काठमाडाैं- नेपाल वायुसेवा निगममा प्रत्येक पटक आउने नेतृत्वको ध्यान मर्मतमा भन्दा जहाज खरिदमा हुँदा ११ वर्षदेखि निगमको एउटा जहाज ह्यान्गरमा थन्किएर बसेको छ। तर न नयाँ जहाज खरिद हुन्छ न त मर्मत नै।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान भर्ने ट्वीनअटर डीएचसी ६-३०० कलसाइन एबीएक्स जहाज २०६९ साल भदौ ९ गते लुक्लाबाट काठमाडौं अवतरण गर्ने क्रममा पंखामा सामान्य समस्या आएपछि ग्राउन्डेड गरियो। त्यसयता नेपाल वायुसेवाले दर्जनौको संख्यामा नेतृत्व फेर्यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्जनौ सचिव फेरिए। दर्जनौ मन्त्रीसमेत फेरिए। तर उडिरहेको क्यानडियन ट्वीनअटर जहाज बनाउनेमा कसैको नजर गएन।
जुन जहाज ११ वर्षदेखि निगमको ह्यांगरमा थन्क्याएर राखिएको छ। जहाजको इन्जिनको साइकल बाँकी नै छ। विङको लाइफ सकिएको छ। साथै अब सबै वडी तथा पार्ट्सको परीक्षण गर्न जरुरी छ। त्यसको लागि निगमकै इन्जिनियरहरुसमेत योग्य छन्। जहाज मर्मत गरेमा दैनिक ८ वटासम्म उडान तथा अवतरण गर्न सक्छ।
सोही ट्वीनअटर बीएचसी ६-३०० जहाज मोडलनका दुईवटा जहाज कलसाइन एबीटी र एबीयू जहाज भने अझै उडान गरिरहेका छन्। अहिले पनि एउटा पुनः ग्राउन्डेड छ। एउटा मात्रै उडिरहेको छ। पाँच जना क्याप्टेन र ४ जना कोपाइलट पनि रहेका छन्। निगम व्यवस्थापनले चाहने हो भने केही हप्तामै थप क्याप्टेन तयार गर्न सक्छ।
तर जहाज छैन भनेर नयाँ जहाज खरिदमा चासो दिने निगम व्यवस्थापनको आँखामा ११ वर्षदेखि ग्राउन्डेड जहाजमा छैन। निगमका मर्मत सम्भार विभागमा कार्यरत इन्जिनियरहरुका अनुसार जहाज व्यवस्थापनले चाहाने हो भने १५ देखि २५ दिनभित्रमा उडानका लागि तयार पार्न सकिन्छ।
पछिल्लो समय क्यानडियन कम्पनीले डीएचसी ६-४०० सिरिजका जहाज संसारभर बिक्री गरिरहेको छ। नेपालमा पनि निजी वायुसेवा कम्पनीहरु सोही सिरिजका जहाज खरिद गरेका छन्। हाल निगमले खरिद गर्न लागेको ३ वटा जहाजको मूल्य २ अर्ब ५० करोड रुपैयाँ हाराहारी पर्नेछ। सोही जहाज ११ वर्षदेखि ग्राउन्डेड गरिएको जहाज मर्मतमा ४५ लाखदेखि ६० लाख रुपैयाँ लाग्ने अनुमान रहेको छ। तर निगमले स्टल उडान गर्ने जहाज भनेपनि ट्वीनअटर भनेर किटान गरेको भने छै। तर ट्वीनअटर नै खरिद हुने हाे।
एकछत्र राज गरेको ट्वीनअटर जहाज निगमको कोमामा
निगमले अन्तरिक उडान सुरु गर्दा ८ वटा क्यानडियन डीएचसी ६-३०० सिरिजका जहाज खरिद गरिएको थियो। जहाज नेपाल आएपछि निगमले देशभरका पहाडी दुर्गम क्षेत्रमा झन्डै तीन दशक एकछत्रराज गरेको थियो। पछिल्लो समय निजी वायुसेवा कम्पनीको उदयसँगै निगम व्यवस्थापनको कमजोरीको फाइदा उठाउँदै निगमका जहाजलाई दुर्गम क्षेत्रबाट विस्तारै विस्तापित गर्ने क्रम सुरु भयो।
व्यवस्थापनलाई पनि मर्मतभन्दा खरिदमा चासो
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पनि मर्मत सम्भार विभागका इन्जिनियरहरुले पटक पटक भेटेर जहाज मर्मतको लागि चासो दिएका छन्। जहाज मर्मत गरेर तीन वटा जहाजले उडान भर्दा दैनिक २४ वटा उडान तथा अवतरण दुर्गम क्षेत्रमा गर्न सकिने भन्दै सुझाव नै दिएका थिए।
तर अधिकारीको पनि चासो नयाँ जहाज खरिदमा भएकाले मर्मतमा जँगर नदिएको निगमका अधिकारीहरु बताउँछन्। हाल आन्तरिक उडानका लागि ११ वर्ष अगाडी खरिद गरिएका चिनियाँ ६ थान जहाज ग्राउन्डेड गरिएको छ। अहिले चिनियाँ जहाजको केही टुंगो छैन।
कमिसनका लागि नयाँ जहाज खरिद
निमग व्यवस्थापनले कमिसनको लोभमा स्टल उडानका लागि भन्दै ३ वटा जहाज खरिद प्रक्रिया अगाडि बढाएको छ। जहाज खरिदका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधीर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेको छ।
प्रतिवेदनमा समावेश गरिएको विषय बारे चासो दिइएको छैन। उल्टै निगमले आन्तरिक स्रोतबाट जहाज खरिदका लागि कम्पनीसँग छलफल भइरहेको बताएको छ। तर आफूसँग भएका जहाज कसरी फूलफेजमा उडान गर्ने भने विषय निगमले कुनै योजना तयार पारेको छैन।
निगमसँग अहिले भएका ३ वटा ट्वीनअटर जहाज उडान योग्य बनाउँदै फूलफेजमा सञ्चालन गर्ने हो भने दैनिक २४ वटा ल्याण्ड तथा टेकअफ गर्न सक्छ। ३ वटा जहाजलाई केही रकम खर्च गरे उडान योग्य बनाउनुको सट्टा कमिसनको लोभमा जहाज खरिद गर्न खोजिएको छ।
३ वटा ट्वीनअटर जहाज उडानका लागि चाहिने प्राविधिकलगायत सबै कर्मचारी निगमसँग छ। ३ वटा उडान फूलफेजमा सञ्चालनका लागि चाहिने प्रशिक्षक पाइलट २ जनासहित अहिले पनि ५ जना क्याप्टेन र ४ जना को-पाइलट छन्। ३ वटा ट्वीनअटर जहाज उडानका लागि अधिकत ७ जना क्याप्टेन तथा ७ जना नै को-पाइलट भए पुग्छ।
तत्कालका लागि २ जना को-पाइलट तथा एक जना क्याप्टेन थप गरेको अवस्थामा ३ वटा टिवनअटर जहाज फूलफेजमा उडान हुन्छ। को-पाइलट तथा क्याप्टेन तयार गर्न पनि निगमलाई कुनै असहजता छैन्। वाई-१२ तथा एमए-६० जहाजको उडान बन्द पछि उडान नै गर्न नपाइ बसेकाहरुलाई अपग्रेड गरे पुग्ने अवस्था छ। तर निगम व्यवस्थापनले कमिसनको लोभमा जहाज खरिदको विषयलाई नै अगाडि सारिरहेको छ।
यता निगमले जहाज खरिदमा लिएको ऋणसमेत तिर्न सकेको छैन। जहाज खरिदमा लिएको ऋण बढेको बढ्यै छ। महालेखाले समेत निगमको जहाज खरिदमा लिएको ऋणको विषयमा प्रश्न उठाइरहेको छ।