने हुन्छ। काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेको छ।

images
images
images

सो व्यवस्थासँगै अब काठमाडौंभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा ‘काउण्टर’ राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुनेछन्। उक्त निर्णय कार्यान्वयनसँगै अब काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने झन्डै दुई हजार सार्वजनिक माइक्रोबस तथा जिप नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन्छन्। रातको समयमा जुन ठाउँमा पार्किङ गरे पनि यात्रु चढाउनका लागि नयाँ बसपार्कभित्र पुग्नुपर्ने हुन्छ।

नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणको कामलाई समेत तीव्रता दिएको छ। लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशोधन प्रमुख पंकज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जिप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माण गर्ने काम भइरहेको बताए। 'नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ,' उनले भने।

यस्तै, जिप तथा माइक्रोबसलाई नयाँ बसपार्क भित्रबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि माइक्रोबस तथा जिप समन्वय समिति लागेको छ। समितिले गत जेठ ३० गते पत्रकार सम्मेलन गरी काठमाडौंका विभिन्न क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने जानकारी दिएको हो।

images

समितिका संयोजक राजेन्द्र आचार्य काठमाडौं महानगरपालिकाले गत जेठ १९ गते लामो, मध्यम तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनका लागि असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको बताउँछन्।

'स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ, उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागू गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौँ, स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन,' उनी भन्छन्।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए। असार १ देखि सबै टिकट काउण्टर बसपार्कभित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिनसमेत उनले यात्रुलाई आग्रह गरे। हाल  काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, वुटवल, भैरहवा, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमोसञ्चालन हुँदै आएका छन्।

संयोजक आचार्य नयाँ बसपार्कभित्रबाट माइक्रो बस तथा जिप सञ्चालन गर्नका लागि लोत्से बहुृउदेश्यीय प्रालिसँगसमेत सम्झौता गरिसकेको बताउँछन्। 'नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउनका लागि आवश्यकपर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ,' संयोजक आचार्य भन्छन्।

नयाँ बसपार्कबाट माइक्रोबस तथा जिप सञ्चालन गर्दै गर्दा यात्रुहरुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न उनले महानगरपालिकासँग आग्रह गरे।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे काठमाडौंभित्रको यातायातलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि महानगरपालिका लागेको बताउँछन्। 'काठमाडौं महानगरपालिकाले लामो तथा छोटोदुरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्क निर्माण गरी उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ,' उनी भन्छन्। बसपार्कभित्र सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने उनको भनाइ छ।

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो। एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८ सयभन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता रहेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ३२ २०८००९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend