सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

images
मंगलबार, जेठ १६ २०८०
images
images
महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ।

images
images

भोजपुर- उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन्। यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशितसमेत भएका छन्।

images
images
images

पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ। समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बञ्चित भएका हुन्।

images
images

समितिले व्यवस्थितरूपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयवासीको भनाइ छ। उपभोक्ता समितिले महसुलवापतको ११ लाख बढी रकम नतिरेको कारण नेपाल विद्युत् प्राविधिकरण भोजपुर वितरण केन्द्रले आयोजनामा जडान गरिएको विद्युत् लाइन काटिदिएको उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले जानकारी दिए।

images
images
images

'पानी सञ्चालनको क्रममा उठेको महसुल तिर्न नसक्दा विद्युत् काटिएको अवस्था छ', उनले भने, 'विद्युत् काटिँदा स्थानीयलाई एक महिना बढी समयबाट पानी खुवाउन सकेका छैनौँ। प्राधिकरणसँग पुनः विद्युत् जडानका लागि पहल गरिरहेका छौँ।'

अवरोध भएको पानीलाई पुनः सञ्चलानमा ल्याउन उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र उपभोक्ताबीच छलफल गरिएको छ। त्रिपक्षीय छलफलबाट पानीलाई नियमितरूपमा सञ्चालन गर्न पुरानो समितिलाई विघटन गरेर अर्को समिति गठन गर्ने निर्णय भएको छ।

पुरानो समितिले आयोजना सञ्चालनका क्रममा भएको आयव्ययको वितरण हालसम्म जानकारी नगराएको स्थानीयले बताएका छन्। १५ दिनको सूचना जारी गरी आगामी जेठ २७ गते साधारणसभामार्फत नयाँ समिति गठन गर्ने निर्णय भएको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिए। निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक तामाङ काठमाडौँमा रहेका कारण कामलाई सहजरूपमा सञ्चालन गर्न समस्या हुँदै आएको उनको भनाइ छ।

'पानी नियमितरूपमा दिन सकिएको छैन', उनले भने, 'आर्थिक तथा प्राविधिक समस्या देखापरेका छन्। समितिको अध्यक्ष काठमाडौँमा हुनुहुन्छ  आजको भेलाले समिति परिवर्तन गर्ने निर्णय गरेको छ। नयाँ समिति गठन गरेपश्चात थप काम गर्न सहज हुने आशा गरेका छौँ।'

हाल भएको समितिले व्यवस्थित ढङ्गले पानी खुवाउन पहल गर्न नसकेको स्थानीयवासी तिलाचन तामाङले बताए। योजना सञ्चालनका क्रममा भएको खर्चको विषयमा हालसम्म समितिले स्थानीयलाई कुनै जानकारी दिन नसकेको उनको भनाइ छ। 'उपभोक्ता समिति जिम्मेवार बन्न नसक्दा स्थानीय पानी खानबाट बञ्चित भएका छन्', उनले भने, 'यो आयोजनालाई सहजरूपमा सञ्चालन गर्न सबैले भूमिका खेल्न आवश्यक छ। आगामी दिनका कामलाई व्यवस्थितरूपमा सञ्चालन गर्न समिति पुनःगठन गर्ने सहमति भएको छ।'

योजना सञ्चालनमा उपभोक्ता समिति गम्भीर नहुँदा स्थानीय पानीको मारमा परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ। समितिले यहाँ हुने गरेका समस्याको विषयमा कार्यालयसँग समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए। यसअघि यहाँको स्थलगत अनुगमन गरेर देखिएका समस्याको समाधानमा छलफल गरेको भए पनि समितिले खास चासो नदिएको उनको भनाइ छ।

'उपभोक्ता समिति निष्क्रिय बन्दा जनतालाई समस्या भएको देखिएको छ', उनले भने, 'समितिले योजनाको दिगो व्यवस्थापना लागि कुनै योजना बनाएको छैन। यहाँको समितिलाई पुनःगठन गर्ने निर्णय भएको छ। नयाँ समिति बनेपछि यसलाई व्यवस्थित गर्न थप टेवा पुग्ने आशा गरेको छौँ। समिति सक्रिय नबनेसम्म कार्यालयको पहलले मात्र योजना धान्न सम्भव छैन।'

महसुललाई कमी गर्दै स्थानीयलाई सहजता थप्न पिखुपा खेलामा पानी तानेको स्थानमा सोलार जडानका लागि काम गर्ने योजना रहेको प्रमुख सिंहले बताए। 

तत्काल आयोजनामा देखिएको समस्या समाधानमा पहल गर्ने वडा कार्यालयले जनाएको छ। खानेपानी कार्यालयसँग समन्वय गरेर हाल देखिएको समस्या समाधन गर्न भूमिका खेल्ने रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङका वडाध्यक्ष जगत चौहानले बताए। 'खोलाको पानी बस्तीमा आउँदा स्थानीयमा उत्साह थपिएको थियो', वडाध्यक्ष चौहानले भने, 'एक महिना बढी समयबाट पानी नआउँदा स्थानीयमा निराशा छाएको अवस्था छ। उपभोक्ता समितिलाई सक्रिय बनाउँदै पानी नियमित सञ्चालनमा वडाले भूमिका खेल्छ।'

विगतमा पानीको खास समस्या नभए पनि विसं २०७२ को भूकम्पपछि यहाँका मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै गएको थियो। पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयले गाउँबस्ती नै छाड्दै गएका थिए। यहाँका स्थानीयको पानीको समस्या समाधान गर्न तीन हजार दुई सय मिटर तल रहेको पिखुवाखोलाको पानी लिफ्टिङ प्रविधिबाट बस्तीमा पुर्‍याइएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको करिब १० करोड ५० लाख रूपैयाँ लागतमा पिखुवाखोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो। पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ। रासस 


प्रकाशित : मंगलबार, जेठ १६ २०८००५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend