शुक्रबार, असोज ४ गते २०८१    
images
images

राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो

images
सोमबार, जेठ २९ २०८०
images
images
राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो

महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मण जोशीले यसवर्ष करिडोरका लागि माग गरेकोभन्दा आधा मात्रै बजेट आएका बताए। सुदूरपश्चिमको महत्वपूर्ण योजना मानिएको महाकाली करिडोरमा पनि आवश्यकताअनुसार बजेट आएको छैन।

images
images

दोधारा चाँदनी- आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ। यहाँको महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट घटेको हो।

images
images
images

बजेट अभावका कारण निमार्णले गति लिन नसकिरहेका बेला यसवर्ष पनि मागअनुसार बजेट नआउँदा आयोजनाको काम पछि धकेलिने चिन्ता थपिएको छ। महाकाली सिँचाइ आयोजना बजेट अभावका कारण पन्ध्र वर्षसम्म २८ किलोमिटर मूल नहर मात्रै निर्माण भएको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले माग अनुसार बजेट नआएको बताए।

'आगामी आर्थिक वर्षमा आयोजनाका लागि एक अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन भएको छ', उनले भने, 'चालु आर्थिक वर्षमा एक अर्ब २३ करोड रूपैयाँ बजेट छुट्याइएको थियो।' 

आयोजनाका लागि आव २०८०/८१ का लागि दुई अर्ब रूपैयाँ बजेट माग गरिएकामा एक अर्ब १७ करोड रूपैयाँ विनियोजन भएको इन्जिनियर पण्डितले जानकारी दिए। माग भन्दा निकै कम बजेट आएपछि आयोजना निमार्णको काम प्रभावित हुने उनको भनाइ थियो।

images

आयोजनाअन्तर्गत आगामी आवमा २८ देखि ४८ किलोमिटर मूल नहर निर्माण सक्ने योजना छ भने निर्माण सम्पन्न भएको मूल नहरको २८ किलोमिटरमा २२ शाखा निर्माण गरी किसानलाई सिँचाइका लागि पानी पुर्‍याउने लक्ष्य रहेको इन्जिनियर पण्डितले बताए।

आर्थिक वर्ष २०६३/६४ देखि आयोजनाको काम सुरु भएको थियो। 'केहीवर्ष मुआब्जा विवादका कारण काम सुरु हुन सकेन। काम सुरु भएपछि पनि न्यून बजेटका कारण निकै सुस्त गतीमा काम भएको छ', उनले भने, 'पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखिए पनि आवश्कताअनुसार बजेट आउन नसकेपछि आयोजनाको काम प्रभावित हुँदै आएको छ।'

त्यस्तै, सुदूरपश्चिमको महत्वपूर्ण योजना मानिएको महाकाली करिडोरमा पनि आवश्यकताअनुसार बजेट आएको छैन। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म जोड्ने निर्माणाधीन उक्त सडकले पनि न्यून बजेटका कारण गति लिन सकेको छैन।

महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मण जोशीले यसवर्ष करिडोरका लागि माग गरेकोभन्दा आधा मात्रै बजेट आएका बताए। '८० करोड रूपैयाँ माग गरिएकामा ४५ करोड रूपैयाँ मात्रै विनियोजन गरिएको छ', उनले भने, 'चालु आर्थिक वर्षका लागि महाकाली करिडोरले ५१ करोड रूपैयाँ बजेट पाएको थियो आगामी वर्षका लागि झन घटेर आएको छ।'

आयोजनाअन्तर्गत ब्रह्मदेवदेखि टिंकरसम्म चार सय २५ किलोमिटरमध्ये दार्चुलाको तुषारपानीसम्म तीन सय ३४ किलोमिटर आयोजनाले र तुषारपानीदेखि टिंकरसम्मको ९१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। सेनाले निर्माण गरिरहेको र आयोजनाले गरिरहेको दुवै क्षेत्रका लागि ४५ करोड रूपैयाँ विनियोजन भएको प्रमुख जोशीले जानकारी दिए। आयोजना कार्यालयका अनुसार तीन सय ३४ किमीमध्ये अझै एक सय नौ किमी ट्र्याक खोल्न बाँकी छ।

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले राष्ट्रिय गौरवका आयोजनाको बजेट घटनु दुःखद् भएको बताए। 'पाँच वर्षमा सम्पन्न हुने आयोजना पन्ध्र वर्ष पुग्दा पनि सम्पन्न हुन सकेका छैनन्', उनले भने, 'सरकारले राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राखेर आवश्यकता अनुसार बजेट विनियोजन गर्नु पर्दछ।' न्यून बजेटका कारण आयोजनाको काम हालसम्म पनि सम्पन्न हुन नसकेको उनको भनाइ थियो। रासस 


प्रकाशित : सोमबार, जेठ २९ २०८००६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend