काठमाडौं- पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदरको बहसमा नै सबै केन्द्रित भइरहेका देखिन्छन्। बजारको प्राकृतिक अवस्थाले निर्धारण गर्ने बैंक ब्याजदर पनि घटाउने भन्दै प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले भाषण गरिरहेका छन्। अर्थतन्त्रमा देखिएका जोखिमको गहिर्याइ पहिल्याएर समाधानमा लाग्नुभन्दा घरजग्गा कित्ताकाट खुलाउने र ब्याजदर घटाउने सस्तो लोकप्रियतामा सरकार केन्द्रित छ।
बैंकको ब्याजदरको मुद्दालाई लिएर व्यवसायीहरूले आन्दोलनसमेत गरे। केही समययता भने आन्दोलन र विरोध मत्थर छ। बैंकको ब्याजदरको विषय मिटरब्याजसँग तुलना गर्दै केही समूहले आन्दोलनका नाममा अराजक गतिविधि समेत गरिरहेका छन्।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा उद्घाटन सत्रमा बोल्ने व्यवसायीमात्रै होइन सरकारकै नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशरशरण महतले ब्याजदर घटाउनतर्फ केन्द्रित हुने घोषणा नै गरे। अहिलेको आर्थिक अवस्थालाई सुधार गर्दै ब्याजदर घटाउनेसम्मको भाषण गरेका थिए।
यस्तै प्रकृतिका भाषण पछिल्ला सरकारका प्रमुख र अर्थमन्त्री जो कोहीले पनि गर्ने गरेका छन्। प्रधानमन्त्री दाहालले त प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच आर्थिक गतिविधि चलायमान बनाउने विषयसँगै ब्याजदर घटाउनेबारेमा सघन छलफल भइरहेको बताए। प्रधानमन्त्रीले बैंक ब्याजदर कम गर्ने र राजस्व संकलन बढाउने सन्दर्भमा छलफल भइरहेको सुनाए।
अर्थमन्त्री महतले मौद्रिक नीति कडा हुँदा भएकोतर्फ संकेत गर्दै मौद्रिक नीतिका कारण ऋण विस्तार नभएको, ब्याजदर बढेको, आर्थिक गतिविधि घटेर राजस्वमा दबाब परेको समेत बताए। ‘मौद्रिक उपकरणले बैंकको ब्याज बढ्यो। उनले राष्ट्र बैंकसंग बैंकको स्प्रेडदर घटाउने बारेमा कुराकानी भइरहेको समेत बताए।
अर्थमन्त्री र प्रधानमन्त्रीले उद्योगीको आक्रोशलाई साम्य पार्न ब्याजदरको विषय जोडेपनि सरकारले चाहेर ब्याजदर घट्न र बढ्न भने सक्दैन। गतवर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा दबाब दिँदा अर्थतन्त्रमा नै असर परेको थियो। अहिले पनि सोही दबाबको असर अर्थतन्त्रले भोग्दै आएको छ।
अर्थमन्त्रीले घरजग्गाको कित्ताकाट खोल्ने विषयमा समेत भाषण गर्न भ्याए। जुन कुरा प्रधानमन्त्री दाहालले पनि सोमबार जग्गाको कित्ताकाट खोल्ने तयारी रहेको भन्दै भाषणमा उल्लेख गरेका थिए।
घरजग्गा कित्ताकाट खोल्दैमा कारोबार बढिहाल्ने अवस्था भने रहँदैन। राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा गएको लगानी रोक्न घरजग्गा र सेयर कारोबारमा हुने ऋण लगानीलाई जोखिमपूर्ण लगानीमा राखेको छ। अहिले नै राष्ट्र बैंक उक्त विषय संशोधन गर्ने पक्षमा छैन।
‘गत वर्षभन्दा अहिलेको यो समयको अर्थतन्त्रका सूचकमा धेरै सुधार भएको छ, विस्तारै सबै सहज हुँदै जान्छ,’ मंगलबार आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले भने। ‘गत वर्षको आर्थिक सूचक हेर्दा रातभर निन्द्रा परेको थिएन, अहिले कम्तिमा सहज भयो,’ गभर्नर अधिकारीले भने।
ब्याजदरको विषय धेरै बहसको विषय बनेकोतर्फ संकेत गर्दै गभर्नर अधिकारीले ब्याजदर निर्धारण गर्न राष्ट्र बैंकले २०४६ मै बजारलाई छाडेको भन्दै ब्याजदर प्राकृतिक रुपमै घटबढ भइरहने बताए। तर पनि नियमन भने गरिरहेको उनले बताए।
‘बजारमा तरलता सहज भयो ब्याजदर घट्छ, कम भयो बढ्छ,’ गभर्नर अधिकारीले भने। ४ प्रतिशतको स्प्रेडदर तोकेको बताउँदै गभर्नर अधिकारीले जति बढे पनि बैंकहरूले पाउने ४ प्रतिशत नै भएको बताए। आर्थिक गतिविधिमा असर पार्ने ठाउँ ब्याजदरमात्रै नभएको समेत उनले बताए।
गभर्नर अधिकारीले अहिले तथ्यांक ठीकठाक हुँदा पनि व्यवसायीहरू छटपटिएको भन्दै प्रश्न गरे। गभर्नर अधिकारीले विगतमा बिग्रँदा पनि केही समयपछि मात्रै असर बजारमा देखिएको हो। ‘अब सुधारको सकारात्मक प्रभाव पनि छिट्टै देखिने छ,’ गभर्नर अधिकारीले भने। उनले १५ महिना लगातार घाटामा गएको मुलुकको शोधनान्तर अवस्था पछिल्लो ६ महिनादेखि बचतमा गएको समेत बताए। नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्म शोधनान्तर अवस्था १ खर्ब ४८ अर्बले बचतमा गएको छ।
शोधनान्तर अवस्था पछिल्लो ६ महिनादेखि सकारात्मक लयमा देखिएको छ। चालु वर्षको असोजदेखि शोधनान्तर बचतमा गएको हो। त्यसअघिका १५ महिनासम्म लगातार शोधनान्तर घटामा गएको थियो। चालु वर्षको आठ महिनामा सोधनान्तर डेढ खर्बले बचतमा गएको छ। जबकी गत वर्षको यही अवधिमा शोधनान्तर २ खर्ब ५५ अर्बले घाटामा थियो।
अत्याधिक आयात र अर्कोतिर रेमिट्यान्स संकुचित हुँदै गएपछि गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा चरम दबाब देखिएको थियो। तर यो वर्ष एकातिर आयात घटेको छ भने अर्कोतिर रेमिट्यान्स पनि लयमा देखिएको छ। राष्ट्र बैंकका अनुसार फागुनमा पनि रेमिट्यान्स १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको आएको छ।
पछिल्ला केही महिनादेखि मासिक खर्बमाथि रेमिट्यान्स आइरहेको छ। यो वर्षको ८ महिनामा रेमिट्यान्स २५ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठका अनुसार फागुनमा ७.४४ प्रतिशत मूल्यवृद्धि कायम भएको छ। त्यस्तै चालु खाता घाटा यो वर्षको आठ महिनासम्म ४४ अर्ब कायम भएको छ। जबकि गत वर्ष यही अवधिमा ६ खर्ब पुगेको थियो।
यो वर्ष विदेशी मुद्राको सञ्चितिमा पनि सुधार भएको छ। फागुनसम्म १० अर्ब ७० करोड अमेरिकी डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ। यो सञ्चितिले ९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जानकारी दिएको छ।