शनिबार, मंसिर ८ गते २०८१    
images
images

सिमेन्ट उद्योगको उत्पादनमा बारम्बार प्रश्न, १३ उद्योगसँग १७ वर्षको ३३ करोड आयकर असुल गर्न सुझाव

व्यवसायीले उत्पादन लुकाएकै हुन् कि मापदण्डमा कमजोरी?

images
मंगलबार, वैशाख १९ २०८०
images
images
सिमेन्ट उद्योगको उत्पादनमा बारम्बार प्रश्न, १३ उद्योगसँग १७ वर्षको ३३ करोड आयकर असुल गर्न सुझाव
images
images

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले सिमेन्ट उद्योगको उत्पादनमा चासो देखाउँदै आएको छ। पछिल्ला तीनवटा प्रतिवेदनमा नै महालेखाले सिमेन्ट उद्योगको उत्पादनमा प्रश्न उठाउँदै आएको छ। महालेखाले ५८ औँ प्रतिवेदन सार्वजनिक गर्दै सिमेन्ट उद्योगले उत्पादन लुकाएको मनसायसहित प्रतिवेदनमा 'नर्म्स' को विषय उल्लेख गरेको थियो।

images
images
images

जनु विषय महालेखाको ६० ‍औँ प्रतिवेदन पुन: दोहोरिएको छ। ५८ ‍औँ प्रतिवेदनमा भन्दा ६० ‍औँ प्रतिवेदनमा केही विषय परिमार्जनसँगै थप भएको छ।

images

महालेखाले  ५८ ‍औँ वार्षिक प्रतिवेदनमा उत्पादनको विषयमा प्रश्न गर्नुको आधारमा दुईवटा सरकारी र दुईवटा निजी सिमेन्ट उद्योगको उत्पादन क्लिङ्‍करको तौलअनुसार नै उत्पादन रहेको विषय जोडेको थियो। तर ६० ‍औँ प्रतिवेदनमा भने दुईवटा सरकारी र तीनवटा सिमेन्ट उत्पादन गर्ने निजी उद्योगको तथ्यांकलाई आधार बनाएर प्रश्न गरेको छ।

images

कुन प्रतिवेदनमा के लेखियो?

महालेखाले ५८ औँ प्रतिवेदनमा भनेको थियो, 'सिमेन्ट उत्पादनमा प्रयोग हुने चुन, ढुङ्गा र अन्य कच्चा पदार्थको मिश्रणलाई भट्टीमा क्याल्सिनेसन र सिल्टरिङको प्रक्रियाबाट बनेको क्लिङ्‍करलाई सिमेन्ट तयार गर्ने क्रममा ग्राइन्डिङ मिलमा पिस्दा सोको तौलमा ह्रास हुने स्थिति नरहेकोले प्रयोग भएको पदार्थको परिमाणको शतप्रतिशत नै सिमेन्ट उत्पादन हने देखिन्छ। कर परीक्षण गरिएका फाइलको अध्ययन गर्दा नेपाल सरकारको स्वामित्वमा रहेका दुई र निजी क्षेत्रका दुई समेत ४ सिमेन्ट उद्योगले क्लिङ्‍करको खपतबाट शतप्रतिशत परिमाणमा सिमेन्टको उत्पादन गरिरहेका छन्। तर केही उद्योगले प्राविधिक कारण बेगर घटी उत्पादन देखाई रहेका छन्। यस सम्बन्धमा विगत वर्षका प्रतिवेदनमा समेत औँल्याएकोमा उद्योग विभागसँग समन्वय गरी नर्म्स अद्यावधिक गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएकोमा सोको कार्यान्वयन भएको छैन। सिमेन्ट उद्योगको नर्म्समा पुनरावलोकन गर्नुपर्दछ।'

सोही विषयमा ६० ‍औँ प्रतिवेदनमा भनिएको छ, ' सिमेन्ट उत्पादनमा प्रयोग हुने चुन ढुङ्गा र अन्य कच्चा पदार्थको मिश्रणलाई भट्टीमा क्याल्सिनेसन र सिल्टरिङको प्रक्रियाबाट बनेको क्लिङ्‍करलाई सिमेन्ट तयार गर्ने क्रममा ग्राइन्डिङ्ग मिलमा पिँध्दा सोको तौलमा ह्रास हुने स्थिति नरहेकोले प्रयोग भएको पदार्थको परिमाणको शत प्रतिशत नै सिमेन्ट उत्पादन हुने देखिन्छ। कर परीक्षण गरिएका फाइलको अध्ययन गर्दा नेपाल सरकारको स्वामित्वमा रहेका २ र निजी क्षेत्रका ३ समेत ५ सिमेन्ट उद्योगले क्लिङ्‍करको खपतबाट शतप्रतिशत परिमाणमा सिमेन्टको उत्पादन गरिरहेका छन्। तर केही उद्योगले प्राविधिक कारण बेगर घटी उत्पादन देखाइरहेको अवस्था छ । जसको कारणबाट १३ वटा उद्योगको १७ आय वर्षको आयकर रू. १८ करोड १५ लाख १ हजार, अन्तःशुल्क रू. ३ करोड ४ लाख ४७ हजार र मूल्य अभिवृद्धि कर रू.११ करोड ९३ लाख ८९ हजारसमेत राजस्वमा रू.३३ करोड १३ लाख ३७ हजार असर परेको अवस्था देखिन्छ। यस सम्बन्धमा विगत वर्षका प्रतिवेदनमा समेत ‍औँल्याइएकोमा सार्वजनिक लेखा समितिले निर्माण हुने तयारी वस्तु र जर्तिको मापदण्ड पुनरावलोकनका लागि उद्योग विभागमा पत्राचार गरी यस विषयमा ठूला करदाता कार्यालयलाई छानबिनका लागि निर्देशन दिएकोमा हालसम्म पनि सो मापदण्डको पुनरावलोकन र छानबिन प्रतिवेदन प्राप्त भएको देखिँदैन।'

महालेखाको ६० ‍औँ प्रतिवदेनमा १३ वटा सिमेन्ट उत्पादन उद्योगसँग १७ आयवर्षको ३३ करोड रुपैयाँ भन्दा बढी आयकर असुली गर्न भनेको छ। साथै सार्वजिनक लेखा समितिले निर्माणमा हुने तयारी बस्तु र जर्तिको मापदण्ड पुनरावलोकनका लागि उद्योग विभागमा पत्रचार गरी यस विषयमा ठूला करदाता कार्यालयलाई छानबीनका लागि निर्देशन दिएकोमा हालसम्म पनि मापदण्ड पुनरावलोकन र छानबीन प्रतिवेदन तयार नभएको विषय समेत महालेखाले उठाएको छ।

महालेखाले २ सरकारी तथा ३ निजी क्षेत्रका गरी ५ वटा सिमेन्ट उद्योगले क्लिङकर खपतबाट शतप्रतिशत सिमेन्ट उतेपाद गरिरहेको र अन्य उद्योगबाट प्राविधिक कारण बेगर घटी उत्पादन देखाइरहेको विषय उजागर गरेको छ।

के साच्चै १०० केजी क्लिङकरबाट १ सय केजी नै सिमेन्ट उत्पादन हुन्छ?

महालेखाले क्लिङ्‍करबाट सिमेन्ट उत्पादनमा कुनै ह्रास नहुने विषय उल्लेख गर्नु नै औचित्यपूर्ण नरहेको सिमेन्ट उद्योगका सञ्चालकहरू बताउँछन्। अहिले नेपालको नर्म्समा पनि सामान्यता ओपीसी सिमेन्टको हकमा १०३ केजी क्लिङ्‍करलाई ग्राइन्डिङ मिलमा पिस्दा १ सय केजीसम्म सिमेन्ट उत्पादन हुने उल्लेख छ।

‘सरकारी तथा केही निजी उद्योगले कसरी क्लिङ्‍करलाई ग्राइन्डिङ मिलममा पिस्दा शतप्रतिशत नै सिमेन्ट उत्पादन भएको तथ्यांक देखाएका छन्। त्यो हुनै सक्दैन। क्लिङ्‍कर उत्पादन भएपछि भण्डारमा राखेर सिधै मिलमा लगेर पिस्दा पनि केही मात्रा क्षति अवश्य हुन्छ,’ एक व्यवसायीले भने, ‘ महालेखाले प्राविधिक कुरै नबुझी यो विषय राख्दा उद्योगीलाई समस्या हुन्छसक्छ।’

नेपालमा २०६३ सालामा ओपीसीमा सिमेन्ट उत्पादनमा सरकारी स्वामित्वका उद्योगबाहेक सबैले भारतबाट नै क्लिङ्‍कर आयात गरेर सिमेन्ट उत्पादन गरिरहेका थिए। सोही आधारमा ढुवानीको समयमा हुने ह्रास लगायत सबैलाई मध्यनजर गरेर नर्म्सबनाएको उद्योग विभागको दाबी छ।

तर, महालेखाले भनेको जस्तै क्लिङ्‍करलाई ग्राइन्डिङ मिलमा पिसेर सिमेन्ट उत्पादन गर्दा सत प्रतिशत नै सिमेन्ट उत्पादन हुने नसक्ने सरकारी कार्यालयकै भनाइ छ। ‘एक केजी मकै जातोमा पिस्दा एक केजी नै पिठो त अवश्य पनि बस्दैन,’ विभाग एक कर्मचारीले भने, ‘तर, नर्म्सको विषयमा प्रश्न उठेपछि अध्ययन भने आवश्यक पर्छ।’

एउटा कुरा के सत्य हो भने यो नर्म्स भारतबाट क्लिङ्‍कर आायात गरेर ल्याउँदाको समयलाई हेरेर बनाइएको हो। तर, अहिले क्लिङ्‍कर नेपालमै आयात हुने र क्लिङ्‍कर उत्पादन नगर्ने उद्योगले पनि नेपालकै उद्योगबाट क्लिङ्‍कर खरिद गरेर सिमेन्ट उत्पादन गरिरहेका छन्।

नेपालमा अहिले सरकारी स्वामित्वका दुईवटा सिमेन्ट उद्योगसहित ५ दर्जनभन्दा बढी सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन्। नेपाल सिमेन्टमा आत्मनिर्भर भइसेको छ। नेपालबाट सिमेन्ट माग भएको अवस्थामा उद्योगले निर्यात गर्न सक्ने भइसकेका छन्।


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend