शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

मधेशमा पर्यटन : अपार सम्भावना तर छैन योजना

images
images
मधेशमा पर्यटन : अपार सम्भावना तर छैन योजना

मिथिलाकालीन कला, संस्कृति, भेषभुषा, धार्मिक विविधता, आदिम धर्म संस्कारसँग जोडिएका मूल्य मान्यता, मठ, मन्दिर, कृषि पर्यटन, जैविक विविधता, नेपाल भारत सांस्कृतिक/वैवाहिक सम्बन्धसँग जोडिएका हेर्नलायक प्राचिन सम्पदाहरू पनि यहीँ विद्यमान छन्।

images
images

धनुषा- धार्मिक पर्यटनका हिसाबले ऐतिहासिक मधेश प्रदेशमा अन्य पर्यटकीय गतिविधिमा पनि अथाह सम्भावना देखिन्छ। तर देखिएका सम्भावनामा ठोस योजनासहित पूर्वाधार निर्माण साथै पर्यटकीय स्थलको सुधार र प्रचारप्रसारमा काम भइरहेको देखिँदैन।  

images
images
images

धनुषाको जानकी मन्दिर, धनुषाधाम, महोत्तरीको जलेश्वरनाथ, कटेश्वरनाथ, सर्लाहीको चमेलीमाई, सागरनाथ, लक्ष्मी नारायण मन्दिर, हरिहर क्षेत्र, रौतहटको नुन्तहर (पिकनिक स्थल तथा शिव मन्दिर), इश्नाथ, औरैया महादेव, बाराको गढिमाई, चुरियामाई, पर्साको ठोरी क्षेत्र, पारसनाथ मन्दिर, भाता मन्दिर, गहवामाई, सिरहाको बाबा लेक, बाला सुन्दरी भगवती, सारस्वरनाथ, नन्दबाबा, धमिनी थान, सप्तरीको छिन्नमस्ता, साखडा भगवती, वनस्खण्डी, शम्भुनाथ, कंकालिनीलगायत प्रदेशमा धार्मिक आस्थाका थुप्रै केन्द्र छन्। 

images

'मधेश प्रदेशमा धार्मिक पर्यटन नै सबैभन्दा सम्भावनाको क्षेत्र हो। यहाँका आठै जिल्लामा वैदिक सनातन धर्मसँग जोडिएका धेरै मठ मन्दिरहरू छन्', बृहत्तर जनकपुर विकास परिषद्का अध्यक्ष शितल साह भन्छन्, 'यी पर्यटन गन्तव्यहरूको योजनावद्ध विकास गर्न सके मधेश प्रदेशमा आर्थिक गतिविधि बढोत्तरी भई नागरिकको जीवीकोपार्जनमा समेत टेवा पुग्नसक्छ तर त्यो उद्देश्यका साथ धेरै काम गर्न बाँकी छ।'

images

हिन्दू धर्मावलम्बीमात्रै नभइ मुस्लिम, बौद्ध तथा जैन धर्मावलम्बीका आस्थाका केन्द्रहरू पनि हुनु यहाँको सबैभन्दा सुन्दर पक्ष हो। महोत्तरीको बलवा नगरपालिकामा रहेको तीनसय वर्ष पुरानो रौजा मजार छ। यो इस्लाम धर्मावलम्बीहरूको एक प्रमुख धार्मिकस्थल हो। प्रत्येक वर्ष चैत महिनामा मजारमा उर्ष जलसा (धार्मिक प्रवचन) भव्य रुपमा मनाइने गरिन्छ, जहाँ हिन्दूहरू पनि सहभागी हुन्छन्। त्यसैगरी सप्तरीको वनस्खण्डी सिख समुदाय, पर्साको भिष्वा मठ बौद्ध र एतिहासिक, पुरातात्विक धरोहर पारसनाथ मन्दिर जैन धर्मको आस्थाको केन्द्रका रूपमा परिचित छ। 

images
images

'माता जानकीको जन्मस्थल जनकपुरधाम मात्रै होइन हरेक जिल्लामा धार्मिक शक्तिपीठहरू छन्। जसमा नागरिकहरूको अगाध आस्था छ', बृहत्तर जनकपुरका अध्यक्ष साहले भने, 'यी सबै शक्तिपीठ अर्थात धार्मिकस्थलको पहिचान, पूर्वाधार विकास एवं प्रचारप्रसार हुनसकेको छैन।' 

amanlal modi.jpg
जनकपुरधाम

मधेश आफैँमा एउटा सुन्दर फूलबारी हो। यहाँ मधेसी-पहाडी, हिन्दू, मुस्लिम, जैन धर्मावलम्बीको समेत बसोबास छ। मिथिलाकालीन कला, संस्कृति, भेषभुषा, धार्मिक विविधता, आदिम धर्म संस्कारसँग जोडिएका मूल्य मान्यता, मठ, मन्दिर, कृषि पर्यटन, जैविक विविधता, नेपाल भारत सांस्कृतिक/वैवाहिक सम्बन्धसँग जोडिएका हेर्नलायक प्राचिन सम्पदाहरू पनि यहीँ विद्यमान छन्।

'मधेशमा सनातन धर्म, संस्कृति र सभ्यतासँग जोडिएका कुरा मात्रै होइन अरु थुप्रै पर्यटन क्षेत्रका सम्भावनाहरू छन् तर तिनको पहिचान, प्रचारप्रसार र पूर्वाधार विकासमा पर्याप्त लगानी हुनसकेको छैन', सामाजिक क्षेत्रमा समेत क्रियाशील जनकपुरधामका सञ्चारकर्मी ओमप्रकाश साहले भने, 'ठोस् योजना र पर्याप्त लगानीको अभावमा यी सम्भावनाहरू कुरामा मात्रै सीमित हुन पुगेका छन्। योजनाबद्ध रुपमा काम गर्नसके यहाँको पर्यटन सम्भावनाले प्रदेशकै मुहार फेर्नसक्छ।'

मधेश प्रदेशमा खासगरी मैथिली, भोजपुरी र थारू संस्कृतिको बाहुल्यता छ। मिथिला क्षेत्रमा मैथिली गाउँ र भोजपुरा क्षेत्रमा भोजपुरी गाउँको व्यावसायिक रूपमा विकास गरी ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सकिन्छ। यी गाउँमा स्थानीय खाना, रहनसहन, बासको व्यवस्था, मौलिक गीत-संगीतको संरक्षण गरी होमस्टेलाई पनि प्रोत्साहन गर्न सके स्थानीयस्तरमा पर्यटन विकासमा टेवा पुग्नसक्छ।

त्यसैगरी मैथिलीका महान् साहित्यकार विद्यापतिको सिरहास्थित जन्मस्थललाई प्रचारगरी साहित्यमा रुचि राख्नेहरूको अध्ययन अनुसन्धाको केन्द्र बनाउने र भोजपुरीका अन्तर्राष्ट्रिय कवि बाबा भिनकरामको जन्मस्थल सर्लाहीको सोहर्वा, गोनर्वा र विश्वका पहिलो गद्य साहित्यका लेखक ज्योतिरेश्वर ठाकुरको जन्मस्थल बारा जिल्लाको सिम्रौनगढमा पनि साहित्यिक गतिविधिका लागि विशेष क्षेत्र बनाउन सके त्यसले पनि पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउन सक्ने जानकारहरू बताउँछन्।  

यहाँका प्राकृतिक पोखरी, ताल तलैया, पर्सा राष्ट्रिय निकुञ्ज, सर्लाहीको भारत ताल, नाधी ताल, मिथिला गणराज्यको राजधानी ऐतिहासिकस्थल सिम्रौनगढ (बारा), प्राकृतिक रमणीय स्थल रौतहटको नुन्तहर (पिकनिक स्थल), वर्षमा एक दिन बैशाख १ गते मात्रै फुल्ने भनिएको सिरहाको सलहेश फुलबारी, बाबा लेक, सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्ष, गनसागर पोखरी, लोहजरा दह धार्मिकबाहेकका पर्यटकीय सम्भावनाका उदाहरण हुन्।  

'मिथिलाकालीन कलासँग जोडिएको सुन्दरता, मौलिक खानपान, रहनसहन, आतिथ्यता पनि यहाँको पर्यटनसँग जोडिएका अभिन्न अंग हुन्। तर पर्यटन सम्भावनाका यि विविध क्षेत्रको योजनावद्ध विकास, प्रचारप्रसार र व्यवस्थापन गर्न नसक्दा ‘लंकामा सुन छ कान मेरो बुच्चै’ भनेजस्तो भएको छ', सिरहाका सञ्जय विशुंखेले भने। 

bharat taal.jpg
भरत ताल

पर्यटन रणनीति 

नेपाल सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तयार गरेको नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना अहिले कार्यान्वयनको चरणमा छ। यो कार्ययोजना सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक नेपालमा भित्र्याइ सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजनासहित ल्याइएको हो। यस रणनीतिमा १० वर्षलाई १० छुट्टाछुट्टै उत्सवका रूपमा मनाउने भनिएको छ। त्योमध्येको एक हो, सन् २०२८ लाई मधेश प्रदेशमा रामायणमा आधारित पर्यटन अभियान चलाउने।

मधेश प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय स्थलको विकास गर्ने नीति अगाडि सारेको छ। जसमा ‘प्रादेशिक पर्यटन पूर्वाधार, आन्तरिक पर्यटनको आधार’ भन्दै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय क्षेत्रलाई विकास र प्रवर्द्धन गर्न दीर्घकालीन नीति लिने, प्रादेशिक गुरुयोजना निर्माण गरी प्रत्येक जिल्लामा न्यूनतम एक पर्यटकीय गन्तव्यस्थलको विकास गरिने भनिएको छ।

त्यसैगरी दूधमती महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, पर्सा जिल्लाको बौद्ध धार्मिकस्थल भिष्वा मठलाई विरगंज महानगरपालिकाकाको सहकार्यमा धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने, मुखियापट्टी मुसहरनिया गाउँपालिका धनुषास्थित नेपालको सबैभन्दा होचो स्थलको सौन्दर्यीकरण, सोही ठाउँको पौराणिक लक्ष्मीनारायण मठको संरक्षण गर्ने नीति छ।

धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन एवं विकासका लागि भारत सरकारको रामायण सर्किट कार्यक्रमसँग तादाम्यता मिलाइ कार्यक्रम सञ्चालन गर्ने, हरित पैदलमार्ग, हरित उद्यान निर्माणअन्तर्गत धनुषाधाम संरक्षित वनलाई गौरव आयोजनाका रुपमा जैविकपार्क तथा वन्यजन्तु उद्दार केन्द्रका रुपमा विकास गरिने, पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीलगायतका क्रियाकलापको गन्तव्य बनाउन सहयोगको दायरालाई फराकिलो बनाउँदै पर्या-पर्यटनमा जोड दिनेलगायतका काम गर्ने भनिएको छ। 

मधेश प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले मुख्य धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थानहरूको भौतिक संरचना र सरसफाइमा स्तरोन्नती गरी संघ, प्रदेश र स्थानीय तहसहित निजी क्षेत्रसमेतको समन्वयमा पर्यटन प्रवर्द्धनका काम गर्न जरुरी रहेको बताए।

'सम्भावना धेरै छन्। धार्मिक सांस्कृतिक क्षेत्रदेखि प्राकृतिक सुन्दरतामा आधारित पर्यटन र मौलिक भाषा, कला, संगीत, खाने परिकारहरू छन्, अब स्थानीय पहिचान झल्किने पर्यटन सोभेनियर, विशेष पर्यटन गन्तव्य, होमस्टे र स्थानीय मौलिकताको ब्रान्डिङ तथा प्रवर्द्धनको खाँचो छ', घिमिरेले भने, 'त्यसैलाई मध्यनजर गरी प्रदेश सरकारले सबै तहलाई समेट्ने र व्यापक सुधारको खाकासहित गुरुयोजना निर्माण गर्नुपर्ने छ। त्यो गुरुयोजनाले धेरै समस्या र सम्भावनाहरूलाई सम्बोधन गर्न सक्छ भन्ने अपेक्षासहित हामी त्यसको तयारी गर्छौ तर त्योभन्दा अगाडि प्रदेशको पर्यटन ऐन बनाउन जरुरी छ।'

उनले प्रदेशका आठ जिल्लामा पाँच/पाँच वटा पर्यटन गन्तव्यको पहिचान गरिएको र अब केही नयाँ गन्तव्यको खोजी गरी समग्रमा तिनको व्यापक प्रचारप्रसार, लोकमार्गहरूमा सूचनामूलक पर्यटनबोर्डको स्थापना र प्रदेश पर्यटन तथ्यांक पोर्टलको आवश्यकता आफूहरूले महसुस गरेकोले अब त्यसको विकास गरिने बताए।  

madesh pradesh.jpg
मधेश प्रदेश

सोही मन्त्रालयका योजना अधिकृत लालबाबु यादवकाअनुसार पर्यटन विकासका लागि चालु आर्थिक वर्षमा एक अर्ब १५ करोड बजेट विनियोजन गरी पर्यटन क्षेत्र विकासका लागि काम भइरहेको छ। नीति तथा कार्यक्रमको योजनानुसार एक जिल्ला एक पर्यटकीय गन्तव्यथलको विकास गर्न आठ वटै जिल्लामा काम भइरहेको यादवले जानकारी दिए। त्यसअन्तर्गत पर्साको ठोरी, सप्तरीको छिन्नमस्ता, कोशी टप्पु, सिरहाको सलहेश, धनुषाको गणेशनाथ चारनाथ गाउँपालिकास्थित कमलामा साढे सात करोडको लागतमा पोखरी निर्माण, महोत्तरीको जलेश्वरनाथ र कटेश्वरनाथ, रौतहटको औरैया महादेव, बाराको गढिमाई र सर्लाहीको चमेलिमाईलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न करिब १८ करोडको काम भइरहेको छ। 

'प्रदेश सरकारले मधेशमा दीगो र भरपर्दो पर्यटन पूर्वाधार विकास गरी पर्यटनको विकासमा काम सुरु गरेको छ। दीगो पर्यटन विकासका लागि पर्यटनसम्बन्धी प्रदेशस्तरीय कानूनी र संस्थागत संरचना निर्माण गर्ने नीतिअनुसार अहिले सिरहा र सप्तरीलाई लक्षित गरी लहानमा, धनुषा, महोत्तरी र सर्लाहीका लागि जनकपुरमा र बारा, पर्सा, रौतहट हेर्ने गरी विरगंजमा पर्यटन कार्यालय स्थापना गरिएका छन्। ती तीनवटा कार्यालयमार्फत प्रदेश सरकारले पर्यटनसँग जोडिएका क्रियाकलाप, योजना तथा गतिविधिहरू सञ्चालन गरिरहेका छौँ', यादवको भनाइ छ। 

पर्यटन विभाग योजना तथा अनुगमन शाखा काठमाडौंका इन्जिनियर वीरेन्द्रप्रसाद चौधरीले विभागले अहिले साढे दुई करोडको लागतमा सिम्रौनगढस्थित ५२ विगाह पोखरीको सौन्दर्यीकरण, सर्लाहीको हिरापुर व्यारेजमा करिब ५ करोडको लागतमा धर्मशाला, संग्रहालयलगायत पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए। उनले अहिले अधिकांश काम प्रदेश सरकारले नै गरे पनि ऐतिहासिक महत्वको पर्यटन पूर्वाधार निर्माणका लागि माग भइआएमा विभागले पनि बजेट तथा कार्यक्रम राखेर काम गर्ने बताए। 

'प्रदेश र स्थानीय तहबाट हुननसक्ने ठूला तथा ऐतिहासिक दूरगामी महत्वका क्षेत्रहरूको विकासका लागि ठोस् प्रस्तावसहित आएमा सहकार्य गर्न सकिन्छ तर अहिले कसैले पनि त्यसरी विभागमा योजना ल्याएर आएको देखिदैन', चौधरीको भनाइ थियो। 

मधेशमा जति सम्भावना छ त्यही प्रचार छैन। जति प्रचार छ त्यति पूर्वाधार विकास र विस्तारमा ध्यान दिइएको छैन।

'भन्न त सबैका लागि पर्यटन भन्ने अवधारणानुसार देशभित्रका सम्भावनाहरूको पहिचान, विकास तथा त्यसको व्यापक प्रचारगरी आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमणका लागि लालायित बनाउने लक्ष्य राखिन्छ तर कुन क्षेत्रको विशेषता के हो र त्यसको विकास कसरी गर्ने भन्ने ठोस् रणनीतिक पहलकदमी देखिँदैन', प्रतिनिधिसभा सांसद मनिष झाले भने, 'मधेश त हिजो पनि पर्यटन पूर्वाधार विकासको हिसाबले उपेक्षामै थियो। केन्द्र सरकारले यहाँको सम्भावनालाई पर्यटनसँग जोडेर र नागरिकलाई लाभ लिने गरी पहलकदमी लिएको देखिँदैन। अहिले पनि ठोस् रुपमा रुपान्तरणकारी काम हुन सकेको छैन।'

उनले मधेशको प्रमुख विशेषता नै धार्मिक आस्था भएको भन्दै त्यो आस्थासँग जोडिएका मौलिक सभ्याता, परम्परा, रहनसहन, सांस्कृतिक पक्षहरूको विविधता भए पनि त्यसलाई पर्यटनसँग जोडेर अहिलेसम्म पनि कुनै गतिविधि हुन नसकेको बताए। 

आन्तरिक सम्भावना त छँदैछ, विश्वको उदाउँदो अर्थतन्त्र र धार्मिक आस्थाको केन्द्र भारत मधेशसँग जोडिएको छ। नेपालको ढुङ्गालाई समेत देवता भनेर पुज्ने त्यहाँका नागरिकलाई नेपाल भित्र्याउने गरी धार्मिक पर्यटनको विकास गर्न सके प्रदेशको मात्रै होइन सिंगो देशको विकासमा नै युगान्तकारी योगदान हुनसक्छ तर यस विषयमा ठोस् काम हुन सकेको छैन।

'मधेशको जस्तो भौगोलिक सुगमता, सडक सञ्जाल सायदै अरु प्रदेशमा छ। एउटा व्यक्ति केही घण्टा र केही दिनमै मोटर चढेर प्रदेशका आठवटै जिल्लाका प्रमुख क्षेत्रहरूको भ्रमण गर्न सक्छ। अरु प्रदेशतिर हामी यस्तो कल्पना पनि गर्न सक्दैनौँ', मधेश भ्रमणका क्रममा जनकपुरधाम पुगेका पत्रकार ध्रुबसत्य परियारले भने, 'सडक छ तर सडक सञ्जालको उपयोग गर्दै यहाँका धार्मिक पर्यटकीय सम्भावनाहरूलाई जोड्ने, त्यहाँ पर्यटकहरूलाई घुम्नका लागि अभिप्रेरित गर्ने कुनै अभियान, प्रचारप्रसार वा गतिविधि छैन। जसले कहाँ, कसरी जाने भन्ने विषयमा पनि व्यक्ति अन्यौलमा छन्। पाहुनाहरूलाई जानकारी दिने कुनै संस्थागत क्रियाकलाप पनि छैन, जसले गर्दा मधेश नहेरेरै व्यक्ति फर्किनुपर्ने अवस्था छ।' 

पहिले त संघको मात्रै मुख ताक्नुपर्ने अवस्था थियो तर अब प्रदेश र स्थानीय तह पनि छ। यी दुई तहले पनि सम्भावनाको खोजी, प्रचार र ब्रान्डिङ गरी आर्थिक लाभ लिने गरी ठोस् योजना बनाउन सक्छन्। 'सम्भावना छ, होटल तथा सडक पूर्वाधारको उपलब्धता पनि छ तर पर्यटकीय दृष्टिकोण र योजनाअनुसार प्रदेश र स्थानीय सरकारले पनि सोचेको देखिँदैन। नागरिकसँग जोडेर उनीहरूकै ठाउँमा खानपिन, उठ्बस गर्ने गरी होमस्टे संस्कृतिलाई व्यापक बनाउन सकिन्छ। जसले समुदायको दिनचर्यासमेत बदलिन्छ, पर्यटकले पनि आनन्द लिएर फर्किन्छन्। यसतर्फ ध्यानदिनुपर्ने देखिन्छ', पत्रकार परियारको कथन थियो।  

त्रेतायुग अर्थात करिब १२ हजार वर्ष पहिले राजा जनककालीन मिथिला राज्यको राजधानी जनकपुर, जो एउटा महत्वपूर्ण धार्मिक तीर्थस्थल हो। माता सीता र भगवान रामको वैवाहिक सम्बन्धसँग जोडिएको जनकपुरको महिमा हिन्दू महाकाव्य रामायणमा उल्लेख छ।

'मन्दिर, पोखरी, मिथिला कला र जीवन्त चाडपर्वका लागि मधेश प्रदेश सुप्रसिद्ध छ', अधिकारकर्मी संजय महराले भने, 'प्राकृतिक सम्पदा र धार्मिक आस्थाका केन्द्र मात्र नभइ मिथिला सभ्यतासँग जोडिएका कला संस्कृतिको अनुपम नमूना र आदिम सभ्यता झल्काउने बस्ती, रहनसहन तथा परम्पराको पहिचान, संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटक लोभ्याउने आधार हुन सक्छन्। तर अहिले धार्मिक क्षेत्र र केही प्राकृतिक पोखरीको प्रचारप्रसारबाहेक यहाँका अरु सम्भावनाहरू ओझेलमै छन्। पहिचान भएकै क्षेत्रलाई पनि नागरिकसँग जोड्न सकिएको छैन।' 

bharat taal.jpg

नेपालमा अहिले सञ्चालनमा रहेको एकमात्रै रेल सेवा मधेश प्रदेशकै जनकपुरधाममा छ। त्यसको सञ्चालनपछि भारतीय धार्मिक पर्यटकहरूको आवागमन पनि बढेको छ तर त्यसरी आएका धार्मिक पर्यटकहरूलाई जनकपुरको जानकी मन्दिरभन्दा अरु ठाउँ पनि लिनेगरी कुनै योजना बनेको देखिँदैन।

वरिष्ठ पत्रकार हिमांशु चौधरीले भारतीय प्रधानमन्त्री मोदीको २०७५ बैशाख २८ को भ्रमणपछि बनाउने भनिएको रामायण सर्किटको एउटा महत्वपूर्ण अंगका रुपमा रहेको नेपालको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालनमा आए पनि त्यसबाट उपयुक्त लाभ लिन नसकिएको बताए।

'अहिले जनकपुर आउने धार्मिक पर्यटकहरूको संख्या बढेको छ तर तिनलाई केही दिन यहीँ बस्ने र यहाँका अरु क्षेत्रमा पनि घुम्ने गरी ‘पर्यटन रुट’ बनाउन सकिएको छैन', उनले भने, 'जनकपुरलाई विश्व वैवाहिकस्थल अर्थात वैवाहिक सांस्कृतिक संग्रहालयकै रुपमा विकास गर्न सकिन्थ्यो । हवाई सञ्जालको व्यवस्थित विस्तार गरी छोटो समयमै जनकपुर, लुम्बिनी र पोखरा घुम्ने प्याकेज बनाएर कम्तिमा एक रात जनकपुरमै विश्राम गराउने रणनीति बनाउन जरुरी थियो तर यसरी न त सरकारले सोचिरहेको छ न त यहाँको निजीक्षेत्रले सशक्त पहलकदमी लिन सकेको छ।'

पर्यटन भ्रमण वर्ष २०२० मा प्रदेश संयोजकको भूमिका निर्वाह गरिसकेका प्रतिनिधिसभा सांसद मनिष झाले आफ्नो नेतृत्वमा प्रत्येक जिल्लामा पाँच/पाँच वटा स्थान छानेर ४० वटा गन्तव्य पहिचान गरी सरकारलाई पूर्वाधार विकास, व्यवस्थित सञ्जाल निर्माण गरी धार्मिक आस्थालाई पर्यटनसँग जोड्न आग्रह गरे पनि अहिलेसम्म कुनै ठोस गतिविधि बढ्न नसकेको बताए।

'पोखरा, लुम्बिनी लगायतका स्थानमा पर्यटन बोर्डले कार्यालय राखेर काम गरिरहेको छ तर मधेशमा छैन। मधेशका लागि राज्यको लगानी र कार्यक्रम नै छैन', झाले भने,' केन्द्रले जबसम्म हस्तक्षेपकारी ढङ्गले काम गर्दैन, योजनाहरू बनाउँदैन तबसम्म पर्यटनको विकास होला भनेर आशा गर्नै सकिँदैन। यो विषयमा म संयोजक हुँदा पनि भनेकै हो, अरु बेला पनि भनिरहेकै छु तर पनि राज्यको ठोस ध्यान जान सकेको छैन। यो दुर्भाग्य हो।'

उनले अब प्रदेश सरकारले ठोस योजना बनाएर यहाँको पर्यटन क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नसक्नुपर्ने बताए।

'हाम्रो मधेश प्रदेशमा पर्यटन विकास भनेको मन्दिरको गेट बनाइदिने, पोखरीको चारैतिर घाट बनाइदिने भन्नेमा सीमित छ। जनकपुर आएका धार्मिक पर्यटकहरूलाई इङ्गेजमेन्ट गराउने योजना छैन। छोटो दूरीमै रहेका धेरै प्रतिष्ठित ठाउँहरूको भ्रमण तथा अवलोकन गर्न सकिन्छ भन्ने विषयमा जानकारी नै प्रदान हुँदैन। मधेश प्रदेशकै एक जिल्लाका मान्छेलाई अर्को जिल्लामा भएको सम्भावनाका बारेमा जानकारी छैन। यसकारण अब पहिले मधेशका मान्छेलाई मधेश चिनाउने अभियान थाल्नुपर्यो अनि अरुलाई पनि त्यो विषयमा जानकारी दिन सकिन्छ। जनकपुर आउने मान्छेलाई जानकी सर्किट बनाएर आसपासका क्षेत्रमा जान अभिप्रेरित गर्न सकिन्छ। अरु जिल्लाका प्रख्यात क्षेत्रमा जानका लागि मधेशमा अभियान चलाउन जरुरी छ। यति मात्रै होइन मधेश प्रदेशमा आउनेलाई अरु प्रदेशमा जान र अरु प्रदेशमा आउनेलाई यहाँ पुग्ने गरी विशेष प्याकेज बनाउने विषयमा निजी क्षेत्रले भूमिका खेल्नसक्छन्। अब नयाँ ढंगले अगाडि बढ्न जरुरी भइसकेको छ', झाले भने। 

तीनै तहका सरकार मात्रै होइन मधेश प्रदेशका होटल सञ्चालक, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले अन्तरप्रदेश भ्रमण आदानप्रदान कार्यक्रमहरूदेखि यहाँका सम्भावनाको प्रचारप्रसारका लागि दूतहरू राख्ने र ठूला पर्यटन मेलाहरूको आयोजना गर्न काममा पनि ध्यान दिनुपर्नेमा झाको जोड छ। 

मधेश प्रदेशसभा सदस्य रामअषिश यादव पनि तीनै तहका सरकारले आठै जिल्लाका सम्भावित पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनासहित काम गर्नुपर्ने बताउँछन्। यहाँको एक जिल्ला र क्षेत्रमा आउने धार्मिक पर्यटकलाई अर्को जिल्ला र क्षेत्रमा पनि घुम्ने तथा हप्तौसम्म यही रोकेर बढीभन्दा बढी स्थानको भ्रमण गराउने योजनासहित काम थालनि गर्नुपर्ने यादवको मत छ। 'मधेशको मौलिक संस्कृतिलाई जीवन्त बनाउन यहाँको प्रकृति र संस्कृतिलाई ध्यानमा राखेर वातावरणमैत्री विकासको खाका जरुरी छ', यादवले भने,'मधेशको समग्र पर्यटन विकासका लागि सरकारले तत्काल पर्यटन ऐन र आफ्नो गुरुयोजना निर्माण गर्नुपर्दछ। त्यसका लागि संसदान मेरो पनि भूमिका हुन्छ तर विभागीय मन्त्री नै यसमा बढी सक्रिय हुनुपर्दछ।'

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष हिरा गौतमले सरकारले गुरुयोजनासहित निजी क्षेत्रलाई पनि समेटेर अगाडि बढ्नसके मधेशको पर्यटन सम्भावनालाई यथार्थमा परिणत गर्न सकिने धारणा राखे। तर कसरी? उनले भने, 'हामी त अहिले पनि होटलमा ठूलो लगानी गरिरहेका छौँ। पर्यटकलाई उच्चस्तरको सेवा दिन हामी तयार छौ तर पर्यटकीय क्षेत्रमा ठूला पूर्वाधार विकास गरी पर्यटकहरूलाई भ्रमणका लागि अपिल गर्ने प्रमुख दायित्व त सरकारकै हो। सरकारको योजनामा निजी क्षेत्र हातेमालो गर्न तयार छ तर वृहत समन्वय र सहकार्यको माध्यमद्वारा मधेश प्रदेशलाई समृद्ध बनाउने योजना अगाडि सार्नु सक्नुपर्दछ।' 

मधेशमा पर्यटन सम्भावनाका धेरै क्षेत्रहरू छन्। तिमध्ये कतिपयको प्रचारप्रसार हुन सकेको छैन। प्रचारमै रहेका क्षेत्रको विकासका लागि पनि गुरुयोजना छैन।

जानकी मन्दिर, मटिहानी, धनुषाधाम, सहलेश फुलबारी, रौजा मजार, जलेश्वरनाथ, लक्ष्मीनारायण मन्दिर, सिम्रौनगढ, गढिमाई, छिन्नमस्ता, कंकालिनी, पारसनाथ, ननथर, रामभोरी भाठा, बागमती ताल लगायत मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र हुन्। यी क्षेत्रमा मात्रै गुरुयोजनासहित योजनावद्ध विकास हुने हो भने पर्यटन क्षेत्रबाटै मधेशले आफ्नो मुहार फेर्नसक्छ। यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी छ। 

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६
  • सम्बन्धित विषय:

  • # newyear2080
  • # tourism
  • # visitnepal
  • # tourismspecial
  • # nepaltourism
  • # janakpur


  • प्रतिक्रिया दिनुहोस