बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

तारा एयरको जहाज दुर्घटनाका ८ कारण

६० वर्षमाथिका क्याप्टेनलाई दुर्गममा उडान गर्न नदिन सुझाव

मंगलबार, वैशाख २६ २०८०
तारा एयरको जहाज दुर्घटनाका ८ कारण

आयोगले योसँगै सरोकारवाल निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई क्याप्टेन र को-पाइलटक बीचको अनुभवलाई धेरै ग्याप हुन नदिने गरी काम गर्न र ६० वर्ष माथीका क्याप्टेनलाई स्टल उडानमा उडान गर्न नदिने गरी व्यवस्था गर्न समेत सुझाव दिएको छ। साथै स्टल उडानका को-पाइलटलाई समेत  स्युमिलेटर तालिम गराउन आयोगले सुझाव दिएको छ।

काठमाडौं- २०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले अन्तिम प्रतिवेदन बुझाएको छ।

चालक दलका सदस्यसहित २२ जनाले ज्यान गुमाएको दुर्घटनाको जाँचबुझका लागि सरकारले वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमनको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। जसमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिव प्राविधिक बुद्धिसागर लामिछानेसहितको आयोग बनाएको थियो।

आयोगले ११ महिनापछि जहाज दुर्घटनाको अन्तिम रिपोर्ट सार्वजनिक गरेको छ। आयोगले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ मापदण्डअनुसार सबै काम सकेर रिपोर्ट सार्वजनिक गरेको छ।

आयोगले जहाज दुर्घटना हुनमा मानवीय त्रुटीलाई प्रमुख कारण मानेको छ। आयोगले जहाज दुर्घटनामा ८ वटा कारण देखाएको छ। 

पहिले कारणमा क्याप्टेन तथा को-पाइलटले कम्पनीको एसओपी (स्टान्डर्ड अपरेटिङ प्रोसिडुयर) पालना नगरेको रिपोर्टमा उल्लेख छ। 

यसैगरी एरक्राफ्टमा अटोमेटिक रुपमा आउने सूचना प्रणाली बन्द गरिएको समेत रिपोर्टमा उल्लेख छ।

यसैगरी जहाज दुर्घटना हुनुमा इन-रुट मौसम बिग्रिएको र क्याप्टेनले आफ्नो पोजिसन बिर्सिएको विषय रिपोर्टमा उल्लेख छ। क्याप्टेनले 'म कहाँ छु र के गरिरहेको छु' भन्ने विषयमा नै ध्यान नदिएको आयोगले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

साथै प्रशिक्षक पाइलट (वरिष्ट क्याप्टेन) र को-पाइलट बीचको अनुभव खाडल बढी रहेको विषयसमेत रिपोर्टमा उल्लखे छ। क्याप्टेन र को-पाइलटबीच कुनै संवाद नभएको र क्याप्टेनले नै सबै काम आफै गरेर को-पाइलटलाई बेवास्ता गरेको विषय पनि रिपोर्टमा उल्लेख छ।

क्याप्टेनले नै उडान गरिरहेको बेला मौसम, रुटलगायतको विषयमा को-पाइलटसँग सहयोग नलिएको र नेभिगेस उपकरणहरूको प्रयोग नगर्दा जहाज दुर्घटना भएको रिपोर्टमा उल्लेख छ।

आयोगले योसँगै सरोकारवाला निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई क्याप्टेन र को-पाइलटक बीचको अनुभवलाई धेरै ग्याप हुन नदिने गरी काम गर्न र ६० वर्ष माथिका क्याप्टेनलाई स्टल उडानमा उडान गर्न नदिने गरी व्यवस्था गर्नसमेत सुझाव दिएको छ। साथै स्टल उडानका को-पाइलटलाई समेत स्युमिलेटर तालिम गराउन आयोगले सुझाव दिएको छ।


प्रकाशित : मंगलबार, वैशाख २६ २०८०१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend