काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार अर्थतन्त्रका सूचक सुधारको बाटोमा देखिएको छ। विदेशी मुद्राको सञ्चितिदेखि रेमिट्यान्स बढ्दो छ।
सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा ७.४१ प्रतिशत पुगेको छ। तर चैतसम्म ७.७६ रहेको मूल्य वृद्धिदर बैशाखमा ७.४१ प्रतिशतमा झरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको १० महिनामा आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ। यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ।
कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड रहेको छ। यसैगरी संघीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन ७ खर्ब ५६ अर्ब २५ करोड रहेको छ।
विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेको छ।
चैतको तुलनामा मूल्यवृद्धिदर घट्दो
नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको दश महिनाको वित्तीय अवस्था अनुसार चैत महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति केही घटेको छ। उपभोक्ता मुद्रास्फिति ७.४१ प्रतिशत रहेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ता मूल्यवृद्धि ७.४१ प्रतिशत रहेको छ। चैतमा मुद्रास्फिति केही घटेको हो। चैतमा मूल्य मुद्रास्फिति ७.७६ रहेको थियो।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ।
गैर-खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ। यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत र पहाडमा ७.५७ प्रतिशत पुगेको छ। त्यस्तै, तराई क्षेत्रमा ७.१५ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ।
यसैगरी २०८० बैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ।
तलब बढ्यो
२०८० बैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ७.६४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ८.५२ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १२.३९ प्रतिशत र ६.२९ प्रतिशतले बढेको छ।
आयात र निर्यातसँगै वैदेशिक व्यापार घाटा घट्दै
आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई १ खर्ब ३० अर्ब ९० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ। आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आई १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ।
दश महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई १२ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो।
सेवा क्षेत्रको आय घाटामा
समीक्षा अवधिमा खुद सेवा आय ५७ अर्ब ७४ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ८८ अर्ब १८ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९३.८ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६ अर्ब ७७ करोड रहेको थियो।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३५.३ प्रतिशतले वृद्धि भई १ खर्ब२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ७५ अर्ब १४ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।
१० महिनामा भित्रियो १० खर्ब ५ अर्ब रेमिट्यान्स
गत आर्थिक वर्ष रेमिट्यान्समा खासै सुधार नहुँदा दबाबमा परेको अर्थतन्त्रलाई यो वर्षको सुरूदेखि नै रेमिट्यान्समार्फत सहयोग मिलिरहेको छ। चालु आर्थिक वर्ष सुरु भएदेखि रेमिट्यान्समा सुधार देखिएको छ। गत आर्थिक वर्षको अन्तिम त्रैमासदेखि भएको सुधारले अहिलेसम्म निरन्तरता पाएको छ। कोरोना महामारीको समयमा विदेश जाने नेपालीको संख्यामा कमी आउँदा गत वर्ष प्रभावित भएको रेमिट्यान्स यो वर्ष भने लयमा देखिएको हो। राष्ट्र बैंकका अनुसार चालु वर्षको ९ महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्सको वृद्धिदर नेपाली रुपैयाँमा उच्च देखिएको छ। नेरुमा रेमिट्यान्स गत वर्षको तुलनामा २३.४ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो। पछिल्लो समय कामका लागि विदेश जाने नेपालीहरूको संख्यामा वृद्धि भएको तथा अमेरिकी डलर बलियो हुँदा नेपाल आउने रेमिट्यान्समा उच्च वृद्धि देखिएको छ। यही वृद्धिदर कायम भए बाह्य क्षेत्रलाई सन्तुलनमा राख्न सहज हुनेछ।
पछिल्ला ६ महिनामा भने मासिक १ खर्बबढी रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर, पुष, माघ,फागुन र चैत र बैशाखमा खर्बमाथि भित्रिएको छ।
साउनदेखि असोजसम्म ९० देखि ९७ अर्बको बीचमा रहेको मासिक आप्रवाह मंसिरदेखि भने खर्बमाथिको आँकडा निरन्तर रहेको छ। राष्ट्र बैंकका अनुसार मंसिरमा १ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो।
त्यस्तै पुसमा १ खर्ब ४ अर्ब भित्रिएको थियो। माघमा पनि १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको थियो। फागुनमा पनि १ खर्ब ४ अर्ब भित्रिएको छ। चैतमा १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको थियो भने बैशाखमा १ खर्ब १ अर्ब आएको छ।
नेपालको भुक्तानी सन्तुलन कायम राख्नमा रेमिट्यान्सको भुमिका रहेको छ। वस्तु व्यापारमा रहेको चरम घाटालाई रेमिट्यान्सबाट प्राप्त विदेशी मुद्राले सन्तुलन कायम गर्दै आएको छ। आयात उच्च हुँदा रेमिट्यान्स सुस्त हुनेवित्तिकै भुक्तानी सन्तुलन प्रभावित हुँदै आएको छ।
पछिल्लो समय रेमिट्यान्समा देखिएको सुधारलाई अझै तीव्रता दिन सकिने अधिकारीहरूको भनाइ छ। विशेषगरि चुहावट नियन्त्रण गरि रेमिट्सान्स अझै बढाउन सकिने यसअघिका सरकारी अध्ययनको निष्कर्ष छ। यो वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा उच्च वृद्धि भएकाले आगामी दिनमा रेमिट्यान्समा अझै वृद्धि हुने आधार रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २ सय ७९ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९ सय ७६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।
विदेशी मुद्राको सञ्चिति बढ्दो, ९.७ महिनाको आयात धान्ने क्षमता
विदेशी मुद्रा सञ्चितिमा सुधार भइरहेको छ। पछिल्ला महिनामा सुधार हुँदै बढिरहेको रेमिट्यान्सका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो। राष्ट्र बैंकका अनुसार अहिले ११ अर्ब २१ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ। बैशाखमा मात्रै २७ करोड डलरले विदेशी मुद्राको सञ्चिति बढेको हो।
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० बैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ।
यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० बैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ।यो गएको १९ महिनाकै उच्च हो। गत आर्थिक वर्षको असोजमा १० अर्ब ९८ अर्ब डलर सञ्चिति थियो। उक्त समयमा तीव्र घट्दो क्रममा रहेको सञ्चिति निरन्तर घटेर ९ अर्ब ३४ करोड डलरमा झरेको थियो। चालु वर्षको असोजदेखि बढ्न सुरु गरेर अहिले १८ महिनाअघिकै तहमा पुगेको छ।
यो सञ्चितिले ११.२ महिनाको वस्तु तथा ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ।
कच्चा पेट्रोलियम मूल्य घट्दो, सुनको मूल्य बढ्दो
अन्तर्राष्ट्रिय बजारमा २०७९ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ११२.१२ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० बैशाख मसान्तमा ३३.५ प्रतिशतले कमी आई अमेरिकी डलर ७४.५४ कायम भएको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १८११.५५ रहेकोमा २०८० बैशाख मसान्तमा ११.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २०१९.९० पुगेको छ।
सरकारसँग १ खर्ब ८० अर्ब नगद मौज्दात
२०८० बैशाख मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ८० अर्ब ४२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ। २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रहेको थियो।
आन्तरिक कर्जा बढ्यो
आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल आन्तरिक कर्जा ५.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ११.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० बैशाख मसान्तमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। चालु आवको १० महिनामा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १३.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ५.२ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ बैशाख मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ४६.८ प्रतिशतले बढेकोमा २०८० बैशाख मसान्तमा यस्तो दावी ५१.१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १४.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० बैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.८ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो
चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसर चालु आवको १० महिनामा निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ।
२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ६०.० प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, २८.१ प्रतिशत र ५६.५ प्रतिशत रहेको थियो।
२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ। २०७९ बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३८.४ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १५३ अर्ब १७ करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५४८ अर्ब १४ करोड रुपैयाँले बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फत प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ।
२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फत प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ५.० प्रतिशतले र वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ।
१० महिनामा ३ अर्ब ५६ करोड रुपैयाँ सहुलियत दरको कर्जा प्रवाह
सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० बैशाख मसान्तमा ३ अर्ब ५६ करोड लगानीमा भएको बैंकले जनाएको छ। २०८० बैशाख मसान्तमा १ लाख ४६ हजार ८ सय ६६ ऋणीलाई प्रवाह भएको २ खर्ब ३ अर्ब २५ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ७ सय १३ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ८८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ३ सय ५८ महिला उद्यमीलाई प्रवाह भएको ६१ अर्ब ३१ करोड कर्जा बक्यौता रहेको बैंकले जनाएको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ९५ ऋणीको ३ अर्ब ७ करोड कर्जा बक्यौता रहेको बैंकले जनाएको छ।
व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड- १९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० बैशाख मसान्तमा ७४ करोड ८५ लाख बक्यौता रहेको छ।