काठमाडौं- समग्र अर्थतन्त्रमा समस्या आएसँगै बाछिटाहरू बैंकिङ क्षेत्रमा समेत देखिन थालेको छ। सोही कारण चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा खराब कर्जा डेढ दशकयताकै बढी छ।
पछिल्लो समय सरकारले निर्माण क्षेत्रमा भुक्तानी दिन सकेको छैन। यता राजश्व उठाउन नसक्दा कर्मचारीलाई तलब खुवाउनसमेत हम्मे परेको छ। जसको असर बैंकिङ क्षेत्रमा समेत परेको छ।
नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जाले राष्ट्र बैंकदेखि बैंकर्ससम्मलाई त्रास थपेको छ। ऋणकर्ताको ब्याज र किस्तासँगै कर्जा नवीकरण हुन छाडेपछि खराब कर्जा बढ्दै गएको छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त क्षेत्रमा खराब कर्जाको ग्राफ बढ्दो छ।
निष्कृय कर्जा (एनपीएल) पछिल्लो ९ माहिनामा गतवर्षको तुलनामा १९८.२३ प्रतिशतले बढेको छ। गत वर्ष यो अवधिमा १.२२ प्रतिशत रहेको खराब कर्जा बढेर अहिले ३.०३ प्रतिशत पुगेको हो। बैंकका ऋणीले ऋणको ब्याज र किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा बढ्दै गएको छ।
‘समग्र अर्थतन्त्र नै समस्यामा पर्दा बैंक मात्रै राम्रो हुने भन्ने हुँदैन सोही असर देखिएको हो’, नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले भने।
पछिल्लो सबै व्यवसायमा लाग्नेहरूको कारोबार नै घटेको छ। साथै व्यापार सुस्त रहेको छ। यता घरजग्गा कारोबार र सेयर बजारसमेत सुस्त हुँदा ऋण तिर्न ऋणीहरूलाई हम्मे परेकोले एनपीएल बढेको ज्ञवाली बताउँछन्। वित्तीय संस्थाहरूले अहिले सम्म ४८ खर्ब ४५ अर्ब ऋण प्रवाह गरेका छन्। यसको ५ प्रतिशसम्म पुग्नुलाई समान्य मानिन्छ। तर ५ प्रतिशत पुग्दा पनि समस्या आइहाल्ने भन्ने नहुने ज्ञवालीले बताए।
९ महिनामै बैंकहरूले ३० अर्ब ८६ करोड रूपैयाँ प्रोभिजनिङलाई छुट्याइसकेका छन्। गत वर्षको चैतमा ७ अर्ब रूपैयाँ मात्रै थियो। २३ अर्ब ८६ करोड रूपैयाँले प्रोभिजनिङको रकम बढेको छ। चालु आर्थिक वर्षको ९ महिनामा २१ वाणिज्य बैंकहरूको नाफा ११.७१ प्रतिशत बढेको छ। गत वर्ष यो अवधिमा ४३ अर्ब ५९ करोड ९१ लाख रूपैयाँ खुद नाफा गरेका बैंकहरूले चालु आवमा ११.७१ प्रतिशतले नाफा बढाएर ४८ अर्ब ७० करोड ८६ लाख रूपैयाँ खुद नाफा गरेका हुन्।
नेपालका बैंकहरूले दिने कर्जामा ६५ प्रतिशत घरजग्गामा जाने गरेकोले अहिले समग्र घरजग्गाको कारोबारमा समस्या आएकाले पनि एनपीएल बढेको ज्ञवाली बताउँछन्। ‘यसले सबै खतम भयो बर्बाद भयो भन्ने होइन, सरकार अलि चनाखो हुने बेला चाहिँ आएको छ,’ ज्ञवालीले भने।
नेपालमा खराब कर्जा बढ्दै गए पनि काबुबाहिर नजाने बैंकर्सहरूले बताउँदै आएका छन्। नेपालमा खराब कर्जा केही बढेता पनि एसियाली मुलुकहरू भन्दा राम्रो अवस्था रहेको तथ्यांकमा देखिएको छ।
सबैभन्दा बढी बंगलादेशको खराब कर्जा
पछिल्लो तथ्यांकलाई हेर्ने हो भने दक्षिण एसियाली मुलुहरू मध्ये सबैभन्दा धेरै खराब कर्जा बंगालादेशको देखिन्छ। बंगालादेशको ७.९७ प्रतिशत खराब कर्जा रहेको छ। भने दोस्रोमा पाकिस्तान रहेको छ। विश्व बैंकको तथ्यांकअनुसार पाकिस्तानको खराब कर्जा ७.८८ प्रतिशत रहेको छ।
भने माल्दिभ्सको ६.७२ प्रतिशत रहेको छ भने भारतको ६.५४ प्रतिशत खराव कर्जा रहेको छ। तर नेपालको भने गतवर्षको तुलनामा बढेपनि दक्षिण एसियाली मुलुकहरूको भन्दा निकै तल रहेको छ। नेपालको पुस मसान्तसम्म २.३५ प्रतिशत मात्रै रहेको छ। गतवर्ष असारसम्म जम्म १.२० प्रतिशत मात्रै रहेको थियो।
नेपालको खराब कर्जा दशकअघिकै बिन्दुमा
नेपालको बैंकहरूको खराब कर्जा यसपटक दशकअघिकै अवस्थामा पुगेको छ। २०६७ सालमा २.४८ प्रतिशत रहेको थियो भने अहिले २०७९ सालमा २.३५ प्रतिशतमा आएको छ। ‘नेपालको खराब कर्जा फरक हो, कम्पनी र उद्योग बन्द भएको अवस्था होइन केही समय ढिला मात्रै भएको हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने।
केही समयमा अवस्था सहज हुने समेत उनको बुझाइ छ। ‘बैंकिङ भनेको विशुद्ध स्वचालित प्रणाली हो, यसमा हरेक विषय पारदर्शी, अनुमानयोग्य र अनुभवजन्य प्रचलनहरू हुन्छन्,’ अध्यक्ष केसीले भने। यस्तो विषयलाई सडकमा लिएर जान नहुने समेत केसी बताउँछन्।
कुन वर्ष कति खराब कर्जा?
