बुधबार, कात्तिक १४ गते २०८१    
images
images

संसद यात्रामा अर्थशास्त्री स्वर्णिम वाग्ले

images
सोमबार, वैशाख ११ २०८०
images
images
संसद यात्रामा अर्थशास्त्री स्वर्णिम वाग्ले

वाग्ले सांसद निर्वाचित हुँदा उनी जति आफ्नै महात्वाकांक्षाको नजिक पुगेका छन‍् त्योभन्दा धेरै उनको पार्टी 'राष्ट्रिय स्वतन्त्र पार्टी'का लागि उनको जित महत्वपूर्ण रहेको छ।

images
images

काठमाडौं- अर्थशास्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट वाग्ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

images
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्‍वारी दिएका वाग्लेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्‍वार गोविन्द भट्टराईलाई पराजित गरेका छन्। नेपाली कांग्रेससँगकै साइनो तोड्दै वाग्ले एक महिनाअघिमात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका थिए। 

images

योसँगै पछिल्लो एक दशकदेखि नेपाली राजनीतिको नीति निर्माण तहमा पुग्ने वाग्लेको सपनाले एक खुड्किलो पार गरेको छ। २०७१ सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइराला नेतृत्वको सरकार हुँदा राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नेपाल फर्किएका वाग्ले त्यसपछि लगातार नेपाली कांग्रेसमा सक्रिय थिए। 

images

योजना आयोगको सदस्य र त्यसपछि २०७४ सालमा उपाध्यक्ष बनेका वाग्ले त्यसपछि संसदमा छिर्न चाहन्थे। निर्वाचनमा होमिएर जनप्रतिनिधिका रुपमा अनुमोदित हुने योजनाका साथ उनी कांग्रेसको नीति निर्माण तथा बहस छलफलमा सहभागी भइरहेका थिए। 

पार्टीभित्रको आन्तरिक समीकरण निर्माणमा समेत होमिएका उनी गएको मंसिरमा टिकट लिने प्रतिस्पर्धामा थिए। चितवन, गोरखा र काठम‍ाडौंमध्ये जहाँबाट पाएपनि टिकट लिएर चुनाव लड्ने भन्दै कांग्रेसमा उनले लबिङ गरेका थिए तर कांग्रेस सभापति शेरबहादुर देउवाको व्यक्तिगत अनिच्छाकै कारण उनी बञ्चित भएका थिए। 

मंसिरको चुनावमा टिकट नपाएपछि वाग्ले घोषणापत्र लेखन र त्यसपछि देशभरका चुनावी सभामा सहभागी भएका थिए। कांग्रेसका उम्मेद्‍वारको पक्षमा माहोल बनाउन देशभर हिँडेका उनी पछिल्लो समय कुनै न कुनै राजकीय वा नीति निर्माण तहमा भूमिका पाउनेमा आशावादी थिए। तर कांग्रेसका सभापति देउवाले कुनै पनि हालतमा स्वर्णिमलाई नजिक पर्न नदिने रणनीति लिएपछि अन्तत: उपनिर्वाचनको मुखमा कांग्रेस परित्याग गरेका थिए। 

नेपालको लोकतान्त्रिक आन्दोलनमा वि.स. २०२७ देखिकै कांग्रेससँगको परिवारिक संलग्नता र आफ्नै पनि पछिल्लो १० वर्षदेखिको प्रत्यक्ष आबद्धता तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने निर्णय गरेका थिए। वि.स. २०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजना, कार्यक्रम र वैचारिक विमर्शहरूमा उनको नेतृत्वदायी भूमिका रहँदै आएको थियो। 

१० वर्षदेखि प्रत्यक्ष संलग्न भएको र नीति निर्माणका लागि योगदान गर्नसक्ने आफ्नो सही समय पनि आएकाले धेरै समय पर्खिन आवश्यक नरहेको उनको निष्कर्ष छ। राजनीतिमै प्रवेश गरेर आर्थिक सुधारको नेतृत्व गर्न सकिन्छ भन्ने बुझाइ भएका वाग्ले जतिसक्दो छिटो संसद प्रवेश गर्न चाहन्थे। तर कांग्रेसमा बसेर यो चुनावमात्र होइन आगामी चुनावमा पनि अवसर नपाइने देखेर उनले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत संसद प्रवेश गरेका छन्। 

लण्डन स्कुल अफ इकनमिक्स (बेलायत) बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पी.एच.डी.) गरेका वाग्ले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो एक्सपोजर पाइसकेका व्यक्ति हुन्। विश्व बैंक तथा यूएनडीपीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेका वाग्ले राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया-प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार रहिसकेका छन्। 

नेपालमा पछिल्लो काठमाडौँ विश्वविद्यालयको सेनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइ.आइ.डी.एस.) का उनी अध्यक्ष छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थादेखि स्वदेशी थिंकट्यांकसम्ममा काम गरेर आफूलाई खरो उतारेका वाग्लेलाई राजनीतिमै गएर डेलिभरी दिन सकिन्छ भन्ने गहिरो आत्मविश्वास छ। आर्थिक सुधारको नेतृत्व गर्ने उनमा तीव्र हुटहुटी पनि छ। 

उदार अर्थतन्त्रका हिमायती वाग्ले लोककल्याणसहितको विकासका पक्षधर हुन्। आफूले अन्तर्राष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानलाई स्वदेशमा उपयोग गर्ने उनको तीव्र आकांक्षा छ। योजना आयोगमा रहँदा ऐन कानूनले दिएको भूमिकामाथि रहेर सक्दो काम गरेका वाग्लेले भूकम्पपछिको क्षति मूल्यांकन तथा अन्तर्राष्ट्रिय सहायता जुटाउन पनि उल्लेखनीय भूमिका खेलेका थिए। 

दातृ निकायहरूले पनि निकै विश्वास गर्नेमध्येमा वाग्ले पर्छन्। यही सम्बन्ध र छबी कायम रहँदै नीति निर्माण तहमा पुग्ने उनको सपना पूरा भएको छ। सरकारमै पुगेर मन्त्रीका रुपमा काम गर्ने खासमा उनको आकांक्षा हो। त्यो बाटोमा अहिलेका लागि उनी सांसद भएका छन्। 

पार्टीको हैसियत तथा आगामी सत्ता समीकरणले उनको सरकारसम्मको यात्रा तय गर्छ तर अहिलेका लागि उनको संसदसम्मकै यात्रा पक्का भएको छ। चुनावअघि नै संसदमा पुगेर आफूले अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा आवाज उठाउने उनले उल्लेख गरेका थिए। 

लोकतन्त्रमा गहिरो विश्वास रहेका वाग्ले सामूहिक प्रयत्न र प्रणाली सुधारबाटमात्र डेलिभरी दिन सकिन्छ भन्ने विश्वास गर्छन्। मतगणना चल्दै गर्दै सोमबार प्रतिक्रिया दिँदा पनि यही कुरा व्यक्त गरेका थिए। ‘लोकतन्त्रमा एउटा व्यक्तिले चमत्कार गर्न सम्भव हुँदैन। सामूहिक प्रयत्नबाट प्रणाली सुधार गर्ने हो त्यसका लागि मेरो इमान्दार प्रयास हुने छ’ उनले भनेका छन्। 

वाग्लेले कांग्रेस छाडेर चुनावमा होमिँदा धेरैपटक व्यक्तिगत प्रयत्नबाट प्रणाली सुधारका लागि पहल गर्ने बताएका छन्। अर्को कुरा उनले ऊर्जाशील समय पर्खाइमा राख्नुभन्दा उपयोग गर्नुपर्ने तर्क गरिरहेका छन्। 

हो ठीक यही समयम वाग्लेले ऊर्जाशील समय नेपालको संसदमा उपयोग गर्ने अवसर पाएका छन्। नीति निर्माण तथा जनआवाज मुखरित गर्ने संसदमा वाग्लेको उपस्थिति कस्तो हुन्छ समयले बताउला। 

वाग्ले सांसद निर्वाचित हुँदा उनी जति आफ्नै महात्वाकांक्षाको नजिक पुगेका छन‍् त्योभन्दा धेरै उनको पार्टी 'राष्ट्रिय स्वतन्त्र पार्टी'का लागि उनको जित महत्वपूर्ण रहेको छ। कुनै पनि राजनीतिक दलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध गहिरो चाहिन्छ। नयाँ दल भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले अझै बलियो सम्बन्ध विस्तार गर्न सकेको छैन। तर वाग्ले त्यसको समेत सेतु बन्न सक्छन्। 


प्रकाशित : सोमबार, वैशाख ११ २०८०२२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend