शनिबार, मंसिर ८ गते २०८१    
images
images

अबको दशकमा कस्‍तो होला पर्यटन पूर्वाधार?

images
आइतबार, वैशाख ३ २०८०
images
images
अबको दशकमा कस्‍तो होला पर्यटन पूर्वाधार?

सरकारले तयार पारेको योजना कार्यान्वयनमा सन् २०३३ सम्ममा वार्षिक ७ देखि १० खर्ब आम्दानी गर्ने लक्ष्य राखिएको छ। ५० लाख पर्यटक आउँदा सम्भव पनि देखिन्छ। 

images
images

काठमाडौं- सरकारले राखेको लक्ष्यअनुसार काम सम्पन्न भएका भए सन् २०२५ भित्र वार्षिक २५ लाख पर्यटक नेपाल आउनुपर्ने थियो। तर त्यो सम्भावना टरिसकेको छ। अब सन् २०१९ को १४ लाख पर्यटकको लक्ष्य सन् २०२४ मा भेटाउनेगरी पर्यटन क्षेत्र लागिपरिरहेको छ। 

images
images
images

कोरोना माहामारीले २५ लाख पर्यटकको लक्ष्य नभेटिए पनि सन् २०३३ सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने अभियान सुरु भएको छ। धेरैले नेपालको अहिलेको संरचना र काम गर्ने शैलीले वार्षिक ५० लाख पर्यटक भित्र्याउन सम्भव नरहेको बताउँदै आएका छन्। तर तयार हुँदै गरेको भौतिक संरचना र पूर्वाधारसँगै राष्ट्रिय अभियान सुरु गर्न सकेमा वार्षिक ५० लाख पर्यटक भित्र्याउन समस्या नरहेको पनि बताइन्छ। 

images

होटल पूर्वाधारमा अहिले पनि वार्षिक ३० लाखभन्दा बढी पर्यटकलाई सेवा दिनेगरी संरचना खडा भइसकेको छ। यता यहि रफ्तारमा होटल निर्माणले गति लिने हो भने सन् २०३३ सम्म ७५ लाखभन्दा बढी पर्यटकलाई सेवा दिन सक्ने गरी तारे होटलको संरचना तयार हुँदै छ। अहिले नै पाँच तारे होटल २० वटा पुगिसकेका छन् भने दर्जनौँ ठूला तारे होटलहरू निर्माणको चरणमा रहेका छन्। 

images

विमानस्थलहरू पनि तयार हुँदैछन्। पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको ७५ वर्षपछि एकैवर्ष गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन्। हवाई रुटलगायतका विषय र कोरोना महामारीका कारणले अन्तर्राष्ट्रिय एयरलाइन्स र यात्रुको चाप कम हुँदा पनि विमनस्थलमा अहिले उडान भने भएका छैनन्। तर विगतमा जस्तो पर्यटक ल्याउने एउटा मात्रै गेट अब तीनवटा भएका छन्। अहिलेकै अवस्थामा पनि १ करोड २७ लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिने संरचना खडा भएको छ। जुन सुखद पक्ष हो।

वार्षिक ५० लाख पर्यटक भित्र्याउनका लागि भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनिवार्य सर्त हो। राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार पर्यटन क्षेत्रबाट करिब गत वर्ष ६१ अर्ब रूपैयाँ आम्दानी गरेको छ। सरकारले तयार पारेको योजना कार्यान्वयनमा सन् २०३३ सम्ममा वार्षिक ७ देखि १० खर्ब आम्दानी गर्ने लक्ष्य राखिएको छ। ५० लाख पर्यटक आउँदा सम्भव पनि देखिन्छ। 

१० वर्षमा के-के बन्छ संरचना?

सन् २०३३ सम्म सम्भवत सयौँ ठूला पूर्वाधारहरू खडा भएका हुनेछन्। चीनबाट रेल नआए पनि भारतबाट नेपालमा धेरै सहरमा रेलको सञ्जाल जोडिने छ। सगरमाथा बेसक्याम्प नजिक सडक सञ्जाल सहज हुनेछ। अन्य हिमालको छेउछाउ पनि सडक सञ्जालले जोड्ने छ। जसले पर्यटकलाई आकर्षित गर्नेछ। 

राज्यले बनाउने हवाई पूर्वाधारदेखि सडक हुँदै रेलसम्मका पूर्वाधार तयार हुनेछन् भने निजी क्षेत्रले अहिले पनि लाखौँ पर्यटक भित्र्याउने गरी पूर्वाधार खडा गरिरहेका छन्। आउने १० वर्षमा दोबर क्षमताको पूर्वाधार तयार हुनेछ। विमानस्थलबाट विमानस्थलसम्म पुग्ने सडकको सञ्जाल चुस्त हुनेछ।

अहिले पूर्वदेखि पश्चिमसम्म सडक विस्तारको काम भइरहेको छ। पृथ्वी राजमार्गको सडक खण्डहरू पनि सुधारको काम सुरु भएको छ। जसले काठमाडौंबाट पर्यटकका लागि गन्तव्यमा जान सहज बनाउने छ। १० वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरण निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउने छ। जुन विमानस्थलले वार्षिक २० लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिने छ। अन्य विमानस्थलको पनि सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण भइसकेको हुनेछ। यता पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि १५ लाख यात्रुलाई सेवा दिएको हुनेछ। पोखरा विमानस्थलमा पनि आवश्यकता अनुसारका सबै संरचना बनिसकेको हुने छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका काम समेत सम्पन्न हुनेछ। विमानस्थमा सुविधासम्पन्न टर्मिनल भवनको साथै दर्जनौँ अन्तर्राष्ट्रिय एयरलाइन्सले दैनिक सयौँ उडान गर्नेछन्। पार्किङको साथै धावनमार्ग र ट्याक्सी वेको समेत निर्माण सम्पन्न भइसकेको हुनेछ। 

अन्तर्राष्ट्रिय मात्रै होइन अहिलेको आन्तरिक हव विमानस्थलहरू क्षेत्रीय उडानका लागि समेत तयार भएका हुनेछन्। देशभरका आन्तरिक विमानस्थलमा सुविधासम्मपन्न टर्मिनल भवन निर्माण भएसकेको हुने छ। दश वर्षमा दर्जनौँ चर्चित चेन होटल नेपाल आइसकेका हुन्छन्। अहिले नै दैनिक १० हजार पर्यटकका लागि सेवा दिने क्षमता पुगेको छ। १० वर्षपछि तारे होटलको संख्या ३ दर्जनभन्दा बढी भइसकेका हुने छन्।

पर्यटकका लागि सुदूरपश्चिम र कर्णालीमा नयाँ गन्तव्यहरू खडा हुनेछन्। नेपाल वायुसेवा निगम व्यवस्थापनमा सुधार हुँदै कम्तीमा एक दर्जन जहाजमार्फत पर्यटकीय सहरमा सिधा उडान गर्ने छ। दर्जनौँ ठूला जलविद्युत आयोजना निर्माण भएर वरपर पर्यटन गन्तव्यहरू तयार हुनेछ। बुढीगण्डकी जलविद्युत आयोजनाको केही काम सम्पन्न भएको हुनेछ। जसले आन्तरिक र वाह्य दुवै पर्यटकलाई आकर्षित गर्नेछ। 

पशुपति र लुम्बिनीको गुरुयोजना सम्पन्न भएर बुद्धिष्ट र हिन्दुका लागि हब तयार हुनेछ। देशभर साहसिक पर्यटकी गतिविधि सञ्चालन भइसकेको हुने छ। सातै प्रदेशमा हिलस्टेशन निर्माण हुनेछ। केबलकार पर्यटन फस्टाएको हुने छ। एक प्रदेशबाट अर्को प्रदेश तथा एक सहरबाट अर्को सहरमा हवाई उडान हुने छ।

यसैगरी देशभरका आन्तरिक विमानस्थलहरूमा रहेका पुराना टर्मिनल भवनको ठाउँमा नयाँ टर्मिनल निर्माण हुने छ। अहिले नै आन्तरिक विमानस्थलहरूमा नयाँ टर्मिनल भवन बनिसकेको छ। विराटनगर, नेपालगञ्ज, विराटनगर, भरतपुर, तुम्लिङटार, लगायतका सबै विमानस्थमा नयाँ टर्मिनल भवन बनिसकेको हुनेछ। 

नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानको लागि १६ वटा विमान र अन्तर्राष्ट्रियतर्फ १० वटा ठूला विमानहरू हुनेछन्। श्रम गन्तव्य छाडेर निगम सिधा पर्यटन सहरमा उडान हुनेछ। निगमले २०३३ सम्म वार्षिक २० लाखभन्दा बढी अन्तराष्ट्रिय यात्रुलाई सेवा दिएको हुनेछ। 

देशैभर सडक विस्तार सम्पन्न

सरकारले राखेको लक्ष्यअनुसार काम भएमा अबको १० वर्षभित्रमा नै काठमाडौंबाट पोखरा जानका लागि दुई घण्टामा पुग्न सकिने छ। अहिले यात्रुलाई घण्टौँ समय व्यतित गर्नुपर्ने अवस्था छ। काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण भइसकेको हुनेछ। जसले काठमाडौं र तराई एक घण्टाकै यात्रामा जोडिने छ। देशको सबैभन्दा लामो पूर्व-पश्चिम राजमार्ग ४ लेनमा विस्तार भइसकेको हुनेछ।  

अहिले नारायणगढ-बुटवल सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ। यसैगरी कमला-कञ्चनपुर (सिराहा-सप्तरी) को ८७ किलोमिटर सडकको पनि काम भइरहेको छ। काँकडभिट्टा-लौकही ९५ किलोमिटरको ठेक्का सम्झौता प्रक्रियाको अन्तिम चरणमा छ। कमला-ढल्केवगरबाट पथलैया १ सय ३० किलोमिटर खण्डको डिजाइन अन्तिम चरणमा पुगेको छ। पथलैयाबाट हेटौँडा-नारायणगढ सडक पनि डिजाइनको चरणमा छ।

बुटवलबाट गोरुसिंहे ठेक्का लाग्ने तयारीमा रहेको छ। चनोटबाट पश्चिमको हकमा भने विस्तृत सम्भाव्यता अध्ययन भइरहेको छ। समग्रमा करिब ६६ अर्ब लागतको ठेक्का सम्झौता भइ काम भइरहेको छ। करिब १७ अर्ब लागतमा बुटवल-नारायणगढ खण्डमा काम भइरहेको छ। कमला-कञ्चनपुर खण्डमा करिब १६ अर्ब लागतमा ठेक्का सम्झौता हुने चरणमा छ भने काँकडभिट्टा-लौकही सडकमा ३५ अर्बको लागत अनुमान गरिएको छ। समग्रमा प्रतिकिलोमिटर ४० करोड रूपैयाँको लागतमा यो सडकखण्डको स्तरोन्नति गरिँदैछ। 

कर्णाली करिडोर, कोसी करिडोर, कालिगण्डीकी हुलाकी राजमार्ग, मदन भण्डरी राजमार्गको काम सम्पन्न हुने छ। यसैगरी काठमाडौंबाट अरनिको राजमार्ग हुँदै बाहिरिने सडक सबै स्तरोन्नती भइकेको छ। यसैगरी काठमाडौं-मुग्लिन, मुग्लिन पोखरा, सिद्धबाब सुरुङ नागढुंगा सुरुङ निर्माण भएकसको छ। कर्णालका सबै पर्यटकीय गन्तव्यहरूमा सडक सञ्चालन पुग्ने छ। चीन जोड्ने नाकाका सडकहरू निर्माण हुनेछ। 

पछिल्लो समय रेल मार्ग विस्तारका काम समेत भइरहेका छन्। काठमाडौं विरगञ्ज रेल निर्माणले गति लिएको हुनेछ। पूर्वपश्चिम विद्युतीय रेलको काम समेत अगाडि बढेको छ। यता भारततर्फबाट निजगढसम्म रेल मार्ग जोडिएको हुनेछ।

बिजनेस न्युजको पर्यटन विशेष सामग्रीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : आइतबार, वैशाख ३ २०८००४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend