सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

पोखरा-मुग्लिन सडक : पूर्वी खण्डमा थालियो कालोपत्र

images
आइतबार, जेठ २१ २०८०
images
images
पोखरा-मुग्लिन सडक : पूर्वी खण्डमा थालियो कालोपत्र

पूर्वी खण्डको विसं २०७८ बैशाख २ गतेदेखि काम सुरू भएको थियो। करिब ४१ दशमलव ४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। यसको म्याद विसं २०८१ बैशाखसम्म रहेको छ।

images
images

डुम्रे- पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरू गरिएको छ। आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरू गरिएको हो। 

images
images
images

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्र गर्न सुरू गरिएको छ। 

images
images

'पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्र सुरू गरेका हौँ, कालोपत्र गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटोअनुसारको कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्र गर्नेछौँ', प्रमुख सुवेदीले भने। चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको उनले बताए।

images
images
images

'यातायात आवागमनलाई सहजताका लागि पहिलो चरणमा दुई लेन कालोपत्र गरिन्छ, त्यसपछि अर्कोतर्फको सडकमा कालोपत्र गरिन्छ', प्रमुख सुवेदीले भने। यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको उनले बताए।

'निर्धारित समयमा पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौँ, निर्धारित समयमा सडक निर्माणको काम सम्पन्न गरी सर्वसाधारणलाई सहज बनाउन प्रतिबद्ध छौँ,' उनले भने, 'अब सडक विस्तारअन्तर्गत सम्याउने र यसलाई क्रमिकरुपमा कालोपत्र गर्नेछौँ।' मापदण्डलगायत सबै पुगेका क्षेत्रमा यससँगै कालोपत्र गर्दै काम सम्पन्न गर्ने उनले बताए।

पूर्वी खण्डको निर्माणका लागि विसं २०७७ माघ १७ मा सम्झौता भई विसं २०७८ बैशाख २ गतेदेखि काम सुरू भएको थियो। करिब ४१ दशमलव ४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ बैशाखसम्म रहेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ मा सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो। यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। यस खण्डको म्याद २०८१ भदौसम्म रहेको छ। विसं २०२६ मा रेखांकन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ। 

पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाख रूपैयाँमा ठेक्का लागेको छ। सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ। 

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ। दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ।

सडक विस्तारका क्रममा धुलो हुँदा स्थानीयले समयसमयमा पानी हाली सहज बनाउनसमेत माग गर्दै आएका छन्। सडक विस्तारबाट हुने प्रदूषणको व्यवस्थापन गर्न वा निराकरणकै लागि पनि पानी हाली सहजता कायम गर्न उनीहरुले माग गरेका हुन्। रासस 


प्रकाशित : आइतबार, जेठ २१ २०८००७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend