शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

म्याग्दीमा विकास बजेटको अभाव, पटकपटक म्याद थप्दा पनि योजना अधुरै

images
बिजनेस न्युज
images
images
म्याग्दीमा विकास बजेटको अभाव, पटकपटक म्याद थप्दा पनि योजना अधुरै

हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त जनशक्ति र उपकरण परिचालन नगर्दा निर्माण धकेलिएको हो।

images
images

बेनी- म्याग्दीमा विकास बजेटको अभावसँगै भित्रिएका योजना कार्यान्वयनमा ढिलासुस्ती हुने गरेका छन्। जिल्लामा भित्रिएका अधिकांश योजना समयमा सम्पन्न नहुँदा पटक-पटक म्याद थप्दा पनि अधुरै छन्।

images
images
images

निर्माण व्यवसायीको लापरबाहीले जिल्लामा भित्रिएका गौरवको योजनाका रूपमा सञ्चालित सडक, भवन, पुललगायत ठूला विकास निर्माणका योजना अलपत्र परेका हुन्। निर्माणाधीन योजना कार्यान्वयन हुन नसकेपछि स्थानीय चिन्तित छन्।

images

जिल्लाको विकासमा ठूलो महत्व राख्ने योजनामध्ये बेनी-जोमसोम, बेनी-दरवाङ, गलेश्वर-भगवती, पोखरेबगर-शिख-चित्रे-घोडेपानी, दरवाङ-धारापानी, बेनी-बागलुङ, बेनी-मालढुंगालगायत सडक समयमा सम्पन्न हुन सकेका छैनन्। पटक-पटक समय थपिए पनि निर्माण व्यवसायीले योजनालाई पूर्णता नदिएपछि योजना कार्यान्वयन गर्ने कार्यालय, सम्बन्धित निर्माण व्यवसायी र मन्त्रालयमा ध्यानाकर्षण गराइएको प्रतिनिधिसभा सदस्य खम्वीर गर्बुजाले बताए।

images

हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त जनशक्ति र उपकरण परिचालन नगर्दा निर्माण धकेलिएको हो। संघीय र गण्डकी प्रदेश सरकारमार्फत भित्रिएका योजनामध्ये कतिपय कार्यान्वयनको प्रक्रियामा छन् भने कतिपय अधुरै छोडिएका छन्।

images
images

बेनी अस्पतालको भवन निर्माण पनि अलपत्र छ। ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत मंगला र धवलागिरि गाउँपालिकामा निर्माणाधीन भवनमा ढिलासुस्ती भएको छ भने रघुगंगामा योजनाको कार्यान्वयन प्रक्रिया नै अघि बढ्न सकेको छैन। ‘एक निर्वाचन क्षेत्र एक सडक’अन्तर्गत रघुगंगा गाउँपालिकाको गलेश्वर-पिप्ले-भगवती सडक खण्डमा आठ किलोमिटर कालोपत्र गनुपर्नेमा पटक-पटक म्याद थप्दा पनि भौतिक प्रगति ६९ प्रतिशतमात्र रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। आगामी असारसम्म समयसीमा तोकिएको छ। गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको उक्त योजना एपेक्स-खड्का कृष्ण जेभी कम्पनीले निर्माणको जिम्मा लिएको थियो।

बेनी-दरवाङ सडकअन्तर्गत लाम्पाटा-दरवाङ खण्डकको काम पनि अधुरै छ। दुई वर्षमा काम सक्ने गरी विसं २०७६ जेठमा सम्झौता भएको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको थियो। मङ्गला गाउँपालिकाको लाम्पाटाबाट मालिकाको केन्द्र दरवाङसम्म करिब सात किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म भौतिक प्रगति हालसम्म ५० प्रतिशत मात्रै छ।

पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन प्रक्रिया अघि बढाइएका बहुवर्षीय योजना पटक-पटकको ताकेतापछि निर्माण कम्पनी काममा फर्किएको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए। 'निर्माण कम्पनीलाई पर्याप्त मजदुर, उपकरण परिचालन गरेर कामलाई समयमा नै सक्न ताकेता गरेका छौँ', उनले भने। चालु आवको तेस्रो चौमासिकपछि मात्रै ठेकेदार काममा फर्किएकाले बहुवर्षीय योजना निर्धारित समयमा सम्पन्न नहुने सम्भावना बढेको उनको भनाइ थियो।

विसं २०७४ देखि सुरु भएको बेनी-बागलुङ सडकअन्तर्गतको करिब चार किलोमिटर सडकले पनि पूर्णता पाउन सकेको छैन। हालसम्म ९० प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

योजना ठेक्का लिएर काम सुरु गर्ने तर सम्पन्न नगर्ने प्रवृत्तिले नागरिकलाई सास्ती भएको रघुगंगाका स्थानीय दीपक कार्कीले बताए। 'योजना अलपत्र पार्ने ठेकेदारलाई राजनीतिक संरक्षण गर्नु नै गलत हो', उनले भने। जिल्लामा सडक, स्वास्थ्य क्षेत्रका भवन, खानेपानी, सिँचाइलगायत योजना निर्माण व्यवासायीको लापरवाही र बजेट अभावले अलपत्र हुँदा जनताले सास्ती भोग्दै आउनुपरेको उनको भनाइ थियो। 

निर्माण सम्पन्न गर्नुपर्ने समय बितिसक्दा बेनी अस्पतालको भवन पनि अधुरै छ। निर्माण व्यवसायीलाई काममा फर्काउन स्थानीय जनप्रतिनिधि, प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्य रेशम जुग्जाली, हरिबहादुर भण्डारी, विमला गौचन, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायतले पहल गरे पनि काम अगाडि बढ्न सकेको छैन। रासस

images

प्रकाशित : बुधबार, चैत २९ २०७९०७:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend