नेपालको पर्वतीय पर्यटन सुरु भएको ७० वर्ष पुग्दै गर्दा वर्तमान फेरिँदो छ। भविष्यका लागि नयाँ-नयाँ आयामहरू पनि अगाडि आइरहेका छन्। पछिल्लो समय नेपालको पर्वतीय पर्यटनमा हेलिकप्टरको भूमिका पनि बढिरहेको छ।
नेपालमा पर्वतीय पर्यटन सुरु हुँदा एभिएसन थिएन। पैदलकै सहारामा अघि बढिरहेको पर्वतीय पर्यटनका साथै हिमाल आरोहीहरू आउने क्रमले नेपाल हिमालयको देशका रूपमा विश्वभर चिनियो। नेपालको हिमशृंखलाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै प्रमुख चिनारीको रुपमा रह्यो।
हिमाली पर्यटनको विकास क्रममा हिमाल चढ्न र दृश्यावलोकनका लागि आउने पर्यटको संख्या बढ्दै गयो। यही क्रममा गएको १५/२० वर्ष अगाडिबाट नेपालमा हेलिकप्टर व्यवसाय पनि सुरु भयो। हेलिकप्टरको उद्देश्य पनि हिमाली भेगहरूमा सेवा गर्नु नै थियो।
अहिले हेलिकप्टरको उद्देश्य दुईवटा छ। पहिलो त हिमाली रेन्जमा जान चाहने पर्यटकका लागि यातायातको साधनका रूपमा।
हिमाली क्षेत्रमा हिँडेर जान सबैका लागि सम्भव हुँदैन। त्यो कार्य सामान्यका लागि पनि कठीन नै हुन्छ। त्यस्तो ठाउँमा गएर दृश्यावलोकन गर्न हेलिकप्टर नहुँदा पर्यटकहरू आएका थिएनन्। त्यसको प्रचार पनि भएको थिएन। अहिले त्यस्तो ठाउँमा विविध प्रचार पनि भइरहेको छ। त्यस्तो ठाउँमा जान चाहने पर्यटकले जान सक्ने तथा थाहा पाउने अवस्था बनेको छ। यसको एउटै माध्यम हो- हेलिकप्टर।
नेपालका दुर्गम ठाउँमा रहेका विमानस्थलहरूमा पनि मौसमको प्रतिकुलताका कारण जहाजहरू उडान समयमै हुन नसक्ने तथा नजाने अवस्था थियो। त्यस्तो ठाउँमा पर्यटक लैजाने माध्यम हेलिकप्टर बन्यो। विदेशी पर्यटकहरू केही एकदमै सीमित समय लिएर आउने पनि हुन्थे। नेपाल आएपछि धेरै ठाउँ जान चाहनेहरूले हेलिकप्टर नै प्रयोग गर्न थाले। त्योभन्दा पनि ठूलो विषय त हिमालको काखमै गएर रमाइलो गर्न सक्ने माध्यम हेलिकप्टर बन्यो।
धेरै खर्च गर्न चाहने पर्यटकलाई सेवा सुविधा पहिलो विषय हुन्छ। उनीहरूका लागि पैसा दोस्रो विषय हो। नेपालमा अहिले बढी खर्चालु पर्यटक हिमालमा जानेहरू नै छन्। यसको सुरुवात हेलिकप्टरबाट नै भएको हो। हेलिकप्टर नभएको भए लुक्ला, जोमसोम, डोल्पालगायतका गन्तव्यमा बढी खर्चालु पर्यटक जान सक्ने अवस्था थिएन। हेलिकप्टरका कारण बढी खर्चालु पर्यटकका लागि नेपालको हिमाललगायतका गन्तव्य रोजाइमा परेको छ। मुख्य रूपमा यो सम्भव भएको हिमालकै प्रचार भएपछि हो। यसले गर्दा नेपालको पर्यटनको विकास बढ्दो छ। ठूलो संख्यामा बढी खर्चालु पर्यटक हिमालसम्म पुग्ने माध्यम हेलिकप्टर भएका कारण उनीहरू नेपाल आइरहेका छन्।
केही वर्ष अगाडिसम्म ५/७ वटा हेलिकप्टर पनि मुस्किलले चलेका थिए। अहिले नेपालमा ३०/३५ वटा हेलिकप्टर छन। सबैले नै यात्रु पाएका छन्। सहज रुपमा नै चलेका छन्। यसको पछाडिको पहिलो कारण हिमाल नै हो। त्यही भएर हिमाल र हेलिकप्टर सँगसँगै भनिँदै आइएको छ।
यसैगरी नेपाल हिमाली पर्यटकीय हव हो र त्यो अझै विकास हुन्छ। यसमा नेपालका लागि राम्रो पक्ष के छ भने देशको सीमासँगै जोडिएका दुई छिमिकी राष्ट्र भारत तथा चीन आर्थिक हिसाबमा समृद्धिको उच्च बाटोमा छन्। युरोप अमेरिकनभन्दा पनि भारत र चीनका नागरिकहरू बढी खर्च गर्न सक्ने अवस्थामा पुगेका छन्।
उनीहरूका लागि नेपाल आउनु भनेको एउटा मात्रै ढोका हो। चीन तथा भारतका ठाउँबाट एक/दुई घण्टामा त अहिले काठमाडौं आउन सकिने भएको छ। काठमाडौं आएको एक/दुई दिनमै हिमाल जान सक्छन्। जसका कारण पनि बढी खर्चालु पर्यटका लागि नेपाल राम्रो गन्तव्य बन्दै गएको छ।
अब गन्तव्यको विकाससँगै पर्यटक बढीभन्दा बढी भित्र्याउनका लागि सरकारी तवरबाट पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्छ। नेपालले आफ्नो दुई छिमेकी देशबाट नै पर्याप्त पर्यटक भित्र्याउन सक्छ। यसका लागि राज्यले पनि सहज नीतिगत व्यवस्था गर्नुपर्छ।
पर्यटकसँगै नेपालीकै कारण पनि हेलिकप्टर व्यवसाय फस्टाउँदो छ। सहज यातायातको साधन नभएको ठाउँमा दुर्घटना भयो, तत्काल अस्पताल लैजानु पर्ने भयो, त्यस्तो बेलामा हेलिकप्टर नै प्रयोग भएको छ। हिमाली क्षेत्रको अधिकांश क्षेत्र भिरालो नै भएको ठाउँ हो। पहिरो गएर बाटो बन्द हुने। बाटो खोलाले बगाइदिने जस्ता समस्यामा हेलिकप्टर नै काम लागेको छ।
धेरै अप्ठ्यारो ठाउँमा यातायातको साधन पनि हेलिकप्टर नै बनेको छ। हामीलाई एउटा के अनुभव भएको छ भने कोभिडको समयमा विदेशी पर्यटक नेपाल आएका थिएनन्। यो बेलामा पनि हेलिकप्टर व्यवसायीले केही न केही व्यापार गरेका थिए। कोभिडको समयमा बिरामी उद्धार गर्ने काममा समेत हेलिकप्टर नै प्रयोग भएका थिए। जसका कारण व्यवसायलाई जीवित राख्न सहयोग नेपालीबाट नै भएको थियो। व्यवसायीले नाफा गर्न नसके पनि व्यवसायलाई त निरन्तरता दिएका थिए। यसको अर्थ नेपालीको खर्च गर्न सक्ने क्षमता बढेको छ। यी दुईवटा कारणले नेपालमा हेलिकप्टर लोकप्रिय भएको हो।
त्यही भएर हिमाली भेगका लागि र हिमालका लागि हेलिकप्टर अनिवार्य यातायातको साधन भएको छ। जहाजहरूले पनि काम त गरेका छन् तर त्योभन्दा पनि बढी चाहिँ हेलिकप्टरले काम गरेको छ। प्राय सबै हेलिकप्टर पहाडी तथा हिमाली क्षेत्रमा नै उडान गरिरहेका छन्। हिमालबिना हेलिकप्टर सर्भाइभ हुन नसक्ने र हेलिकप्टर बिना हिमालको पनि विकास हुन नसक्ने भएको छ।
हिमाली तथा पहाडी भेगको विकासका लागि हेलिकप्टर नै चाहिएको छ। पछिल्लो समय स्टल उडान कम हुँदै जानाले पनि हेलिकप्टरको माग बढेको छ। यो अबको दिनमा झन बढ्ने अवस्था छ। हेलिकप्टरसँग हिमाली तथा पहाडी क्षेत्रको विकास र पर्वतीय पर्यटन प्रवर्द्धनका लागि राज्यको तवरबाट केही गर्नु पर्ने छ। यसका लागि सबैभन्दा पहिले त सहज र एकरुपता हुने नीतिको आवश्यकता छ। तर हिजोका दिनमा भन्दा त राम्रो भएको छ। यसलाई थप सुधार गर्दै जाने हो।
अहिले विस्तारै समयसापेक्षिक नीतिगत सुधार गरिरहेको छ। जस्तै हिजोको दिनमा जब दुर्घटना हुन्थ्यो तबमात्रै सुधारको कुरा राज्यबाट भएको थियो। अहिले त पहिले नै जोखिमको निर्क्यौल गरी काम गर्न परिपाटी पनि विकास भएको छ। अहिले नेपाल नागरिक उड्डयनमा योग्य कर्मचारी राखेर सुरक्षालगातयको विषयमा पनि काम गर्ने परिपाटी विकास भइरहेको छ।
प्राधिरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ लगायतका संस्थाहरूसँग सहकार्य गरेर सुरक्षा लगातयको विषयमा काम गरिरहेको छ। सेफ्टीलाई पहिलो प्राथमिकतामा राखेर अहिले प्राधिकरणले काम गरिरहेको छ। यसले पनि हेलिकप्टरको विकासमा सहयोग पुगेको छ। प्राधिकरणले हेलिकप्टर व्यवसायलाई हेरेर सुविधासम्पन्न हेलिप्याड निर्माणको काम पनि गरिरहेको छ।
जसरी पछिल्लो समय हेलिकप्टर व्यवसायीलाई फेक रेस्क्यूमा जोडिएको छ। हेलिकप्टर व्यवसायबाट फेक रेस्क्यू भएको जस्तो मलाई लाग्दैन। काहिँकतैबाट भएको अवस्थामा राज्यले गलत गर्नेलाई कारबाही गर्नु पर्छ। गल्ती गर्नेलाई कारबाही गर्दा अरुलाई पनि सचेत हुने अवसर मिल्छ र नेपालमा आउने पर्यटकहरूलाई पनि नेपालमा गल्ती गर्नेलाई सरकारले कारबाही गर्छ भन्ने सन्देश जाँदा राम्रो नै हुन्छ।
पर्यटन व्यवसायसँग जोडिएका कसैले पनि एकै पटकमा ठूलो लाभ लिन्छु भनेर हाम्रो प्रोडक्ट नै बदनाम गर्नतिर लाग्नु हुँदैन। प्रोडक्ट जति सुरक्षित छ भनेर विश्वभरी चिनाउन सकिन्छ त्यसबाट नै दीर्घकालसम्म फाइदा लिन सकिन्छ।
(शेर्पा हेलि एभरेस्ट प्रालिका प्रबन्ध निर्देशक हुन। उनीसँग उत्तम काप्रीले गरेको कुराकानी)