काठमाडौं- कोरोना महामारी आउनुअघिको वर्ष हालसम्मकै धेरै विदेशी पर्यटकले नेपालमा भ्रमण गरेका थिए। २०७२ सालको भूकम्पपछि निरन्तर बढेको पर्यटक आगमन कोरोना महामारीले प्रभावित भयो। महामारीको प्रभाव न्यूनीकरण भएसँगै अहिले फेरि पर्यटक बढ्न थालेका छन्।
अहिले विदेशी पर्यटक आगमन मासिक करिब एक लाख पुगेको छ। समय सामान्य हुँदै गएपछि पर्यटक आगमन फेरि महामारीपूर्वकै अवस्थामा पुग्न धेरै समय लाग्ने छैन। महामारीपूर्वको अवस्थामा पुगेपछि नियमित वृद्धिदर कायमै रहँदा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेमा व्यवसायीहरू आशावादी छन्।
विदेशी मुद्रा आर्जनको दिगो स्रोत पर्यटनमात्र हुनसक्ने भन्दै सरकारले पनि यसमा जोड दिइरहेको छ। राजमार्ग स्तरोन्नतिदेखि विमानस्थलसम्मका पूर्वाधार बनिरहेका छन् भने निजी क्षेत्रले पनि होटललगायतका क्षेत्रमा लगानी गरिरहेको छ।
प्राकृतिक तथा सांस्कृतिक सम्पदाका कारणले नेपालमा विदेशी पर्यटक सहजै आउन खोज्ने तर पूर्वाधारको अभावमा अहिलेसम्म ल्याउन नसकिएको धेरैको भनाइ छ।
जैविक विविधता, प्राकृतिक तथा सांस्कृतिक सम्पदा नेपाली पर्यटनका मुख्य आधार हुन्। सम्भावना धेरै छ भनिए पनि अहिलेसम्म पर्यटक खासै आउन सकेका छैनन्। बर्सेनि ८ लाखबाट १२ लाख पर्यटक थपिनका लागि नेपाललाई सातवर्ष लागेको छ। सन् २०१२ मा नेपालमा ८ लाख पर्यटक आएका थिए तर सन् २०१९ मा आएर बल्ल ११ लाख ९७ हजार पुगे।
पर्यटक आगमनमा नेपालले खासै ठूलो फड्को मार्न सकिकेको छैन। तर भएकै पर्यटकीय गतिविधि पनि असन्तुलित रहेको छ। नेपालमा पूर्वदेखि पश्चिमसम्म हिमालदेखि तराईसम्म सबैतिर पर्यटकका लागि आकर्षणक गन्तव्य छन् भन्न थालेकै वर्षौं भइसक्यो। नेपाल सरकारले सन् १९६४ देखिको पर्यटकीय तथ्यांक राख्न थालेको थियो। वर्षौंदेखि सबैतिर उत्तिकै सम्भावनाको प्रचार त गरिन्छ तर व्यवाहरमा ठीक उल्टो छ।
यसअघि राणा तथा राजाहरूले प्रबर्द्धन गरेका गन्तव्य तथा केही हिमालबाहेक अन्य नेपाली गन्तव्यमा पर्याप्त विदेशी पर्यटक जान सकेका छैनन्। लुम्बनी क्षेत्रदेखि पश्चिमतर्फ त विदेशी पर्यटक जानै सकेका छैनन्।
पर्यटकको प्रवाह काठमाडौं, सगरमाथा क्षेत्र र गण्डक क्षेत्रमै सीमित रहेको छ। ५० वर्षभन्दा लामो समयको सघन अभियानले पनि अहिलेसम्म यो घेराभन्दा पश्चिमतिर पर्यटकीय गतिविधि जान सकेका छैनन्।
नेपालमा पर्यकटहरूको मुख्यगरि तीनवटा उद्देश्य हुन्छन्। एउटा त साहसिक गतिविधि हो। हिमाल आरोहणलाई यसमा लिन सकिन्छ। त्यसपछि ट्रेकिङ र सामान्य भ्रमण। गन्तव्यका हिसाबले बसैभन्दा धेरै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणमा घुम्नेहरू धेरै छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकका लागि आकर्षक क्षेत्र हुन्। संख्याका हिसाबले सगरमाथा क्षेत्र तेस्रो लोकप्रिय गन्तव्य हो। चितवन राष्ट्रिय निकुञ्जमा २०७५/७६ मा १ लाख ४२ हजार ४ सय ८६ जनाले यात्रा गरेका थिए। त्यस्तै अन्नपूर्ण क्षेत्रमा १ लाख ८१ हजार विदेशीले भ्रमण गरेका थिए। सोही वर्ष लुम्बनी क्षेत्रमा भारतीयबाहेक १ लाख ७३ हजारले भ्रमण गरेका थिए।
तर उत्तिकै आकर्षक विविधता भएको बर्दिया राष्ट्रिय निकुञ्जमा भने अहिलेसम्म बर्सेनि १७ हजारभन्दा धेरै पर्यटक पुगेका छैनन्। २०७३/७४ सालमा बर्दियामा १७ हजार ९ सय ५९ जना विदेशी पर्यटक पुगेका थिए। त्यो संख्या नै अहिलेसम्मको उच्च हो।
पश्चिम क्षेत्रमा अन्य गन्तव्यको अवस्था बिजोग छ। शुक्लाफाँटामा बर्सेनि पाँच सय विदेशी पनि पुगेका छैनन्। खप्तड, रारा तथा शे फोक्सुन्डोमा बर्सेनि हजार विदेशी पर्यटक पनि नपुगेको सरकारको तथ्यांक छ।
पश्चिममात्र होइन पूर्वी तराईका धेरै आरक्ष तथा निकुञ्जमा पनि पर्यटक पुग्न सकेका छैनन्। प्राकृतिक सुन्दरता भएर पनि आवश्यक प्रबर्द्धन तथा पूर्वाधार नहुँदा पर्यटक पुग्न सकेका छैनन्। सुरुदेखि नै विदेशी आफैले प्रबर्द्धन गरिदिएका चितवन, अन्नपूर्ण र सगरमाथा क्षेत्रमै पर्यटकीय गतिविधि केन्द्रित छ।
पश्चिम नेपालमा पछिल्लो समय पर्यटकीय गतिविधि देखिएको भनेको हुम्लामा हो। मानसरोवर जानेहरू नेपालगञ्जबाट हुम्ला भएर जाने भएकाले उक्त रुटमा पर्यटकीय संख्या देखिएको छ। भारतीयहरूले सो मार्ग प्रयोग गर्छन्। त्यसबाहेक डोल्पाका रुटमा पर्यटकहरू उलेख्य बढ्न सकेका छैनन्।
नेपालको पर्यटन क्षेत्रको मुख्य ड्राइभर निजी क्षेत्र हो। अहिलेसम्म काठमाडौं सोलुखुम्बु क्षेत्रका व्यवसायीहरूमात्र प्रभावशाली छन्। तर पश्चिममा यस्ता व्यवसायी नभएको पर्यटन बोर्डका पूर्वप्रमुखकार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।
‘अहिलेसम्म लुम्बिनीमा पनि भ्यालु पर्यटक पुग्न सकेका छैनन् खाली त्यहाँ धार्मिक खालका मात्र पुगेका छन्। यो सब निजी क्षेत्रको अग्रसरता नपुगेको हो’ जोशी भन्छन्।
सगरमाथा भएका कारणले खुम्बु क्षेत्र तथा एकमात्र प्रवेशबिन्दु भएकाले काठमाडौंमा सुविधाजनक पहुँच पहिलेदेखि नै भयो। यही कारणले यहाँ नाफा पनि थियो र व्यवसायीहरू जागरुक भए र लगानी भयो। व्यवसायीहरूले जहिले पनि सहज प्रतिफललाई हेर्छन्। तर यो सुविधा पश्चिममा थिएन।
‘पोखरा र चितवनले काठमाडौंको नजिक हुनुको लाभ लिए तर त्यसभन्दा पर पुगेन’ जोशी भन्छन्।
मुख्य कुरा योबीचमा राज्यले पर्यटनलाई लक्षित गरेर कुनै पनि पूर्वाधार निर्माण गरेको छैन। राज्यले बनाउनुपर्ने पूर्वाधार नबन्दा पनि निजी लगानी पश्चिम क्षेत्रमा प्रवाहित भएन। पश्चिमभन्दा पनि पूर्वका धेरै सम्भावना भएका ठाउँमा पनि पर्यटकीय गतिविधि विस्तार नभएको जोशीको भनाइ छ।
पर्यटन प्रबर्द्धन क्षेत्र विषेशभन्दा पनि संयोग जस्तो देखिने गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य तथा जैविक विविधता विज्ञ जुद्धबहादुर गुरुङको भनाइ छ। कुनै पनि गन्तव्य राम्रो छ भनेर त्यहाँको प्रबर्द्धन हुँदैमा मात्र पर्यटक नआउने उनको भनाइ छ।
‘पर्यटक पुग्नका लागि गन्तव्य साँच्चिकै चम्किनका लागि सबै कुरा मिल्नुपर्छ। आवश्यक पूर्वाधार हुनुपर्यो जस्तो सहज पहुँच, असल आतिथ्यता, सीपयुक्त जनशक्ति र लगानी चाहिन्छ। यो सब भयो भने कुनै पनि गन्तव्यले लाभ दिनसक्छ’ उनले भने।
पश्चिम क्षेत्रमा सम्भावना भएर पनि अहिलेसम्म खासै त्यहाँ पर्यटकीय गतिविधि नदेखिएको उनको भनाइ छ।
चितवन राष्ट्रिय निकञ्जजस्तै आकर्षक भएर पनि बर्दियाले बजार पाएको छैन। निकट भारतीय नाका भएर पनि कम्तिमा भारतीयहरू पनि त्यहाँ पुग्न सकेका छैनन्। अझ काठमाडौंमा भएका तथा चितवन र लुम्बिनीसम्म पुगेका पर्यटकलाई नेपालगञ्जसम्म पुर्याउन सकिएको छैन।
त्यहाँसम्म पर्यटक नपुग्नुको मुख्य कारण हो केन्द्रसँगको दुरी। नेपालगञ्ज-काठमाडौंको महँगो हवाई यात्रा तथा कमसल सडकका कारणले असुरक्षित सडक यात्रा। अविछिन्न र अवरोधरहित सडक यात्रा वा सस्तो हवाइ सुविधा हुने हो भने कम्तिमा अहिलेजस्तो हुँदैन थियो।
यही दुरीको अवरोध हटाउन तथा नीतिगत सहजताका लागि नेपाल संघीय शासन प्रणाली लागु भएको छ। संघीय नेपालमा पनि राष्ट्रिय निकुञ्ज भने केन्द्र सरकार मातहत नै रहेको छ। यद्यपि त्यस्ता निकुञ्जलाई आधार बनाएर स्थानीय तथा प्रदेश सरकारले गन्तव्य ब्रान्डिङ गर्न सक्छन्।
दुरीकै कारणले अहिलेसम्म पिछडिएका पश्चिम नेपालका गन्तव्यलाई मुख्य बजार तथा सेवा सञ्जालमा जोड्नका लागि सरकारी तहबाटै पहल हुनुपर्छ। रोजगारी सिर्जना तथा आफ्नो क्षेत्रको आम्दानी बढाउनका लागि सबै तहका सरकारहरूले यसमा काम गर्नुपर्ने गुरुङको भनाइ छ।
‘संघीय ईकाइहरूले आफ्नो क्षेत्रमा आवश्यक जनशक्ति विकास गर्न सक्छन्। वा त्यो गन्तव्य राम्रो भएर पनि किन बजारसँग जोडिन सकेको छैन। कारण पहिचान गरेर समाधानका लागि काम गर्न सक्छन्’ उनले भने।
वर्षमा चितवनमा पुग्नेमध्ये आधा पर्यटकमात्र बर्दिया पुग्ने हो भने त्यहाँको बजार 'बुम' हुनसक्छ।
संघीय नेपालमा सरकारहरूले पर्यटन प्रबर्द्धनका लागि काम गर्न सके अहिलेको तुलनामा दोबर संख्या एक वर्षमै जाने जोशीको भनाइ छ। भारतीय प्रदेश सरकारसँगको साझेदारीमा नेपालका व्यवसायीलाई जोड्ने र प्रबर्द्धनलाई पनि जोड दिने हो भने धेरे फरक पर्ने उनको भनाइ छ।
‘पहिले पो काठमाडौं एकमात्र प्रवेश बिन्दु थियो र भारतका पनि मुख्य अन्तर्राष्ट्रिय विमानस्थल टाढा थिए तर अहिले नेपालगञ्जकै सीमापारी नजिकै अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। भारतकै आन्तरिक हवाइ सञ्जाल पनि व्यापक विस्तार भएको छ यसलाई नेपालसँग जोड्नका लागि प्रदेश सरकारले विशेष पहल गर्नसक्छ’ उनले भने।
स्थानीय सरकारले गन्तव्य विकासको प्रणाली राम्रो बनाउने तथा प्रदेश सरकारले प्रबर्द्धनमा जोड दिने हो भने पश्चिम क्षेत्रमा पर्यटकीय गतिविधि सहजै विस्तार हुने जोशीको विश्वास छ।
‘कर्णाली प्रदेशको आधा जनसंख्या सुगम स्थानमा बस्छ तर जहाँ पर्यटकीय गन्तव्य छन् त्यहाँ थोरै जनसंख्या छ त्यस्तोमा हामीले रारा वा से फोक्सुन्डो निकुञ्जलाई प्लास्टल फ्री बनाइदियौँ भने संसारभर एकैपटक सञ्चार हुन्छ र यसले हाम्रो युनिक गन्तव्य विकास हुन्छ। यस्ता थुप्रै काम गर्न सकिन्छ’ जोशीले भने।