बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा

मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ। सानो पानीको कुण्डले यहाँ आउने जो कोहीको पनि मन लोभ्याउने गरेको छ।

जुम्ला- स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन्। समुद्री सतहदेखि करिब तीन हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ। 

यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चडाइएका सयौंँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँं वर्ष पुरानो मनिएको धातुजडित उत्कृष्ट कालीगढीका गौमुख भएका नुहाउने धारा थिए। स्थानीय बासिन्दाका अनुसार सबै सशस्त्र द्वन्द्वकालमा हरायो। 

यो मन्दिर भारतका चार धामभन्दा पनि पुरानो भएको मानिन्छ। अहिले केदारनाथ मन्दिरमा पुरानै आकारमा गौमुख धारा बनाएका छन्। काठबाट बनेका गाईका तस्वीर छन्। ढुंगा कुँदेर बनाएका मूर्ति पनि राखिएका छन्। जिल्लाकै सबैभन्दा आकर्षण मानिएको पवित्र तीर्थस्थल केदारनाथलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रसँग जोड्न पहिलो पटक गाउँपालिकाले सम्भाव्यता अध्ययनदेखि केदारनाथको महत्व र यसको परिचानबारे सम्मेलनसमेत गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ। सानो पानीको कुण्डले यहाँ आउने जो कोहीको पनि मन लोभ्याउने गरेको छ। साउन पूणिमाको एकादशीको दिनमा ठूलो मेला लाग्ने भएकाले पूजाका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन्। यस क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणको लागि काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष धितालले केदारनाथसम्म सडक निर्माण भैसकेको र अब प्रचारप्रसारका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए।

केदारनाथलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न पदमार्ग निर्माण गर्न सकिने वडा नं ४ का अध्यक्ष धनजीत बुढाले जोड दिए। भाकल गरिएको कुरा पुग्ने विश्वासका साथ अहिले यहाँ पूजा गर्न र अवलोकनका लागि सुर्खेत, कालीकोट, अछाम, मुगु र बाजुरालगायत स्थानबाट धार्मिक पर्यटक आउन थालेकोे स्थानीयवासी धनबहादुर बुढाले बताए।

यस धार्मिक स्थललाई  स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचारप्रसार  गर्न र  नेपालकै  प्रमुख पर्यटकीय  केन्द्रको रूपमा विकास गराउनसके सिञ्जा क्षेत्रको विकासमा टेवा पुग्ने सुर्खेतको चौकुने गाउँपालिकाबाट आएका बुद्ध रोकायाको भनाइ थियो। रासस


प्रकाशित : बिहीबार , वैशाख २१ २०८०१०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend