बुधबार, वैशाख १२ गते २०८१    
images
images

समृद्धिलाई जोड्ने पर्यटन : आवश्यकता नयाँ सोच र नीतिमा

'हिमाल र पहाड विदेशी लगानीकर्तालाई लिजमै दिऔँ'

images
images
images
समृद्धिलाई जोड्ने पर्यटन : आवश्यकता नयाँ सोच र नीतिमा

नेपाल सरकार र निजी क्षेत्रले पहिले नेपालका कुन-कुन क्षेत्रमा कस्तो लगानी गर्दा पर्यटक भित्र्याउन सकिन्छ भन्ने पहिचान हुनु पर्दछ। जसमा हिमाल, पहाड र तराई सबै भूभागको पहिचान गरि पर्यटन जोनको घोषणा गर्नुपर्दछ।

images
images

काठमाडौं- नेपालको पर्यटन क्षेत्रको विकास खासगरी हाम्रो नीति, नियम र योजनाहरू नै नबनाइ सन् १९५० र १९६० को दशकबाट स्वत: सुरु भएको हो। त्यसताकादेखि नै विदेशी पर्यटक नेपाल भित्रिन सुरु गरेका हुन्। उक्त समयभन्दा अगाडि नेपालमा पर्यटक भित्रिन नसक्नुका केही विशेष कारण थिए। जसमा नेपाल विदेशीको लागि खुला गरिएको थिएन। 

images
images
images

नेपालमा विदेशी पर्यटकको आकर्षण बढ्नुमा नेपालमा १ हजार २ सय किलोमिटरभन्दा बढी भूभागमा हिमाली क्षेत्र फैलिएर बसेको छ। उनीहरू त्यसलाई हेर्न र अध्ययन गर्न चाहान्थे। 

images

सन् १९५० भन्दा अगाडि उत्तरी क्षेत्रबाट विदेशीहरूले नेपालको हिमाल आरोहण र प्रकृतिका बारेमा बुझेका थिए, संयोगवस के भइदियो भने नेपाल खुल्नेवित्तिकै उत्तरी क्षेत्र चीनले बन्द गरिदियो, त्यसले झन विदेशीको लागि नेपाल आकर्षक गन्तव्य हुन पुग्यो। 

images

त्यो समूह बाध्यात्मक रुपमा पनि नेपालमा आउन थाले। नेपालका उक्त गतिविधि विशेषगरी युरोप र अमेरिकामा प्रचार भए र नेपालमा पर्यटकहरू भित्रिन थाले।

images
images

त्यस्तैगरी सन् १९६० देखि नेपालको साँस्कृतिक र धार्मिक क्षेत्रमा पनि पर्यटकको आकर्षण हुन थाल्यो। त्यसमा काठमाडौं उनीहरूको केन्द्रबिन्दु भयो। यसरी विदेशी पर्यटकहरू नेपाल आउन थालेपछि पहिलोपटक सन् १९५८ मा नेपालमा पनि पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भनेर सरकारले काम सुरु गरेको पाइन्छ।  

सन् १९६१ मा पर्यटन विभाग गठन भएपश्चात नेपालको पर्यटनका योजना र तर्जुमा सुरु गरिएको हो। नेपालको पर्यटनको गुरुयोजना भनेर सन् १९७२ मा सार्वजनिक गरियो त्यसपछि मात्र नेपालको पर्यटन योजनावद्ध ढंगले अगाडि बढेको हो। नेपालमा हामीले किन पर्यटक खोजेको, किन पर्यटक आवश्यक छ? भन्ने कुरा गुरुयोजनाले स्पष्ट पारेको थियो।

उक्त गुरुयोजनाले तयार पारेको नीतिअनुसार नै सन् १९९० अर्थात २०४६ सालसम्म चलेको थियो। उक्त नीतिमा स्पष्ट उल्लेख गरेको थियो कि पर्यटनमार्फत विदेशी मुद्रा आर्जन गर्ने भन्ने। त्यसबेलासम्म पर्यटक भनेको युरोपियन र अमेरिकन मात्र हो भन्ने रह्यो। हामीले छिमेकी मुलुक भारत र चीनमा नेपालको पर्यटनबारे बुझाउने कामसमेत गर्न सकेनौँ। नेपालको पर्यटनमा संख्या कम आएको भए पनि त्यसबेलाका पर्यटकको प्रतिदिन गर्ने खर्च भने बढी थियो। विदेशीहरूले नै नेपालमा होटलहरू खुलाउन प्रयत्न गरेका हुन्, जसमा पाँचतारे होटलहरू समेत खुलेका थिए। 

२०४६ सालपछि नेपालमा खुला अर्थनीतिका कारण नेपाली र विदेशीहरूलाई पनि लगानीका ढोकाहरू खुले जसका कारण घुम्ने गन्तव्यहरू पनि लगानीकर्ताहरूले आफै बजारीकरण गर्न थाले। पर्यटक आगमनमा पनि राम्ररी नै बढेर आयो। सन् १९९४ देखि नेपालमा ठूला चेन होटलहरू पनि नेपाल भित्रिए। जसमा होटल र्‍याडिसन, हायातलगायतका लगानीहरू नेपाल भित्रियो। 

यसले प्रभाव के पारेको थियो भने नेपालमा त्यत्रा होटलहरू खुलेका छन् नेपाल राम्रो छ भन्ने प्रभाव विश्वभर पर्‍यो। त्यसभन्दा अगाडि एउटा सोल्टी मात्र रहेको थियो। नेपालमा त्यस्ता चेन होटलहरूले गर्दा पुँजीगत लगानीभन्दा पनि बजारीकरण छिटो हुन पुग्यो। २०४६ अगाडि सरकारले पनि पर्यटन उद्योगमा लगानी गर्नुपर्छ भन्ने मान्यता रहेको थियो तर पछि भने नीति स्पष्ट भएर आयो।

नीतिमा के उल्लेख गरियो भने सरकारले पर्यटनको लागि आवश्यक पूर्वाधारहरू जस्तै बाटो, बिजुली, पानीलगायतको विकास गर्ने र निजी क्षेत्रले पनि लगानी गर्ने तथा पर्यटक भित्र्याउने भनेर छुट्याइयो। जसले गर्दा निजी क्षेत्रको ठूलो लगानी पर्यटनमा आउने क्रमसुरु भयो। सरकारको यस्तो नीतिले ठूला होटलहरू भने उल्लेख्य आउन सकेनन् किनकि नेपालीहरूले ठूला पाँचतारे होटलहरूमा लगानी गर्ने क्षमता भएन। तर एकतारे, दुईतारे होटलहरू भने सयौँको सख्यामा खुलेका छन्। 

नेपालमा २०४६ अगाडि पर्यटकहरू खासगरी काठमाडौंको दृश्यावलोकन गर्न मात्र आउँथे तर लगानी खुला भएपछि नेपालमा पनि जंगल सफारी संचालनमा आयो। सौराहमा टाइगर टप्स आएपछि सौराह पर्यटकको लागि चर्चित भयो जसले गर्दा नेपाल जंगल सफारीको लागि पनि उपयुक्त छ भन्ने प्रचार भयो। त्यसपछि सौराहको वरीपरि नेपालीहरूले पनि धेरै लगानी गर्न थाले।  

२०४६ साल अगाडि पोखरामा खासै पर्यटक जाँदैन थिए, खाली अन्नपूर्ण क्षेत्रमा जानेहरू मात्र हुने गरेका थिए। तर लगानी बढ्न थालेपछि २०४६ पछि भने पोखरामै घुम्ने र फर्कनेहरू ठूलो संख्यामा हुन थाले। २०४६ पछि लुम्बिनी, पोखरा, चितवनलगायत क्षेत्रहरू नयाँ गन्तव्यको रुपमा आएका छन्। जसले गर्दा नेपालमा पर्यटक आगमनमा समेत वृद्धि भएको छ। 

नेपालको अर्थतन्त्रलाई पर्यटन क्षेत्रले चलायमान बनाउन सुरु गरेको भए पनि २०५२ सालदेखिको हिंसाले धेरै लगानीहरू पलायन भए भने पर्यटक आगमनमा पनि ठूलो संख्यामा गिरावट आउन थाल्यो। पुन: सन् २००६ मा दिल्लीमा भएको १२ बुँदे सम्झौताले संसारभर सकारात्मक सन्देश प्रवाह भएको थियो। जसले गर्दा नेपाल भ्रमणमा आउने पर्यटक संख्यामा ठूलो वृद्धि भएको थियो। हाल आएर लगानी परिचालनको सुरुवात भइरहेको छ। 

पर्यटन क्षेत्रको विकासका लागि पाँच कुरा अपरिहार्य रहेको छ। जसमा सबैभन्दा पहिलो लगानी परिचालन हुनको लागि निरन्तर नीतिगत सुधार, पूर्वाधारको विकास, विदेशीहरूलाई विश्वासमा लिएर विदेशी लगानी भित्र्याउनु पर्दछ, कुनै क्षेत्रको विकासका लागि कसको स्वामित्वमा रहेको छ भन्ने कुराको प्रष्टता हुनु पर्दछ। 

२०४६ पछि विदेशी मुद्रा आर्जनका पनि ठाउँ र महत्व फेरिएको छ। पहिले अमेरिका र युरोपका डलर मात्र विदेशी मुद्राको रुपमा लिइन्थ्यो तर हाल जापनिज, भारतीय, चिनियाँ मुद्रा पनि सोही हाराहारीमा आएको छ।

२०४६ पछिको सबैभन्दा ठूलो उपलब्धी भनेको पहिले युरोपतिरबाट ६० प्रतिशत पर्यटक नेपाल आउने गरेका थिए भने थाइल्यान्ड, भारत लगायत मुलुकबाट १० देखि १५ प्रतिशत पर्यटक आउने गरेका थिए। तर चीनबाट पर्यटक नै आउँदैन थिए। हाल आएर नेपालमा चिनियाँ र भारतीय पर्यटक मात्रै ५० प्रतिशतभन्दा धेरै आउन थालेका छन‍्, यो महत्वपूर्ण उपलब्धी हो। नेपाल सधै वस्तुगत व्यापार घाटा हुने मुलुक भएकोले त्यसलाई सम्बोधन गर्न र सहज रोजगारीको अवसर सिर्जना गर्नको लागि पर्यटन क्षेत्रको विकासविना असम्भव भइसकेको छ। उक्त कुरा नेपाल सरकार र निजी क्षेत्रले बुझ्नु जरुरी छ। 

आवश्यकता राष्ट्रिय कार्यक्रमको 

हामीले मात्र नभएर विश्वभरका मुलुकहरूमा यस्ता कार्यक्रमहरू संचालन गरि पर्यटक भित्र्याउन यस्ता कार्यक्रम गरिन्छ। सोहीअनुसार सन् १९९६ मा र सन् १९९८ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर विश्वभर प्रचार गरियो।

पाँच लाख पर्यटक भित्र्याउने गरि सुरु गरिएको उक्त जागरण कार्यक्रमले गर्दा नेपालको पर्यटनमा धेरै लगानी आए भने निजी क्षेत्र उत्साहित भएका थिए। पुनः नेपाल द्वन्द्वमा गएपछि धेरै लगानीहरू बाहिरिए भने पर्यटक आउनमा उच्च गिरावट आयो। सन् २००६ मा दिल्ली सम्झौता भएपछि हामीले अब के गर्ने भनेर काम सुरु गरियो।

सन् २००७ मा हामीले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरियो। १० लाख पर्यटक भित्र्याउने गरी सुरु गरिएको उक्त अभियानले गर्दा अहिले नेपाल घुम्नको लागि सुरक्षित र उपयुक्त छ भन्ने सन्देश फैलिएर र पर्यटकले द्वन्द्वलाई बिर्सिएको अवस्था रहेको छ।

सन् २०११ मा गरिएको अभियानले नेपाल उडान भर्न धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरू नेपाल भित्रिएका छ। हामीले विश्वभर के सन्देश दिन सफल भयौँ भने नेपाल यस्तो मुलुक हो जहाँ राष्ट्रपतिदेखि जनतासम्म एकै ठाउँमा उभिए। कोरोनाले गर्दा सन् २०२० मा मनाउन तय गरिएको भ्रमण वर्ष रोकियो। अहिलेसम्म पनि कोरानाले थला परेको पर्यटन माथि उठ्न सकेको छैन। अब फेरि पनि आउने केही वर्षभित्रै सबैलाई जोड्ने गरी नयाँ कार्यक्रम आवश्यक भइसकेको छ। 

नेपालको पर्यटन विकासका लागि आवश्यक बाटो  

नेपाल कस्तो मुलुक र धरातल भएको ठाउँ हो भन्ने सबैलाई थाहा भएकोले राज्यले सबै कुरा गर्न सक्दैन। नेपालको निजी क्षेत्रले पनि ठूला लगानी गर्न सक्ने अवस्था छैन। नेपाल सरकार र निजी क्षेत्रले पहिले नेपालका कुन-कुन क्षेत्रमा कस्तो लगानी गर्दा पर्यटक भित्र्याउन सकिन्छ भन्ने पहिचान हुनु पर्दछ। जसमा हिमाल, पहाड र तराई सबै भूभागको पहिचान गरि पर्यटन जोनको घोषणा गर्नुपर्दछ। जहाँ बाटो, पानी, बिजुली छैन। त्यस्ता ठाउँहरूको पहिचान गरेपछि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई २०/३० वर्षको लागि भाडामा दिनुपर्दछ। 

त्यसवापत राज्यले कति रकम लिने हो त्यो लिनुपर्दछ। अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सबै कुरा गरेर बजारको पनि विस्तार गरेर ठूलो संख्यामा पर्यटक भित्र्याउने काम गर्दछन्। हामीसँग उदारण पनि छ, यसअघि सन् १९६५ मा सौराहा चितवनमा टाइगर टप्सलाई ठाउँ दिएपछि ब्रान्डिङ भयो। त्यसपछि नेपालका निजी क्षेत्रले पनि सौराह वरीपरी लगानी गर्न थालेका हुन्। 

सौराहा आज विश्वभर प्रचार भएर नेपालमा राम्रो पर्यटक गन्तव्य भएको छ। हामीले उक्त मोडलअनुसार अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाइदिनु पर्दछ। यस्तो गरेर आज माल्दिभ्सले पनि लिजमा दिएर धेरै ठाउँको विकास गरेर लाखौँ पर्यटक भित्र्याउने गरेको छ। सो मोडल नेपालमा सफल हुने निश्चित छ। 

नेपाल आफैमा प्राकृतिक सौन्दर्यले भरिएको मुलुक हो। जहाँ पर्यटनको विकास गर्नका लागि कुनै भौतिक संरचनाको आवश्यकता पर्दैन। तर, नेपालमा भएका स्रोत र साधनको मात्र उपयोग गर्न सकिएमा पनि एकाध वर्षमा नै नेपालले पर्यटनमा ठूलै फड्को मार्न सक्ने देखिन्छ।

नेपालमा पर्यटन विकासमा अनेक मुद्दाहरू उठाइने गरेको भए पनि कार्यान्वयन तहमा फितलो देखिनु नै सबैभन्दा बढी समस्याका रूपमा रहँदै आएको छ। नेपालभन्दा पछि पर्यटनले प्रवेश पाएका मुलुकहरूमा बर्सेनि ५० औँ लाख विदेशी नागरिकलाई भित्र्याएर अर्बौं डलर आम्दानी गरिरहेका छन् भने लाखौँको संख्यामा रोजगारीको अवसर सिर्जना गरिरहेका छन्। 

नेपालमा भने अझै पनि पर्यटन क्षेत्रमा ठूलो लगानी गर्न निजी लगानीकर्ताहरू डराइरहेको अवस्था छ। नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जरजर अवस्था हुनु, नेपालमा पर्यटन विकासका बारेमा गाउँस्तरसम्म प्रचार गर्न नसक्नु साथै भए गरेका काम र नेपालको वस्तुस्थितिका बारेमा विदेशमा प्रचार गर्न नसक्नु नै नेपालमा विदेशी पर्यटक नभित्रिनुको मुख्य कारण हो।

नेपालमा हालसम्म पनि औँलामा गन्ती गर्न सकिने ठाउँको मात्र विकास गर्ने र अन्य स्थानहरूको बारेमा प्रवर्द्धन नगर्ने हो भने अझै धेरै समयसम्म पनि नेपालको पर्यटन विकासले गति लिने अवस्था छैन। हाल नेपालमा अन्नपूर्ण पदमार्ग, पोखरा, एभरेस्ट राउन्ड र सौराह मात्र नेपालको पर्यटन क्षेत्र हो भन्ने प्रभावले गर्दा अन्य क्षेत्रहरू छायामा परेको निश्चित हो। 

अब नेपाल सरकार, पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्था, लगानीकर्ताहरूले अहिलेको सोच र स्थितिबाट माथि उठेमा अब आउने केही वर्षमा नै नेपालमा लाखौँ पर्यटक भित्रिन सक्छन्। जसले गर्दा ओरालो लागेको नेपालको अर्थतन्त्र निकट भविष्यमा नै माथि उकासिने कुरामा दुईमत छैन।    

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६
  • सम्बन्धित विषय:

  • # tourism
  • # nepaltourism
  • # visitnepal


  • प्रतिक्रिया दिनुहोस