आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

गण्डकी प्रदेश : बजेट विनियोजन भएर पनि कार्यान्वयन भएनन् योजना

images
सोमबार, जेठ २२ २०८०
images
गण्डकी प्रदेश :  बजेट विनियोजन भएर पनि कार्यान्वयन भएनन् योजना

वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रिया अघि बढाएको छ। 

images
images

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ देखि नै बजेट विनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब) मा समावेश गरेको थियो। 

images
images
images

लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भए पनि पुल निर्माण अघि बढ्न सकेको थिएन। वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रिया अघि बढाएको छ। 

images
images

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले स्रोत सुनिश्चितता र थप बजेटको व्यवस्थापन भएपछि पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिए। '२५ मिटर लामो सडक पुलको डीपीआर तीन वर्षअघि नै बनेको थियो', उनले भने, 'चालु आवमै कुल लागतको २० प्रतिशत पुग्ने गरी थप बजेट व्यवस्थापन र बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता भएको पत्र आएको छ। अब योजना कार्यान्वयनको प्रक्रिया अघि बढाउँछौँ।'

images
images

कुल छ करोड नौ लाख रूपैयाँ लागत अनुमान गरिएको पुल निर्माणका लागि अघिल्लो आव २०७८/७९ र चालु आव २०७९/८० मा ५०/५० लाख रूपैयाँ विनियोजन भएको थियो। कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता भएका आयोजनाको मात्र ठेक्का लगाउन पाउने नीतिगत व्यवस्थाका कारण पुल निर्माणको काम अघि बढ्न सकेको थिएन। 

चालु आवमा सो पुल निर्माणका लागि अपुग थप ९१ लाख रूपैयाँ थप बजेट व्यवस्थापन गरेर अर्थ मन्त्रालयले हालै बहुवर्षीय योजनाका लागि स्रोत सुनिश्चितता गरी ठेक्का लगाउन सहमति दिएको हो। अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो।

बर्खामा बाढी र नदीमा पानीको सतह बढ्दा यातायातको साधन सञ्चालन हुन सकेका थिएन। मालिका-३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताए।

यसैगरी प्रक्रियामै अल्झिएको बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-३ को सिमानास्थित अर्चेखोला मोटरेबल पुल र अन्नपूर्ण गाउँपालिकाको भुरुङ-पाउद्वार तातोपानी जोड्ने झोलुंगे पुल निर्माणका लागि थप चालु आवमै थप बजेटको व्यवस्था गरेर ठेक्का आह्वान गर्ने तयारी भएको छ। 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेशस्तरको बजेटको स्रोत सुनिश्चित समितिले दुईवटै योजनालाई स्रोत सुनिश्चितता र थप बजेट व्यवस्था गर्न अर्थमन्त्रालयमा सिफारिस गरिसकेको बताए। 'योजनामा समावेश भए पनि स्रोत सुनिश्चितता र २० प्रतिशत बजेट नपुगेका योजनाको सङ्ख्या धेरैनै छ', उनले भने, 'प्रदेशभर यस्ता आयोजना पहिचान गरेर तत्काल कार्यान्वयनमा लैजान पहल गरिएको छ।'

अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन चार करोड ९० लाख रूपैयाँ र एक सय २६ मिटर लामो भुरुङ-पाउद्वार तातोपानी झोलुंगे पुल बनाउन एक करोड ५६ लाख रूपैयाँ लागत अनुमान गरिएको थियो।

चालु आवभित्रनै ठेक्का आह्वान गर्न अर्चेखोलाको पुललाई थप ३० लाख रूपैयाँ र भुरुङ-पाउद्वार तातोपानी झोलुंगे पुललाई नौ लाख रूपैयाँ थप बजेट व्यवस्था गरी क्रमागत योजनामा समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस भएको हो। अर्थ मन्त्रालयले सिफारिस स्वीकृत गरेपछि ठेक्का प्रक्रिया सुरु गर्ने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, जेठ २२ २०८००६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend