बिहीबार , मंसिर ६ गते २०८१    
images
images

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सही छैन, बदल्नका लागि काम गर्छु : चन्द्र ढकाल [अन्तर्वार्ता]

images
बिहीबार , चैत ३० २०७९
images
images
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सही छैन, बदल्नका लागि काम गर्छु : चन्द्र ढकाल [अन्तर्वार्ता]

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो। यसले समग्र निजी क्षेत्रको मनोबल बढाउने तथा त्यसको माध्यमबाट लगानीको वातावरण बनाइ अन्तत: देशकै अर्थतन्त्रमा योगदान बढ्ने कुरामा मेरो ध्यान हुनेछ। 

images
images

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। आफूले सुरु गरेको उद्यम व्यवसायमा सफल मानिएका ढकालले महासंघको यात्रामा पनि लोकप्रिय यात्रा तय गरेका छन्। महासंघ प्रवेशपछि लोकप्रिय मतका साथ कार्यकारी समितिमा निर्वाचित भएका ढकाल उपाध्यक्षमा निर्विरोध भएका थिए। ५४ औँ साधारणसभामा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका ढकाल बिहीबार सम्पन्न ५७ औँ साधारणसभाबाट अध्यक्ष बनेका हुन्। वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने महासंघको विधानअनुसार ढकालले अध्यक्षको शपथ लिइसकेका छन्। महासंघका नवनिर्वाचित अध्यक्ष ढकालसँग उनका भावी योजनाबारे रवीन्द्र शाहीउत्तम काप्रीले गरेको कुराकानीको सम्पादित अंश :

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनुभएको छ। देशभर सञ्जाल भएको र सबै प्रकारका व्यवसायी आवद्ध निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्थालाई कसरी ड्राइभ गर्नुहुन्छ? 

images

कुनै पनि संस्थाको आफ्नो गरिमा हुन्छ। नेपाल उद्योग वाणिज्य महासंघ त झन गरिमामय संस्था हो। यसको नेतृत्वमा पुग्नु मेरा लागि आफैमा गौरवको कुरा हो। पहिलो कुरा त म आफै सामान्य पृष्ठभूमिबाट आएको मान्छे हूँ। अहिले जे जति उपलब्धी भएको छ मेरै जीवनकालमा भएको हो। 

images

एउटा सामान्य र सानो सपना पछ्याउँदा पछ्याउँदै आज यो ठाउँमा आएको छु। मैले प्रत्येक मोडमा भोगेका दु:ख र समस्यालाई आफैले अनुभूत गरेको छु। किशोर अवस्थामै बुवा गुमाएपछि भाइ बहिनीलाई पढाउने र आमाको हेरचाह गर्ने महात्कांक्षाबाट सुरु भएको मेरो व्यावसायिक यात्रामा अहिले निजी क्षेत्रको नेतृत्व गर्ने अवसर अहिले पाए। बहुराष्ट्रिय संघबाट महासंघमा प्रवेश गरेपछि लोप्रियताका साथ नेतृत्वमा चयन हुँदै आएको छु। अहिले त स्वत: अध्यक्ष हुने भइहाल्यो। 

महासंघ अध्यक्षको कुर्सीमा पुग्नका लागि मेरो आरामदायी व्यावसायिक यात्रा छैन। यो देशमा जति प्रकारका व्यवसायी छन् उनीहरूले अहिले जस्तो समस्या भोरहेका छन् ती सबै चरण म आफैले पार गरेर आएको छु। त्यही कारणले लगभग सबै क्षेत्र तथा प्रकारका व्यवसायका दु:ख समस्याका बारेमा म आफै जानकार छु। यसका लागि मैले उद्योगी व्यवसायीका समस्या समाधानका लागि कहाँ के गर्नुपर्छ भन्ने कुराका बारेमा म राम्रोसँग जानकर छु।

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो। यसले समग्र निजी क्षेत्रको मनोबल बढाउने तथा त्यसको माध्यमबाट लगानीको वातावरण बनाइ अन्तत: देशकै अर्थतन्त्रमा योगदान बढ्ने कुरामा मेरो ध्यान हुनेछ। 

निजी क्षेत्रप्रतिको आम बुझाइमा समस्या देखिन्छ। उद्योगी व्यवसायीहरू खाली नाफाका लागि मात्र काम गर्छन्। यिनिहरू उत्तरदायी छैनन् भन्ने कुरा यहाँसम्म कि नीति निर्माणमै बस्नेहरुमा पनि त्यस्तै बुझाइ छ। यो सही होइन।

वास्तविकता त के हो भने निजी क्षेत्रले लिने जोखिमका कारणले देशमा उद्योगधन्दा सञ्चालनमा छन्। यसबाट जनताले रोजगारी पाएका छन् भने राज्यले कर संकलन गर्छ। समग्र अर्थतन्त्रमा ८० प्रतिशतभन्दा माथिको योगदान निजी क्षेत्रबाट हुन्छ। यो वास्तविकतालाई बुझाउनुपर्छ र रहेको गलत दृष्टिकोण बदल्नका लागि मेरो निरन्तर प्रयास रहनेछ। 

कुनै पनि क्षेत्रमा सबै मान्छे सही र सबै खराब हुँदैनन्। एकाध पात्र खराब पनि हुन्छन्। त्यसका लागि राज्य छ, नियम हुन्छ र कानून र व्यवस्था हुन्छ। त्यही कारणले नै यी सब चाहिन्छन्। यो निजी क्षेत्रमा मात्र होइन सबैमा केही खराब पात्र हुनसक्छन् र असल पनि हुन्छन्। एकाध खराब पात्र भए भन्दैमा सबै निजी क्षेत्र नै खराब छ भनेर जुन भाष्य निर्माण गरिएको छ यसलाई चिर्नका लागि महासंघको नेतृत्वको हैसियतबाट सर्वसाधारण जनताको तहदेखि नीति निर्माणसम्म पहल गर्नेछु। 

अर्थतन्त्रको मुख्य हिस्सेदार निजी क्षेत्र भनेर राज्यले मोटामोटी रुपमा त बोलेको छ तर व्यवाहरमा अझै कतै पनि देखिँदैन। राज्यको एक पैसा दायित्व सिर्जना नहुने यत्रो मर्यादाक्रमको सूचीमा निजी क्षेत्र कतै पनि समेटिएको छैन। यही हुनुपर्छ भन्ने होइन कम्तिमा निजी क्षेत्रलाई समेट्नुपर्छ भन्ने मेरो बुझाइ छ। यसका लागि सरकारसँग पहल गर्नुपर्छ। 

नेपाल उद्योग वाणिज्य महासंघ प्रभावशाली संस्था हो। देशभर सञ्जाल भएको र सबै प्रकारका उद्यमी व्यवसायी यसका सदस्य छन्। यसले उठाउने प्रश्नले नीति निर्माणमा अर्थ राख्छ। त्यही कारणले गर्दा यसको नेतृत्वमा पुग्नुको विशेष अर्थ हुन्छ। त्यही अर्थपूर्ण नेतृत्वको लाभ समग्र निजी क्षेत्रका लागि भन्दा पनि व्यक्तिगत रुपमा लिने चलन रहेको भन्ने आरोप राम्रैसँग लाग्ने गरेको छ। यो आरोपलाई नजिक आउन नदिनका लागि तपाईको बाचा के छ? 

व्यक्तिगत लाभका लागि महासंघको अध्यक्ष पदको दुरुपयोग गर्न हुँदैन भन्नेमा म पहिलेदेखि नै निकै प्रष्ट छु। आम सदस्यहरूकोमात्र होइन निजी क्षेत्रकै लाभका लागि मैले काम गर्छु। व्यक्तिगत रुपमा लिनुपर्ने लाभ के नै छ र मेरा लागि। मैले अहिलेसम्म जे प्राप्त गरेको छु आफ्नै मेहनतले गरेको छु। यसमा महासंघको अध्यक्षको फाइदा मैले होइन बरु महासंघको लाभका लागि म मेरो पूरा समय दिन्छु। 

महासंघ एउटा प्रतिनिधिमूलक संस्था हो। यो शासकीय संस्था र प्राधिकार भएको संस्था पनि होइन। तर यसको चुनाव नजिँदै गर्दा आर्थिक सुशासन र संस्थागत सुधारको कुरा जबरजस्त रुपमा उठ्छ। यो कुरा साँच्चिकै गर्नैपर्ने भएर उठ्छ कि आफू नपुगेका कारणले देख्ने कुरामात्र हो? 

महासंघ भनेको निजी क्षेत्रको छाता संस्था हो। यसले निजी क्षेत्रका मुद्दालाई राज्य वा नियामकसँग लविङ गर्ने हो। नीतिग सुधारका लागि पहल गर्ने हो। व्यावसायिक गतिविधि बढाउनका लागि काम गर्ने हो र गर्छ। यसरी आवाज उठाउँदा कतिपय अवस्थामा व्यापारिक स्वार्थ देख्नेहरूको पनि कमी हुँदैन तर त्यो समग्र राज्यको हितका लागि हो। संस्थागत र आफ्नो वर्गका लागिभन्दा पनि आम जनताकै आवाज महासंघले उठाउँछ। 

निजी क्षेत्रले ब्याजदर बढाउन हुँदैन, सीमामा अवैध आयात रोकौं  तर आयात नरोकौं भनेर दिएको सुझाव त देशकै अर्थतन्त्रका लागि थियो। अहिले त पुष्टि भयो त। आयात रोक्न खोजियो तर गाडी बाहेक केही पनि रोकिएन। उल्टो राज्यले राजस्व पनि गुमायो। त्यसको फलस्वरुप राजस्व चरम संकटमा फस्यो। यो भनेको निजी क्षेत्रले यस्तो है भन्दा व्यापारिक स्वार्थकै लागि मात्र बोलेको जस्तो पनि देखियो। तर हामीले दिने सुझाव समग्र हितकै लागि भयो भन्ने थियो। राजस्व घट्ने कुरा, भइरहेका उद्योगधन्दा बन्द भए। त्यो हिसाबमा उद्योगी व्यवासयीहरूले दिएको मुद्दा राखेका छन्। त्यो त्यतिबेला उनीहरूकै हो भन्ने लागे पनि अन्तत: समग्र देशकै लागि हो। यो त प्रष्ट देखियो नि।

संस्थागत सुधार समयक्रममा गर्दै जानुपर्छ। समयको माग र यस्ता मुद्दा उठाउनका लागि अनुकूल सांगठानिक वातावरण बनाउनका लागि गर्नुपर्छ। यो कुनै पनि व्यक्तिगत वा पदीय पहलभन्दा पनि सामूहिक तरीकाबाट हुन्छ। यसमा चर्को वा मलिन स्वर भन्ने कुराले अर्थ राख्दैन।

सरकारसँग वार्ता गर्दा लचिलो हुने तर बाहिर आएपछि क्रान्तिकारी हुने व्यवसायीका नेताहरुमा देखिन्छ। तपाईले कसरी हेर्नुभएको छ यस्तो प्रवृत्तिलाई? 

मैले निजी क्षेत्रका साथीहरूलाई पनि भन्ने गरेको छु कि सार्वजनिक खपत तथा लोकप्रियताका लागि हुन नसक्ने कुरा बाहिर बोल्ने गर्न हुँदैन। मलाई लाग्छ मेरो देखाउनका लागि मिडियामा चर्का कुरा गर्नेभन्दा पनि जे छ त्यही राख्ने र समाधान गर्नसकिने गरि अघि बढाउने हो। सहभागीतामूलक नीति बनाउनका लागि पहल गर्ने हो।

चुनावमा आफ्नोमा चुनावी एजेन्ड प्रणालीमाथि आक्रमण गर्ने भइरहेको छ। यसलाई कसरी हेर्नुभएको छ?

यो पुरै गलत हो । यो कुरा मैले सार्वजनिक रुपमा भन्ने गरेको छु। कसैलाई मन पर्छ भन्दैमा भोट तान्नका लागि प्रणालीमाथि अविश्वास हुने भाषण गर्न हुँदैन। यो सरासर गलत हो। प्रणाली नै नरहे केही पनि रहँदैन। सस्तो लोकप्रियताका लागि यस्तो गर्न हुँदैन। कम्तिमा व्यवसायीहरूले यस्तो पथ पछ्याउन हुँदैन।


प्रकाशित : बिहीबार , चैत ३० २०७९१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend