शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान

images
images
पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान

पछिल्लो समय बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग पनि जोड्न पहल थालिएको छ।

images
images

गण्डकी- सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास। बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छ भन्दा अत्युक्ति नहोला।

images
images
images

पोखरामा फेवा तालमा दैनिक ठूलै संख्यामा पर्यटक पुगे पनि बेगनास तालमा भने आइपुग्नेको संख्या कम नै हुने गर्दछ। पछिल्ला समयमा यहाँ पर्यटकको आगमन बढाउन लेखनाथ उद्योग वाणिज्य संघसहित बेगनास ताल डुंगा व्यवसायी समिति, मत्स्य व्यवसायी संघ लेखनाथलगायतका संघसंस्था क्रियाशील बनेका छन्।

images

बेगनास तालको संरक्षणसँगै यसको पर्यटकीयरुपमा अधिकतम उपयोग होस् भन्ने कुरालाई लेखनाथ उद्योग वाणिज्य संघले सधैँ आफ्नो प्राथमिकतामा राखेको संघका अध्यक्ष छत्रधर आत्रेय बताउँछन्।

images

पोखरा र आसपासका सञ्चालन हुने महोत्सवमध्ये सबैभन्दा ठूलो संख्यामा सर्वसाधारणको जमघट हुने लेखनाथ महोत्सवका अवसरमा वर्षेनी यसको संरक्षण र उपयोगलाई जोड दिँदै विभिन्न कार्यक्रमहरू समेत सञ्चालन हुने गर्दछ। महोत्सव सुरु भए यता नै तालको संरक्षण र पर्यटकीय उपयोग गर्ने विषय प्राथमिकतामा रहँदै आएको उनको भनाइ छ। लेखनाथ महोत्सव २०५८/५९ देखि नै सुरु भए पनि औपचारिक र व्यवस्थित रुपमा २०६० सालबाट सुरु भएको हो। 

images
images

अध्यक्ष आत्रेयले ताल किनाराको रातमाटा क्षेत्रमा करिब १३ लाख रूपैयाँको लागतमा अंग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राख्ने तयारी गरिएको बताए। बेगनास ताल आउने पर्यटकले टाढैबाट देख्न सक्ने गरी बनाउन लागिएको बोर्ड ७० फुट लम्बाई र १७ फुट उचाइको हुनेछ। बोर्डमा प्रयोग हुने प्रत्येक अक्षर १० फुटको हुने जनाइएको छ। संघले २०७९ मा सम्पन्न १८औँ लेखनाथ महोत्सवमा बेगनास ताल र यहाँका गतिवधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरेको थियो।

लेखनाथको समृद्धिको महत्वपूर्ण आधार बेगनास भएकाले ताल र यहाँ हुने गतिविधिलाई समेटेर तयार गरिएको उक्त दृश्यका अवधारणाकार एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व सदस्य विश्वगोपाल श्रेष्ठले १० जना सहयोगी लिएर एक हप्तामा उक्त डेमो तयार गरेका थिए। बेगनास तालको दृश्यमा ताल र आसपासका स्थान, तालको मुहान स्याङ्खुदीदेखि कपासे, बेगनास मौरी उद्योग, तालको सबैभन्दा गहिरो भाग रहेको कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्याम साइड आदि विषय समेटिएको थियो। त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यू टावर, काउरे, माझिकुना दृश्यमा समेटिएको थियो।

पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको माझीकुना, मलादी, ठूलो सालको रुख, बराह क्षेत्र, राते टूडो, सुमिको रुख आदि दृश्यसँगै ठाउँठाउँमा घर तथा बस्तीले यहाँको सम्भाव्य विकासको अवस्थालाई पनि चित्रण गरिएको थियो। 

पछिल्लो समय बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न पहल थालिएको छ। बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो। साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको एक करोड १७ लाख रूपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको पोखरा महानगरपालिका-३१ का वडा अध्यक्ष एवम् बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए।

बराह क्षेत्रमा बेगनासताल बराह क्षेत्र पर्यटकीय पूवर्पाधार निर्माण योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारबाट ५० लाख रूपैयाँको सहयोग प्राप्त भई निर्माण कार्य अघि बढाइएको समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताए। योजनाअन्तर्गत बेगनास ताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण थालिएको हो।

योजनाका लागि कुल ५५ लाख ७६ हजार ९ सय १७ रूपैयाँ लागत लाग्नेमा गण्डकी प्रदेश प्रदेश सरकारबाट ५० लाख रूपैयाँ र श्रमदानबाट पाँच लाख ७६ हजार ९ सय १७ रूपैयाँ विनियोजन गरिएको छ।

बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए। बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ। बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेका थिए। बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पुर्‍याउने लक्ष्यका साथ मन्दिरलगायतका संरचना निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताए।

प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिँदै आइएको यस तीर्थस्थलमा डुंगा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुंगा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्दै आएका छन्।

बराह मन्दिरबाट बेगनासकोटसम्म तीन किलोमिटर दुरीको पदमार्ग बनाउने काम सुरु भएको वडाअध्यक्ष कंडेलले जानकारी दिए। पदमार्गका लागि अघिल्लो वर्ष महानगरबाट १५ लाख रूपैयाँ सहयोग प्राप्त भएकोमा यस वर्ष नौ लाख नौ हजार रूपैयाँ प्राप्त भएको छ।

त्यस्तै तालको किनारामा पैदल मार्ग (फुट ट्रयाक) बनाउनका लागि नेपाल पर्यटन बोर्डको १५ लाख रूपैयाँ र पोखरा महानरपालिकाको तीन लाख ७५ हजार गरी १८ लाख ७५ हजार रूपैयाँको लागतमा डुंगाघाटबाट फुट ट्रयाक निर्माण सुरु गरिएको छ। महानगरपालिकाले बेगनास सेरोफेरो कार्यक्रमअन्तर्गत १५ लाख रूपैयाँ विनियोजन गरेको कंडेलले जानकारी दिए।

बेगनास बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मंसिर २२ गतेदेखि २९ गतेसम्म यस स्थानमा महायज्ञ गरिएको थियो। बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रवनाथ अधिकारीका अनुसार महायज्ञमा कुल एक करोड चार लाख आम्दानी भएकामा सबै खर्च कटाएर ७६ लाख रूपैयाँ बचत भएको थियो। बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ। 

बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवर्द्धन र विकास गर्ने लक्ष्य राखिएको थियो।

महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताए। तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उनले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताए।

बेगनास तालमा डुंगा व्यवसाय सञ्चालनमा २५६ जना व्यवसायी आवद्ध रहेको बेगनास डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलले बताए। डुंगा व्यवसायीसँगै वर्षौदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका जलाहारी समूदाय पनि एकाकार हुँदै तालको संरक्षण, विकास र उपयोगमा सहकार्य गर्दै अघि बढ्ने कंडेलले जानकारी गराए।

बेगनास ताल आसपासका व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि समितिले गत चैतमा अवलोकन भ्रमण गराएको थियो। समितिले ९० जना व्यवसायीलाई पछिल्लो समयमा चर्चित भरतताल, जनकपुर, सहिद स्मारक, सौराहा, सिजी धाम आदिमा अवलोकन भ्रमण गराउँदै त्यहाँबाट पर्यटकको आतिथ्यता लगायतमा प्रत्यक्ष बुझ्ने अवसर प्रदान गरेको उनले जानकारी दिए।

बेगनासतालमा हाल २ सय ५६ वटा डुंगाले पर्यटकलाई सेवा दिइरहेका छन्। पर्यटकको आगमन बढाउने उद्देश्यका साथ समितिले हालै ५० लाख रूपैयाँको मोटरबोट खरिद गरेको छ। समयानुकल रुपमा पर्यटकलाई स्तरीय छिटो छरितो सेवा दिने उद्देश्यका साथ डुंगा व्यवसायीले सामुहिक रुपमा रकम उठाएर मोटरबोट ल्याएको जानकारी दिँदै अध्यक्ष तिवारीले यसका माध्यमबाट सेयर सदस्यको आर्थिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताए।

जल विहारसँगै माछाका विभिन्न परिकारको स्वाद लिन पाउनु बेगनास तालको अर्को विशिष्टता हो। बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाउने गरिएकामा पछिल्ला समयमा टिलापिया जस्ता मिचाहा प्रजातिका कारण उक्त संख्या घट्दो क्रममा रहेको छ। यस क्षेत्रका ५६ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन्।

तालको उत्तरी किनारमा रहेको पिप्लेगाउँमा ४२ परिवारको बसोबास भएकामा ३२ परिवार जलारी समुदायका छन्। बाँकी छ परिवार विक र चार अन्य छन्। वर्षौदेखि माछा मारेर जीवीका गर्दै आएका उनीहरूको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो। माछा बिक्री गरेरै प्रत्येक परिवारले मासिक २० देखि ५० हजार रूपैयाँसम्म आम्दानी गर्दै आएको वेगनास ताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी बताउँछन्।

तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो एक सय ८० देखि एक हजार रूपैयाँसम्म पर्छ। वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत विभिन्न प्रजातिका माछा पाइन्छन्। 

कोरोनाअघि माछाको स्वाद लिन ठूलै संख्यामा पर्यटक आउने गरेकोमा त्यसयता भने केही कमी आएको स्थानीयवासीको तर्क छ। पछिल्ला समयमा विस्तारै पर्यटकहरू आउने क्रम बढेका कारण आशा जगाएको उनीहरू बताउँछन्। बेगनास तालमा पर्यटक लक्षित पूर्वाधार एवम् गतिविधि बढ्दै जाँदा यसले यहाँको पर्यटनमा विशिष्ट योगदान पुग्ने उनीहरूको विश्वास छ। रासस

images

प्रकाशित : सोमबार, जेठ २२ २०८००७:००

प्रतिक्रिया दिनुहोस