खराब कर्जा बढ्दै जाँदा के हुन्छ?
आर्थिक वर्षको अन्त्यसम्म पनि सुधार नगरी खराब कर्जा ५ प्रतिशतबाट उकालो लाग्यो भने केन्द्रीय बैंकले हस्तक्षेप गर्नेछ।
खराब कर्जा बढेपछि सिधै नाफामा असर गर्नेछ। ग्राहकहरूलाई ऋण दिएका हुन्छन् र ऋणीले ऋण फिर्ता नगर्ने जोखिम पनि हुन्छ। जसको ऋण निष्क्रिय भएको भनिन्छ। जब बैंकले ऋणीकर्ताले भुक्तानी गर्न असम्भव छ भनेर वा ऋणीकर्ताले भुक्तानी गर्न ९० दिन ढिलो भएमा ऋण निष्क्रिय हुन्छ।
निष्क्रिय कर्जा (एनपीएल) ले बैंकहरूको आम्दानी घटाउँछ र घाटा निम्त्याउँछ, जसले तिनीहरूको सुदृढतामा असर गर्छ। उच्च स्तरको निष्क्रिय कर्जा भएका बैंकहरूले घरपरिवार र कम्पनीहरूलाई ऋण दिन असमर्थ छन्। यो समग्र अर्थतन्त्रका लागि हानिकारक हुने गर्दछ।
प्रत्येक बैंकले आफ्नो ऋणमा घाटाको लागि तयारी गर्दछन्। बैंकले क्रेडिट जोखिमलाई सुधार गर्न, बैंकले ऋणमा अपेक्षित भविष्यको नोक्सानको अनुमान गर्दछ र सम्बन्धित प्रोभिजन बुक गर्दछन्। प्रोभिजन बुक गर्नुको अर्थ बैंकले समय अगावै ऋणमा भएको नोक्सानीलाई पहिचान गर्दछन्। बैंकहरूले घाटाको सुधार गर्न अन्त्य गर्न आफ्नो पुँजी प्रयोग गर्दछन्। प्रोभिजन बुक गर्दा बैंकले घाटा लिन्छ र त्यसैले ग्राहकबाट संकलन गर्न नसक्ने रकमले आफ्नो पुँजी घटाउँछ।
बैंकहरूले पूर्ण मूल्यको लागि प्रोभिजन बुक गर्नुपर्दैन। किनभने उनीहरूले अझै पनि ग्राहकबाट केही भुक्तानीहरू प्राप्त गर्न सक्छन्। बैंकहरूले पनि सम्पत्ति बेचेर ऋण उठाउने गर्दछन्।
खराब कर्जा कुनको कति प्रतिशत?
नबिल बैंक : ३.८७ प्रतिशत
ग्लोबल आईएमई बैंक : ३.९६
एनआइसी एसिया बैंक : ०.८५
एभरेष्ट बैंक : ०.७०
स्ट्याण्डर्ड चार्टर्ड : ०.९०
लक्ष्मी बैंक : १.८२
नेपाल एसविआई बैंक : ०.९७
राष्ट्रिय वाणिज्य बैंक : ३.८८
हिमालयन बैंक : ४.५६
नेपाल इन्भेष्टमेन्ट बैंक : ३.९४
प्रभु बैंक : ३.४८
सानिमा बैंक : २.२७
कुमारी बैंक : ३.९७
एनएमबि बैंक : २.९६
सनराइज बैंक : ३.६२
प्राइम बैंक : ३.०६
माछापुछ्रे बैंक : २.३७
नेपाल बैंक : ४.१६
सिटिजन्स बैंक : ३.९८
सिद्धार्थ बैंक : ३.९५
कृषि विकास बैंक : ४.३५