सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

मकै बेचेर घरखर्च धान्दै

images
मंगलबार, जेठ १६ २०८०
images
images
मकै बेचेर घरखर्च धान्दै

दैनिक दुई हजारदेखि दुई हजार पाँच सय रूपैयाँसम्म कमाइ हुने जमुना रुचाल बताउँछिन्।

images
images

गल्याङ- स्याङ्जाको पुतलीबजार नगरपालिका-११ मायाटारस्थित सिद्धार्थ राजमार्गको छेउमा चिटिक्क परेको काठको छाप्रो छ। छाप्रो अगाडि माटोको चुलोमा धुँवा उडिरहेको छ।

images
images
images

३९ वर्षीया जमुना रुचाल चर्को घाममा पनि पसिना चुहाउँदै मकै पोल्न व्यस्त छिन्। उनी बिहानै भालेको डाँकोसँगै उठ्छिन् र सरसफाइको काम भ्याउँछिन्। मोही पार्छिन् र टिमुर, पुदिना, गोलभेडा, नून तथा हरियो खुर्सिनी राखेर अचार बनाउँछिन्। यसरी तयार पारेको सामान झोलामा बोक्दै रुचाल घरदेखि केही तलको  मकै पोल्ने ठाउँमा झर्छिन्।

images
images

'मकै पोलेर बिक्री गर्न थालेको पाँच वर्ष भयो, यसकै आम्दानीले गुजारा चलाएकी छु', दाउरा आगोमा ठोस्दै उनले भनिन्, 'सुन्तलाको याममा सुन्तला बेच्छु, हरिया मकै बेमौसमी पनि पाइने भएकाले अहिले मकै पोलेर बेचिरहेकी छु।' यही काम पनि सजिलोसँग गर्न नपाइएको उनको गुनासो छ।

images
images
images

'काठको खामो गाडेर छाप्रो बनाएकी थिएँ, काठकै टेबुल र बेन्च पनि थियो, छाप्रो भत्काइदिन थाले', औँलाले देखाउँदै उनले भनिन्, 'टेबुल पनि चोरी हुन थाल्यो। अहिले भने बेन्च फलामको बनाउन लगाएर राखेकी छु।'

दैनिक ४०-५० वटासम्म पोलेको मकै बिक्री हुन थालेको रुचालले बताइन्। 'दैनिक दुई हजारदेखि दुई हजार पाँच सय रूपैयाँसम्म कमाइ हुन्छ', उनले भनिन्। रुचालले मोहीसमेत बिक्री गर्छिन्। सबै गरेर महिनामा एक लाख ५० हजार रूपैयाँसम्म कारोबार हुने गरेको रुचालले बताइन्।

गल्याङ नगरपालिका-६,पिँडिखोलाका शेरबहादुर थापा प्रायःजसो पोलेको मकै, मोही र चटनी खान यहाँ आउने गर्छन्। स्वदेशमा रोजगार भएन भन्नेहरुलाई रुचालको कामले केही गर्न प्रेरणा मिलेको उनको भनाइ छ।

रुचालको छाप्रोभन्दा केही पर अर्को छाप्रोमा सविता गैरे पनि मकै पोल्नमै व्यस्त छिन्। 'दैनिक २५/३० घोगाजति मकै बिक्री हुन्छ', उनले भनिन्, 'मकै पोलेर खुवाउँदा फुर्सदै हुन्न, यही पेसाले हाम्रो घरखर्च धान्न सहज भएको छ।'

सविताकी सासू केशरी पनि मकै पाल्नमै व्यस्त छिन्। उनी भन्छिन्, 'सासू-बुहारीले मकै बेचेर कमाएको पैसोले घरखर्च धानिएको छ।' यहाँ सुन्तलाको याममा पनि यस्तै चटारो हुन्छ। मकै खरिद गर्न पोखरा, चितवनलगायत ठाउँबाट व्यापारी मायाटारी आउने गरेका छन्। यहाँ पोलेको मकै प्रति घोगा ५० र मोही प्रति गिलास २० रूपैयाँमा बिक्री हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १६ २०८००८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend