शुक्रबार, असोज ४ गते २०८१    
images
images

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस

images
शनिबार, जेठ २० २०८०
images
images
काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस

एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो। त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ।

images
images

झापा- पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो।

images
images
images

एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो। त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन्।

पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताए। उनले भारु एक लाख सटही गर्दा चार हजार रूपैयाँ कमिसन दिनुपरेको दावी गरे। उनले काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दुरीको यातायात सेवा प्रदान गर्दै आएका भाडाका बस, माइक्रो तथा साना गाडीमा ‘भाडा तिर्दा भारु नोट नदिनुहोला’ भन्ने सूचना टाँस्न सुरु भइसकेको जानकारी दिए। स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ।

काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगीलगायतका सीमानाका र बजारमा विगतमा जस्तो भारुमा लेनदेन अब हुन छाडेको छ। नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन्।

images

भारतबाट लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिकमन्दीको मारमा रहेको कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी एक्सचेन्जर व्यवसायी बताउँछन्।

मेची मनी एक्सचेन्जर व्यवसायी संघका अध्यक्ष विष्णु मैनालीले बजारमा भारु नोट छ्याप्छ्याप्ती भएको जनाउँदै सटहीका लागि व्यवसायीसँग पर्याप्त नेपाली रुपैयाँ नभएको बताए।

'भारु सटही हुनछाडेको भन्ने हल्ला मैले पनि सुनेको छु, तथापि सटही नै बन्द भएको वा भारु चल्नै छाडेको भन्ने कुरा सत्य होइन', संघका अध्यक्ष मैनालीले भने, 'बोर्डरमा जोसँग पनि भारु नोट हुन्छ। नेपालमा व्यवसाय मन्दीका कारण ठप्पजस्तै छ। यस्तो बेला भारु किन्न आउने कोही छैनन्। भारु बेच्ने धेरै भए, किन्ने नहुँदा समस्या देखिएको मात्र हो।'

उनले काँकडभिट्टामै ३२ वटा अनुमतिप्राप्त मनी एक्सचेञ्जर व्यवसायी भएको जनाउँदै नेपाल राष्ट्र बैंकले तोकेको सटही दरभन्दा तलमाथि गरेर कसैले पनि कारोबार गर्न नहुने बताए। आर्थिकमन्दीका कारण मनी एक्सचेन्जर व्यवसाय संकटबाट गुज्रिरहेको र कतिपय व्यवसायी पलायनको अवस्थामा पुगिसकेको अध्यक्ष मैनालीले बताए।

भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन् । भारतको सिलगुडी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली काँकडभिट्टा नाका भएर स्वदेश फर्किने गर्छन्।

मेघालयबाट फर्केका दैलेख दुल्लुक किसनकुमार शाहीले एउटा होटलको सहयोगमा प्रतिहजार ४० रूपैयाँका दरले ‘बट्टा’ दिएर मनी एक्सचेञ्जरबाट मुस्किलले भारु सटही गरेको बताए।

भारतको आसाम, पश्चिम बंगाल, सिक्किम र विहारबाट झापाको आँखा अस्पतालमा ठूलो सङ्ख्यामा आउने भारतीयले उपचार खर्च भारुमै दिँदै आएका छन्। काँकडभिट्टा क्षेत्रमा क्यासिनो व्यवसायमार्फत पनि ठूलो मात्रामा भारु नोट नेपाल भित्रिने गरेको छ। रासस


प्रकाशित : शनिबार, जेठ २० २०८००५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend